दृष्टान्त विडारी
नेपालले अहिले आफ्नो अथक संरक्षण प्रयास र विश्वव्यापी सहयोगको दममा पाटेबाघको संख्या ४२९ पुर्याएको छ । यसो त १९५० को दशकमा नेपालको तराई भूभागबाट मलेरिया उन्मूलन भएसँगै यस क्षेत्रमा मान्छेको चाप पनि बढेको हो । तराईको प्राचीन जंगलमा त्यसअघि खुला रूपमा हिँडिरहेका जनावरहरू मान्छेको बढ्दो दबाबका कारण संकुचित हुनुपरेको देखिन्छ । वनविनाश, कृषि जमिनको बढ्दो माग र चोरी–सिकारीजस्ता कारणले १९७० को दशकमा नेपालमा बाघको संख्या करिब ५० मा झरेको मानिन्छ भने सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा यो संख्या बढेर ३५५ पुगेको थियो । बाघको संख्या बढेसँगसँगै मान्छे र बाघबिचको द्वन्द्व पनि बढेको छ । यसो त हाम्रा तराईका बासिन्दासँग जंगली जनावरको द्वन्द्व परापूर्वकालदेखि नै चल्दै आएको हो, तर पहिलाको तुलनामा अहिले बाघले मान्छे र मान्छेले पालेका घरपालुवा जनावरमा आक्रमण गर्ने घटना निकै धेरै बाहिर आएका छन् ।
नेपालमा बाघ धेरैजसो पाँचवटा राष्ट्रिय निकुञ्ज र त्यसको वरिपरिका जंगलमा पाइन्छ । जुलाई २९ अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर नेपालले बाघको नयाँ अभिलेख प्रकाशन गरेको थियो । यस अभिलेखअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, बाँके राष्ट्रिय निकुञ्जमा ५१, पर्सामा ७१ र शुक्लाफाँटामा ५० वटा पाटेबाघ रहेको अनुमान गरिएको छ । अरू स्तनधारी जनावरको अध्ययन गर्ने क्रममा डडेल्धुरा र इलामजस्ता पहाडी जिल्लामा पनि पाटेबाघको अभिलेख भएको छ । जमिन परित्याग र बाँझो छाडेर देशका विभिन्न सहरमा बसाइँ सर्ने र विदेश जाने लर्को लागेको हुँदा कुनै समयको खेतीबारी अहिले झाडीमा परिणत भएको छ । कुनै वेला मान्छेको घाँस–दाउरा र गाईवस्तु चरिचरण गर्ने जंगल अहिले झनै घना भएको छ । यस कारणले अहिले पहाडी क्षेत्रमा बाँदर, दुम्सी, मृग, बँदेल र चितुवाजस्ता जनावर मानव बस्तीमा बढी देखिन थालेका छन् । पाटेबाघ पहाडमा देखिन थाल्नु एउटा प्रमुख कारणको रूपमा जंगल बढ्नु पनि हो भन्न सकिन्छ ।
बँदेल, बाँदरजस्ता जनावरले कृषकलाई हानि गर्ने हुँदा केही विशेष प्रावधानअन्तर्गत यिनीहरूलाई धपाउने र सो क्रममा मृत्यु हुन गए कुनै पनि किसिमको सजाय नहुने नियम सरकारले ल्याएको छ । बाघसँगको द्वन्द्व न्यूनीकरण गर्न पनि सोही प्रावधान ल्याउनुपर्ने माग नेपाली जनताले गरिरहेका छन् भने संसद् भवनमा समेत यही माग गुञ्जिने गरेको सुनिन्छ । के बाघ मार्नु सम्भव छ त ? यदि छ भने के अहिले यो समय आइसकेको छ ? यस प्रश्नको उत्तरका लागि अन्तर्राष्ट्रिय कानुन, सन्धि र अरू देशमा गरिने अभ्यासलाई हेर्न जरुरी देखिन्छ ।
किन पाइँदैन बाघ मार्न ?
