बाजुराको सबैभन्दा अग्लो चुचुरामा छ बुढीनन्दा ताल । यो तालको दृश्य निकै मनमोहक देखिन्छ । यो ताल सुदूर र कर्णालीको एक ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको प्रसिद्ध तीर्थस्थल तथा धार्मिक क्षेत्र हो । सुदूर र कर्णाली क्षेत्रमा बुढीनन्दा देवीलाई सत्यदेवीका रूपमा मानिन्छन् । हरियो आकाशे रंगको ठुलो तालको बिचमा बुढीनन्दा मन्दिर छ । यो मन्दिर बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको ३ नम्बर वडामा छ । यो ताल समुद्री सतहबाट चार हजार आठ सय ८८ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ३५० र चौडाइ १८० मिटर छ । यसको पूर्वमा अपी सैपालको बेस क्याप रानिसैन पर्छ । पश्चिममा अपी सैपालकै हिमालको दक्षिणी हिमशृंखला पर्छ । उत्तरमा फुलैगुम्बा, सैनपाटन र दक्षिणमा बडिमालिका र तलिगोठी कैलाश पर्छ ।
यस मन्दिरको वरिपरि दैवीय न्यायालयको प्रतीकका रूपमा तलिगोठी कैलाश देवता र नुरी कैलाश, खापर जगन्नाथ, चन्दननाथ, स्वामीकार्तिक, पादुका, कर्णाली नदी, रारा ताल आदि छन् । बुढीनन्दा बढीगाड खोलाको मुहानमा पर्छ । यो क्षेत्रले कोल्टीको सिमकुरु हुँदै मागी लेकको सम्पूर्ण भागलाई आफ्नो वरिपरि राखेको छ । यस क्षेत्रबाट बग्ने बढीगाड खोला कर्णाली नदीमा मिसिन्छ । बुढीनन्दावरपर तेजार ताल, लंकारी ताल, कैलाश ताल, महारुद्ध ताल, मस्ट ताल, धलपुरी ताल, पीपल ताल, चरी दह ताल र धौलीझरना ताल रहेका छन् ।
बुढीनन्दामा हरेक वर्ष पर्यटक तथा श्रद्धालु भक्तजन साउन वा भदौमा पर्ने शुक्ल चतुर्दशीका दिन पुगी पूजाअर्चना गर्ने गर्छन् । बुढीनन्दा माता मन्दिरका पुजारी रामबहादुर बोहरा भन्छन्, ‘मन्दिरमा वर्षको एकपटक मात्र पूजा र मेला लाग्ने चलन छ । एकादशीदेखि चतुर्दशीसम्म मेला लाग्छ । करिब १० हजारदेखि २० हजार पर्यटक र दर्शनार्थी आउँछन् ।’
किंवदन्तीमा बुढीनन्दा
किंवदन्तीअनुसार कुन्ना क्षेत्रमा पर्ने मोटेढुंगा भन्ने स्थानमा सिउराजी देउराजी बोहराका सन्तान दान्या बम र पल्लाम्या बमलाई सिँजापति महाराज नरिभान बमले झालगडा गडखेत क्षेत्रदेखिमाथि मोटेढुंगाभित्रको जग्गा बिर्ता दिएछन् । बम दाजुभाइले त्यहाँ बस्ती बसाले । तिनीहरू सिकार खेल्न निकै सिपालु थिए । सिकारका लागि धनुर्वाणको प्रयोग गरे । विषयुक्त बनाउन वाणका टुप्पामा विष राख्थे । एकदिन बुढीनन्दा माता घरको आँगनमा कस्तुरी मृगको रूप धारण गरी आइन् । मृगलाई दाजुभाइले देखे । समाउन खोज्दा मृग भाग्यो । अढाइ दिनको बाटोसम्म दाजुभाइले लखेट्दै गए ।
