बढ्दो विश्वव्यापी तापक्रमका कारण नेपालका हिमालमा हिमपहिरोको शृंखला तीव्र बनेको छ । विज्ञहरू तथा पर्वतारोहणसँग सम्बन्धित व्यक्तिका अनुसार कुनै समय वर्षौंसम्म स्थिर रहने हिमचुली अहिले छिट्टै पग्लेर खस्न थालेका छन् । आरोही, आरोहण दलमा सहभागी शेर्पा तथा पर्वतारोहणसँग सम्बन्धित व्यक्तिले हिमालको बदलाव नजिकबाट महसुस गरेका छन् । उनीहरूले हिमाल पहिलेजस्तो शान्त नरहेको महसुस गर्न थालेका छन् ।
तीनपटक सगरमाथा आरोहण गरिसकेका लाक्पा तेम्बा शेर्पा पाँच महिनाअघि छोरा छिरिङ पासाङ शेर्पालाई लिन सगरमाथा आधार शिविर पुगेका थिए । उनका छोरा सगरमाथा आरोहण गरेर फर्कंदै थिए । त्यहाँ पुग्दा लाक्पाले विगतमा भन्दा निकै फरक अनुभव गरे । त्यहाँ मानिसको बाक्लो भिड थियो । आधार शिविरमै पाँचतारे होटेलसरहका सुविधा उपलब्ध भइसकेका थिए । दुई दशकअघि उनले देखेको सानो खोल्सा अहिले खोलामा परिणत भएको थियो ।
‘मैले सन् २००१ मा सगरमाथा आरोहण गर्दा सानो स्टोभमा पकाएर खाएको थिएँ । बस्न र सुत्नका लागि साधारण पाल प्रयोग गरिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यो अवस्थामा धेरै परिवर्तन भइसकेछ । पालभित्रै शौचालय, हिटर, डाइनिङ, कृत्रिम घाँस, त्यसमाथि गलैँचा र सोफाजस्ता भौतिक सामग्री उपलब्ध थिए । बिजुलीका लागि ठुल्ठुला जेनेरेटर पनि चलिरहेका थिए । हिमालमा मान्छे र मेसिनको होहल्ला निकै चर्को सुनिन्थ्यो ।’
लाक्पा त्यहाँको दृश्य देखेर अचम्मित त भए नै, त्योभन्दा धेरै सगरमाथामा भइरहेका गतिविधिले चिन्तित बने । उनको समयमा आधार शिविरमा ५० देखि एक सयजना हुन्थे । अहिले त्यो संख्या बढेर १५ सयसम्म पुग्ने गरेको छ । मानिसको चापसँगै हिउँ पग्लिने गतिविधि बढेको उनले देखे । ‘सिजनमा आधार शिविरमा मानिसको संख्या ह्वात्तै बढ्न थालेको छ । यसले सरकारको रोयल्टी बढाउला, केही मानिसले रोजगारी पनि पाउला, तर यसले जोखिम निकै बढाएको छ । हिउँ घटेर हिमाल ढुंगामा परिणत हुन थालेका छन्,’ उनले चिन्तित हुँदै भने ।
नौपटक सगरमाथा आरोहण गरिसकेका सानु शेर्पाले यो सिजनमा धौलागिरि आरोहण गरे । जति–जतिपटक हिमाल चढ्दै गए, त्यति नै उनलाई हिउँ कम हुँदै गएको अनुभव हुन्छ । दुई दशकअघि उनले देखेको हिमाल र अहिलेको हिमालमा निकै फेरबदल आइसकेको उनले देखेका छन् । सुरुवाती दिनमा टम्म सेतो देखिने हिमालले अहिले सेतोपन गुमाउँदै गएका छन् । ‘पहिले सगरमाथा चढ्दा हामी आकाश हेरेर निर्णय गथ्र्यौँ,’ उनी सम्झन्छन्, ‘अहिले प्रविधिको विकाससँगै धेरै सुविधा थपिएका छन् । स्याटलाइट फोन छ, मौसमबारे अग्रिम जानकारी दिने प्रणाली छ । यसले गर्दा सगरमाथा पुग्न सहज त भएको छ, तर जोखिम भने उत्तिकै थपिएको छ ।’