हाल संसारमा बाघका ६ वटा उपप्रजाति जीवित अवस्थामा छन् । ती सबै उपप्रजातिलाई संख्या र वासस्थानका आधारमा खतरा तथा लोपोन्मुखको सूचीमा राखिएको छ । इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर(आइयुसिएन) ले संसारभरिका जनावर, चरा आदिको अध्ययन र यिनीहरूको संख्या, वासस्थानको अवस्था र खतराका आधारमा रातो सूची तयार पार्ने गर्छ । हाम्रो नेपालमा पाइने पाटेबाघ पनि संसारमा करिब दुई हजार ५०० वटा मात्र भएको हुनाले संकटापन्न अवस्थामा राखिएको छ । यस्ता जनावरलाई मार्ने वा ओसारपसार गर्ने कार्य गरेमा अन्तर्राष्ट्रिय रूपमै निकै ठुलो कानुन लाग्न सक्छ । नेपालमा पनि पाटेबाघ संरक्षित जनावर हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा १० को अनुसूची–१ अन्तर्गत संरक्षित वन्यजन्तुको सिकार निषेध गरिएको छ । सबैभन्दा महŒवपूर्ण दफा २६(१) हो, जसमा कसैले गैरकानुनी रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, किन्ने, बेच्ने वा ओसारपसार गर्ने कसुर गरेमा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
सन् १९७३ को मार्च ३ मा वासिंटन डिसीमा आइयुसिएनद्वारा संसारभरिका राष्ट्रमा वन्यजन्तु र बोटबिरुवाको चोरी–सिकारी तथा तस्करी न्यूनीकरण र नियमन गर्नका लागि एउटा सन्धि गरिएको थियो । सो सन्धिमा नेपालले पनि सन् १९७५ मा हस्ताक्षर गरेको थियो । हालसम्म १८३ देश र युरोपियन युनियनसम्म यो संस्थामा आबद्ध भइसकेका छन् । यो सन्धिले कुनै पनि नियम कानुनलाई रूपान्तरण नगरी ४० हजारभन्दा बढी जीवजन्तु र बोटबिरुवालाई तीनवटा समूहमा विभाजन गरेको छ । एपेन्डिक्स १ अन्तर्गत अत्यधिक खतरामा रहेका प्रजातिलाई राखिएको छ र यी प्रजातिको किनबेचमा रोकसमेत लगाइएको छ । केही विशेष परिस्थितिमा मात्रै यी प्रजातिलाई एउटा देशबाट अर्को देश लैजान पाइन्छ । पाटेबाघ यहीअन्तर्गत पर्छ । पाटेबाघको सिकार गर्नु भनेको अन्तर्राष्ट्रिय सन्धिको विपरीत जानु हो । एपेन्डिक्स २ मा रहेका प्रजातिलाई भने केही परिस्थिति अनुकूल भएमा किनबेच गर्न पाइने प्रावधान छ । एपेन्डिक्स ३ मा भएका जनावरलाई भने केही निश्चित राष्ट्रहरूले किनबेच गर्ने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय रूपमा कालोबजारमा हुने किनबेच रोक्नका लागि यो सन्धि गरिएको हो । अहिलेको अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि परिस्थितिमा बाघको सिकार गर्न पाइने प्रावधान छैन ।
केहीगरी हामीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर बाघ मार्यौँ भने पनि त्यसबाट निस्किने उत्पादनका लागि हामीले बजार पाउन सक्दैनौँ । कालोबजारमा यस्ता वस्तुको धेरै मूल्य भए पनि संसारभरिका देशले यस्ता वस्तुको आयातमा कानुनी रूपमा प्रतिबन्ध लगाएका छन् ।
विश्वमा कानुनी रूपमा व्यापार हुने वन्यजन्तु र आखेटोपहार सबै जंगलबाट संकलन गरिएका हुँदैनन् । कतिपय वन्यजन्तुलाई सरकारी अनुमति र नियमनअन्तर्गत निश्चित फार्म वा प्रजनन केन्द्रमा पालेर प्रजनन गराई तिनबाट प्राप्त वस्तुको कानुनी रूपमा संकलन र व्यापार गरिन्छ । उदाहरणका लागि विलासी वस्तु उत्पादनमा प्रयोग हुने गोही तथा एलिगेटरको छालाको कानुनी व्यापार ठुलो मात्रामा नियमन गरिएका व्यावसायिक फार्म तथा र्यान्चिङ प्रणालीमा आधारित छ । त्यसैगरी, केही देशले जंगली वनस्पति तथा वन्यजन्तु निश्चित परिमाणमा संकलन र व्यापार गर्न अनुमति दिन्छन् । यस्तो अनुमति वैज्ञानिक अध्ययनका आधारमा निर्धारण गरिएको कोटाभित्र मात्र दिइन्छ ।
कस्तो छ संसारमा वन्यजन्तु सिकारको स्थिति ?