दाजुभाइ उतै वास बसे । दोस्रो दिन मृग भागेर चौँरीलेकतर्फ लाग्यो । मृग चौँरीलेक, चुनढुस्का मुसेपानी, लादे, खस्यादी पुग्यो । दोस्रो दिन पनि साँझ पर्यो । दाजुभाइ एउटा ओडारमा गई वास बसे । बिहान उठ्दा फेरि मृग आँखाअगाडि उफ्रीउफ्री नाचिरहेको देखे । घर फर्कन लागेका दाजुभाइले फेरि मृग देखेपछि मार्ने योजनासहित वाण हान्न लाग्दा मृग भागेर लौडीविनायकमा पुग्यो । लौडीविनायक पुग्दा मृग भाग्दै गाईगोठतर्फ भाग्यो । सुनरूपी मृग चरीदहमा पस्यो । दाजुभाइ त्यहाँ पुग्दा एउटा सन्न्यासी बाबा प्रकट भए ।
उनले तिमीहरू कहाँ जाँदै छौँ भनी प्रश्न गरे । ती दुवै भाइले आफ्नो यथार्थ सुनाए । त्यसपछि बाबाले त्यो सिकार खेल्ने स्थान नभई बुढीनन्दा देवीको स्थान भएको र देवीको नाम दिएर सिकार खेल्न आग्रह गरे । देवीको नाम लिँदै दाजुभाइ धौलीभँराड पुगे । दाजुभाइ त्यहीँ बसे । निदाएका वेला तिनीहरूले सपना देखे । सपनामा देवी प्रकट भएर भनिन्, ‘तिमीले लखेट्दै आएको मृग मेरो रूप हो । म बुढीनन्दा देवी हुँ । बिहान भएपछि म तिमीहरूलाई मेरो सक्कली रूप देखाउनेछु । मैले भनेको स्थानमा मलाई स्थापना गरी राखेमा तिमीहरूको भलो हुनेछ । अब तिमीहरू मेरा माइती हो, मेरो पूजा गर्नु तिम्रो कल्याण हुनेछ ।’
बिहान उज्यालो हुनासाथ मृग सामुन्ने देखियो । दुवै भाइले त्यो मृगलाई भक्तिभावका साथ प्रार्थना गर्न थाले । त्यसपछि देवी, सुनालिस्ना, रूपालिस्ना, फुलवाडी, भेरालदह, लंकारीदह, धलपुरीदह हुँदै निजार ताल बुढीनन्दा मन्दिरमा गए, जहाँ ढँटेलाको बोट, दुधकुण्ड, होमकुण्ड तथा अन्य पूजा सामग्री देखिए । देवीलाई हृदयमा राखेर त्यहाँ उत्पत्ति भएका पूजा सामग्री लिएर निजार भन्ने स्थानमा पुगे । जहाँ चतुर्भुज नन्दादेवी प्रकट भइन् । त्यही स्थानमा देवीबाट आकाशवाणी भयो, ‘यही स्थानमा मेरो प्रतिमा राखेर पूजा गर्नू ।’ यति भनेर देवी अन्तरध्यान भइन् । सोही दिनबाट बुढीनन्दामा मन्दिर स्थापना गरेर पूजाअर्चना गरिँदै आएको जनविश्वास छ ।
बुढीनन्दा पुग्ने बाटो
बाजुराको सदरमुकाम मार्तडीबाट पाण्डुसैन हुँदै बुढीनन्दा पुग्न सकिन्छ । नेपालगन्जबाट कोल्टीसम्म हवाई सुविधा भएकाले सोझै कोल्टी गएर पनि बुढीनन्दाको यात्रा गर्न सकिन्छ । कोल्टी तलिगोठीनजिक मालिका हुँदै मोटे ढुंगा पुग्न सकिन्छ । त्यहाँबाट चौकीलेक हुँदै पनि जान सकिन्छ । नुरी काँधबाट र सिमकुरु, छाप्रे, धनभण्डार हुँदै पनि बुढीनन्दा देवीस्थानमा पुग्न सकिन्छ । सुर्खेतबाट आउँदा कोल्टी, मोटेढुंगा हुँदै पनि बुढीनन्दा मन्दिरमा पुग्न सकिन्छ ।