सानुका अनुसार हिमाल चढ्ने मानिसको संख्या र मानवीय गतिविधि बढेसँगै देशका साथै पर्वतारोहण क्षेत्रमा लाग्नेहरूको आर्थिक अवस्थामा सुधार आयो । तर, हिमालमा दुर्घटना पनि बढ्न थालेका छन्, जसले गर्दा हिमालमा निर्भर शेर्पाहरूको पेसा थप जोखिमपूर्ण बन्दै गएको छ । ‘हामी शेर्पाहरू धेरै हिसाबले जोखिममा पर्न थालेका छौँ । एकातिर हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायको थातथलो नै खतरामा छ भने अर्कातिर हाम्रो पेसा पनि झनै जोखिमपूर्ण बन्दै गएको अनुभव हुन्छ,’ सानुले भने ।
नौपटक सगरमाथा आरोहण गरिसकेका र २२ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको चुचुरोमा पुगेका चतुर तामाङले दुई सयपटक रसियाको माउन्ट एल्ब्रस आरोहण गरिसकेका छन् । तीन दशकदेखि आरोहण क्षेत्रमा सक्रिय उनले पनि हिमालमा हिउँ घट्दै गएको प्रस्ट देख्न थालेका छन् । पहिले सेताम्मे देखिने हिमाल काला चट्टानमा रूपान्तरण भइरहेका छन्, जुन विषय उनको साथी सर्कलमा समेत चर्चा हुन्छ । पछिल्लो समय हिमपहिरो जाने क्रम बढेकाले हिमालमा जोखिम थपिएको उनलाई पनि लागेको छ । ‘हिमाल कहिल्यै सुरक्षित हुँदैन, तर पछिल्ला दुर्घटनाले झन् डर पैदा गराएको छ,’ उनले भने ।
पथप्रदर्शकका रूपमा काम गर्दै आएका चतुरलाई हिमपहिरोका घटनाले कहिलेकाहीँ निराश बनाउँछ । पाकिस्तानको कराकोरम हिमशृंखलामा अवस्थित ब्रोड पिकमा गत साउन १४ गते मध्याह्नतिर गएको भीषण हिमपहिरोमा परी दशजनाको मृत्यु भयो । सोही हिमपहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दशजना उम्दा व्यक्तिले ज्यान गुमाए । यस्ता घटना बढेपछि उनी हिमालतिर जाँदा थप होसियार हुन थालेका छन् । आगामी दिन अझै जोखिमपूर्ण हुने भन्दै उनी सबैलाई जलवायु परिवर्तनको क्षेत्रमा मिलेर काम गर्न आग्रह गर्छन् । ‘हाम्रो पेसा दिनदिनै जोखिमपूर्ण बन्दै गएको छ । त्यसैले, बढ्दो तापक्रम नियन्त्रण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबैले हातेमालो गरौँ,’ उनले भने ।
सगरमाथा आरोही शर्मिला स्याङ्तानले सन् २००९ मा रसुवाको सूर्य पिकबाट आरोहण यात्रा सुरु गरेकी थिइन् । त्यसपछि उनले मनास्लु, अन्नपूर्ण र लोत्सेजस्ता हिमाल आरोहण गरिसकेकी छिन् । तर, पछिल्ला वर्षमा हिमालमा हुने दुर्घटनाका कारण उनले धेरै साथी गुमाउनुपरेको छ । यसले उनलाई चिन्ता थपेको छ । ‘मिडियामा भनिएजस्तै हिमाल कालो भएको मात्र छैन, पछिल्लो समय दुर्घटना र हिमपहिरोका कारण मानिसको मृत्यु हुने दर पनि बढ्दै गएको छ । पछिल्लो चार वर्षमै मेरा करिब २० जना साथीले हिमालमै ज्यान गुमाए । कति उतै हराइरहेका छन् । पहिला दुर्घटना हुँदा एक–दुईजना मात्र पर्थे,’ उनी भन्छिन्, ‘यस्ता घटनाले पर्वतारोहण क्षेत्रमा काम गर्नेहरूका लागि जोखिम निकै बढाएको छ ।’
यो समस्या समाधानका लागि कुनै एक संस्था वा व्यक्तिले मात्र नभई विश्वव्यापी रूपमै पहल हुनुपर्ने शर्मिलाको तर्क छ । ‘हिमालमा काम गर्नेहरूले दैनिक ठुलो जोखिम सामना गरिरहेका छन्, मानिस दिनप्रतिदिन हराइरहेका छन्, यो एकदमै चिन्ताको विषय हो । यो विषयमा नेपालले मात्रै प्रयास गरेर केही हुँदैन । यो विश्वव्यापी समस्या भएकाले सबैले मिलेर काम गर्नुपर्छ,’ उनी भन्छिन् ।