यसो त नेपालमा परापूर्वकालदेखि नै सिकार खेल्ने चलन चल्दै आएको हो । सन् १८४६ मा राणाशासनको सुरुवात भएसँगै विदेशी बहुप्रतिष्ठित व्यक्तित्व तथा राजपरिवारलाई सिकारमा आमन्त्रण गर्ने र ठुलो संख्यामा बाघको पनि सिकार गर्ने गरिएको पाइन्छ । त्यसपछिको करिब एक शताब्दीभन्दा बढी समयमा अनगिन्ती बाघ, गैँडा, भालु, चितुवा जस्ता ठूला–साना जनावर माृिम्ज्ञ।ज्ञेृध्ग्ज्ञ।द्देरएका थिए । हालको कुरा गर्ने हो भने नेपालमा ढोरपाटन सिकार आरक्षले बर्सेनि नाउर, झारल, रतुवा मृग र बँदेलजस्ता जनावरको सिकारका लागि कोटा खुलाउने गर्छ ।
संसारका अन्य देशमा पनि कतै मान्छेहरूको खाद्य र परम्परागत आवश्यकता पूरा गर्नका लागि सिकार गरिन्छ । कतै वन्यजन्तुको संख्या व्यवस्थापन गर्न सिकार गरिन्छ । अफ्रिका, उत्तर अमेरिका, युरोप र मध्य–एसियाका केही देशमा निश्चित प्रजातिको ‘ट्रफी हन्टिङ’समेत कानुनी रूपमा सञ्चालन हुँदै आएको छ । ट्रफी हन्टिङमा सिकारीले विशेषतः ठुलो सिङ, टाउको, छाला वा अन्य विशेष शारीरिक विशेषता भएको जनावर मारेर त्यसको कुनै भागलाई ट्रफीका रूपमा राख्ने उद्देश्य राख्छ । यो अनुमति र तोकिएको कानुनी प्रक्रियाभित्र गरिने सिकार भएकाले अवैध चोरी–सिकार अर्थात् ‘पोचिङ’भन्दा फरक हुन्छ । तथ्यांक विश्लेषण गर्दा सन् २००४ देखि २०१४ सम्म विभिन्न देशबिच करिब १७ लाख हन्टिङ ट्रफिज्को व्यापार भएको र तीमध्ये कम्तीमा दुई लाख संकटमा रहेका समूहका प्रजातिसँग सम्बन्धित रहेको अनुमान गरेको थियो ।
वन्यजन्तुको नियन्त्रित सिकारलाई संरक्षणको साधनका रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा भने विश्वभर गम्भीर बहस छ । केही सिद्धान्तअनुसार राम्रोसँग नियमन गरिएको र जैविक रूपमा दिगो वन्यजन्तु उपयोगले केही परिस्थितिमा वन्यजन्तु र तिनको वासस्थान संरक्षणका लागि आर्थिक तथा सामाजिक प्रोत्साहन सिर्जना गर्न सक्छ । तर, त्यसका लागि सिकारले सम्बन्धित प्रजातिको दीर्घकालीन संख्या घटाउन नहुने, पर्याप्त वैज्ञानिक तथ्यका आधारमा कोटा निर्धारण गर्नुपर्ने, निरन्तर अनुगमन हुनुपर्ने, वासस्थान र पारिस्थितिक प्रणालीमा नकारात्मक असर न्यून हुनुपर्ने तथा त्यसबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुग्नुपर्नेजस्ता सर्त आवश्यक मानिन्छन् । कुनै प्रजातिको संख्या मात्र हेरेर सिकार दिगो छ वा छैन भन्न पर्याप्त नहुने र त्यसका लागि प्रजातिको संख्या, प्रजनन दर, मृत्युदर, उमेर तथा लिंग संरचना, सामाजिक संरचना, व्यवहार, आनुवंशिक विविधता, वासस्थान र समग्र पारिस्थितिक प्रणालीको अवस्था बुझ्नुपर्ने हुन्छ । एफएओमा प्रकाशित एउटा अध्ययनले भने सिकार गरिएको र नगरिएको संख्याबिच तुलना गर्ने पर्याप्त दीर्घकालीन अध्ययनको अभाव रहेको र आनुवंशिक तथा सामाजिक प्रभाव अझै पर्याप्त रूपमा अध्ययन नभएको औँल्याएको छ ।
अर्कोतर्फ, विश्वमा वन्यजन्तुको सिकार सधैँ कानुनी अनुमति र वैज्ञानिक व्यवस्थापनभित्र मात्र सीमित छैन । विशेषगरी, कमजोर कानुनी कार्यान्वयन, भ्रष्टाचार र सीमित निगरानी भएका मुलुकमा पैसा र राजनीतिक वा प्रशासनिक पहुँचको दुरुपयोग गरी संरक्षित वन्यजन्तुको अवैध सिकार तथा तिनका अंगको कारोबार हुने गरेको पाइन्छ । आर्थिक रूपमा सम्पन्न व्यक्ति वा संगठित तस्करी सञ्जालले स्थानीय बिचौलिया, सिकारी तथा कतिपय अवस्थामा भ्रष्ट अधिकारीसँगको मिलेमतोमा कानुन छल्ने, अवैध रूपमा मारिएका वन्यजन्तुलाई कानुनी स्रोतबाट आएको देखाउने वा घुस र प्रभावमार्फत अनुसन्धान तथा कारबाही कमजोर बनाउने जोखिम रहन्छ ।
नेपालमा बाघ मार्नुपर्ने अवस्था सिर्जना भएको हो त ?