तीनपटक सगरमाथा आरोहण गरिसकेका साजन घले अहिले मनास्लु जाँदै छन् । मान्यता प्राप्त पथप्रदर्शकको पहिचान बनाएका उनले सन् २०१९ देखि पर्वतारोहरण क्षेत्रमा काम गरिरहेका छन् । उनले पनि हिमालमा धेरै परिवर्तन देखेका छन् । हिमालको हिउँ घटेको, मानवीय क्रियाकलाप बढेसँगै पहिरो गएका धेरै घटना उनले देखेका छन् । तर ती कुराले आफ्नो काममा खास असर नपरेको उनी बताउँछन् । ‘विश्वव्यापी रूपमै तापक्रम बढेका कारण यस्ता समस्या देखिरहेका छन्,’ उनी भन्छन्, ‘हिमपहिरोकै कारण जोखिम त बढेको छ । जोखिम बढे पनि प्रविधिको विकासले हिमाल पहिलेभन्दा सुरक्षित छ जस्तो लाग्छ ।’
पाँच वर्षमा दुई दर्जन हिमपहिरो
२०८२ कात्तिक १७ गते दोलखाको रोल्वालिङ हिमशृंखलाअन्तर्गतको यलुङ री हिमालमा हिमपहिरो गयो । सो हिमपहिरोमा १५ जना नेपाली र विदेशी पर्यटक परे । हिमपहिरोमा परेका आरोहीमध्ये दुई नेपालीको कात्तिकमै शव फेला प¥यो । कात्तिकदेखि हराएका एक इटालियन–क्यानडेली र एक जर्मन नागरिकसहित दुई नेपाली पर्वतारोहीको भने गत साउनमा मात्र शव भेटियो ।
०८१ साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ मा हिमताल फुट्यो । ताल फुटेर बाढी आउँदा तटीय क्षेत्रमा रहेको थामेमा व्यापक क्षति पुर्याएको थियो । थामेखोलाको भेलबाढीले २० भन्दा बढी घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको थियो । ०८१ चैत २४ गते म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुईजना बेपत्ता भए । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा दुईजना बेपत्ता भएका थिए ।
०७९ असोज १७ गते उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको थियो । हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दाबा छिरिङ शेर्पाको मृत्यु भएको थियो । सोही महिना मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो जाँदा थप दुईजनाको मृत्यु भयो भने १२ जना घाइते भएका थिए । हिमपहिरोमा परी संखुवासभाका अनुप राई र अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।
०७८ कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालमा हिमपहिरो गयो । थासाङ गाउँपालिका–२ मा पर्ने खोलामाथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट खोलालगायतमा बसोवास गर्ने स्थानीयको भागदौड भएको थियो । हिमपहिरोका कारण नाउरिकोटमा रहेको श्री आदर्श माविका शिक्षक र विद्यार्थी गरी नौजना घाइते भएका थिए ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणको ‘नेपाल विपत् जोखिम न्यूनीकरण पोर्टल’मा अद्यावधिक भएको तथ्यांकअनुसार ०७७ पुसदेखि ०८३ भदौसम्मको तथ्यांक हेर्दा अहिलेसम्म २८ हिमपहिरोका घटना भएका छन् । जसमा २८ जनाको मृत्यु भएको छ । ४२ घाइते भएका छन् । ७५ परिवार प्रभावित भएका छन् ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले झन्डै दुई दर्जनजति प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ । ऐनको ‘प्राकृतिक विपत्’को परिभाषामा ‘प्राकृतिक विपत् भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल फुट्नु, अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्यांक, भूकम्प, ज्वालामुखी विस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपत्बाट उत्पन्न जुनसुकै विपत् सम्झनुपर्छ,’ उल्लेख छ ।
नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्रबहादुर लामा पनि पछिल्लो समय हिमपहिरोका घटना बढ्नुलाई गम्भीर रूपमा लिन्छन् । ‘जलवायु परिवर्तनका कारण हिमपहिरोका घटना बढेका छन् । यसले पर्वतारोहण क्षेत्रलाई मात्र नभई समग्र हिमाली समुदायलाई नै ठुलो असर पुर्याएको छ,’ उनी भन्छन्, ‘हामीले त जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सहरका पाँचतारे होटेलमा नभई प्रभावित क्षेत्रमै गएर गरिनुपर्छ भनेर आवाज उठाउँदै आएका छौँ ।’ उनका अनुसार बजेटको अभावका कारण संघले पर्वतारोहणमा जानेलाई तालिमका क्रममा सचेत गराउनेबाहेक अन्य ठुला कार्यक्रम गर्न सकेको छैन ।
छैन नियमित निगरानी
जर्नल अफ टुरिजम एन्ड हिमालय एड्भेन्चरमा प्रकाशित एक प्रतिवेदनअनुसार सन् १९२२ देखि २०२० सम्मको एक सय वर्षलाई हेर्दा नेपालमा ६० हिमपहिरो गएका थिए । ती हिमपहिरोमा परि तीन सय ७२ जनाको ज्यान गयो ।प्रतिवेदनअनुसार सबैभन्दा धेरै हिमपहिरो खुम्बु क्षेत्रमा गएको छ । सो अध्ययन त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. सुदीप ठकुरीसहित सोही विभागमै कार्यरत राजु चौहान र प्रेसिका बास्कोटाले गरेका थिए ।
यो अध्ययनबाहेक हिमपहिरोको कारण, न्यूनीकरणको विषयमा पर्याप्त अध्ययन, अनुसन्धान हुन सकेको छैन । हिमपहिरोको नियमित निगरानी छैन । सहप्राध्यापक ठकुरीका अनुसार हिमपहिरोको निश्चित कारण यही हो भन्ने नभए पनि पछिल्लो समय विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तन नै हो । ‘कतिपय हिमपहिरो प्राकृतिक नै पनि हुन्छ । तर, पछिल्लो समय अन्य क्षेत्रको तुलनामा हिमाली भागमा तापक्रम बढ्दै गएको छ । जसले हिउँ पग्लिन सहयोग गर्ने, अतिवृष्टि, अनावृष्टिजस्ता समस्या देखिएका छन् । यही कारण हिमपहिरो जान सक्छ,’ उनले भने । रिपोर्टअनुसार सन् १९७६ देखि २०१५ सम्म अधिकतम हावाको तापक्रम प्रतिवर्ष ०.०४५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम प्रतिवर्ष ०.००९ डिग्री सेल्सियले वृद्धि भएको छ ।
जलवायु परिवर्तनले पहाडी तथा हिमाली भिरालो जमिनमा हिमपहिरो, चट्टान खस्ने घटना र पहिरोको संख्या तथा तीव्रता बढाउन सक्छ । ‘स्रोतसाधनको सीमितता र कठिन भूगोलका कारण नेपालका उच्च हिमाली क्षेत्रमा हुने हिमपहिरोसम्बन्धी जानकारी उपलब्ध छैन । यद्यपि, बढ्दो जनसंख्या, पूर्वाधार विकास, विभिन्न सेवासुविधाको विस्तार र मानवीय गतिविधिका कारण धेरै हिमाली क्षेत्रमा यस्ता घटनाबाट हुने जोखिम बढ्दै गएको छ,’ रिपोर्टमा उल्लेख छ ।
सहप्राध्यापक ठकुरीका अनुसार हिमपहिरोबाट हुने क्षति कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । तर, नेपालमा हिमपहिरो रेकर्ड गर्ने प्रणालीसमेत छैन । ‘सबैभन्दा पहिला त हिमपहिरोको जोखिम भएका क्षेत्रबारे अध्ययन, अुनसन्धान हुनुपर्यो । जोखिमयुक्त क्षेत्रमा मानवीय गतिविधि कम गर्नुपर्यो,’ उनी भन्छन्, ‘त्यसपछि जोखिमयुक्त क्षेत्र पहिचान गरेर भूउपयोग योजना बनाउनुपर्यो । भएका नीतिलाई व्यवहारमा लागू गर्नुपर्यो । पूर्वसूचना प्रणालीको विकास गरेर पनि यसबाट हुने जोखिम कम गर्न सकिन्छ ।’ हिमपहिरो रेकर्ड प्रणाली बनाउन सके हिमालमा पुग्ने पर्वतारोही जोखिमबाट बच्न सक्ने उनको भनाइ छ ।
हिमाल टाढाबाट हेर्दा अझै उस्तै सुन्दर देखिन्छन् । सेतो, शान्त र अटल । तर, ती हिमालभित्रको संसार भने बदलिइरहेको छ । तापक्रममा आएको परिवर्तन, हिमपातको बदलिँदो स्वरूप, हिमनदीको अस्थिरता र कमजोर हुँदै गएको हिउँको तहले उच्च हिमाली क्षेत्रमा हिमपहिरोको जोखिमलाई थप जटिल बनाइरहेका छन् । तर, हरेक हिमपहिरोलाई जलवायु परिवर्तनको परिणाम भनेर बुझ्नु नहुने विज्ञको भनाइ छ ।
हिमपहिरो प्राकृतिक प्रक्रियासँगै मौसम, भूबनोट, हिउँको अवस्था र मानवीय गतिविधिसँग जोडिएको बहुआयामिक जोखिम हो । त्यसैले जोखिम बुझ्न घटनाको अभिलेख राख्ने, हिमाली क्षेत्रमा नियमित वैज्ञानिक अनुगमन गर्ने र समयमै सूचना दिने प्रणालीलाई बलियो बनाउनु उत्तिकै आवश्यक छ ।आज हिमालमा खस्ने हिउँ केही सेकेन्डको घटना हुन सक्छ । तर, त्यसले पु¥याउने क्षति वर्षौंसम्म रहन सक्छ । त्यसैले, प्रश्न अब हिमपहिरो रोक्न सकिन्छ कि सकिँदैन ? भन्ने मात्र होइन, हिमपहिरोको जोखिम बढ्दै जाँदा नेपालले आफ्ना मानिस, आरोही र हिमाली बस्तीलाई कति तयार बनाउन सक्छ भन्ने हो ।
गत बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले भने, ‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपत् आइलाग्यो । हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले, यो विपत्मा हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ । यो विश्वको साझा जिम्मेवारी हो ।’ प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमै विश्वको साझा जिम्मेवारी भन्दै गर्दा यसमा नेपाल कसरी अघि बढ्छ, त्यो भने आगामी दिनले नै देखाउनेछ । तर, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ठकुरी प्रधानमन्त्रीको यो भनाइ जलवायु न्यायसँग सम्बन्धित भएको बताउँछन् । ‘नेपालजस्तो विकाशील देशले जलवायु परिवर्तनका लागि योगदान नगरे पनि प्राकृतिक विपत् भने भोग्नुपरेको छ । त्यसैले, प्रधानमन्त्रीज्यूको धारणा जलवायु न्यायसँग जोडिएको छ,’ उनले भने ।