कुनै पनि ठाउँ वा वासस्थानमा कुनै जीवजन्तु तथा पारिस्थितिक प्रणालीलाई नकारात्मक असर नपर्ने गरी जीवित राख्न सक्ने सबैभन्दा धेरै संख्यालाई वैज्ञानिकले बहन क्षमता भन्ने गर्छन् । बाघकै उदाहरण हेर्ने हो भने कुनै पनि ठाउँमा मान्छेसँग न्यून द्वन्द्व सिर्जना हुने, जंगलको पारिस्थितिक प्रणाली स्वस्थ हुने र सो जंगलले धान्न सक्ने सबैभन्दा धेरै संख्या नै सो ठाउँको बहन क्षमता हो । बाघको पक्षमा भने जंगलको क्षेत्रफल, विभिन्न सिकार प्रजातिको उपस्थिति, सिकार प्रजातिको संख्या र पानीको उपलब्धताले त्यो जंगलको बहन क्षमता निर्धारण गर्छन् ।
सन् २०२३ मा वैज्ञानिकहरूद्वारा गरिएको एक अध्ययनअनुसार चितवन र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रले विभिन्न परिस्थितिमा ११९ देखि २६३ सम्म बाघ धान्न सक्ने आकलन गरिएको छ । सन् २०२४ मा गरिएको अर्को अध्ययनअनुसार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले १०१ देखि १७७ वटा पाटेबाघ र बाँके राष्ट्रिय निकुञ्जले २०–४० वटा पाटेबाघ धान्न सक्ने कुरा तथ्यांकले देखाउँछ । यी अध्ययनलाई हालसालै प्रकाशित बाघ सर्वेक्षणको नतिजासँग मूल्यांकन गर्ने हो भने यसलाई राम्रो व्यवस्थापन हो भन्न सकिन्छ । नेपालका संरक्षित क्षेत्रमा अझै पनि बाघ अटाउन सक्छन् र बाघहरूलाई जंगल छाडेर मानव बस्ती पस्न जरुरी देखिँदैन ।
सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणको तथ्यांकअनुसार पनि बर्दिया राष्ट्रिय निकुञ्जमा प्रति १०० वर्गकिलोमिटरमा सातवटाभन्दा बढी बाघ र बाघको आहार प्रजाति भने ९० जनावर प्रतिवर्गकिलोमिटर भएको अनुमान लगाइएको थियो । त्यससँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जमा प्रति १०० वर्गकिलोमिटरमा एकभन्दा पनि कम बाघ र बाघको आहार प्रजाति भने प्रतिवर्गकिलोमिटर ३३ रहेका अनुमान गरिएको थियो । सोही अध्ययनअनुसार पनि हाम्रा राष्ट्रिय निकुञ्जको स्तर उन्नति गरिने हो भने अझै धेरै बाघ अटाउन सकिन्छ र मान्छेसँगको द्वन्द्व पनि कम गर्न सकिन्छ ।
तर, यस विषयमा कुरा गर्दा ध्यान दिनुपर्ने अर्को कुरा हो, आहार प्रजातिको संख्याले मात्र बाघको संख्या बढाउन र बाघलाई जंगलमै राख्न सक्दैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको २०२२ को बाघ सर्वेक्षणको तथ्यांक हेर्ने हो भने यहाँ बाघको आहार प्रजातिको संख्या १४६ जनावर प्रतिवर्गकिलोमिटर रहेको छ, तर यहाँ बाघ भने प्रति १०० वर्गकिलोमिटरमा दुईभन्दा कम रहेका छन् ।
नेपालको हालको क्षेत्रफलको ४६ प्रतिशतभन्दा बढी जंगल र घाँसेमैदानले ढाकेको छ । त्यसैले, यस्ता वासस्थानको स्तर उन्नति गर्न पनि उत्तिकै महŒवपूर्ण देखिन्छ । बाघको वासस्थान, आहार प्रजाति, मानव हस्तक्षेप, जैविक मार्गहरूको उपलब्धता र अन्य कैयौँ कुरालाई ध्यानमा राखेर संरक्षण गर्ने हो भने बाघ मार्नुपर्ने समस्याको न्यूनीकरण हुनेछ ।
मानव–बाघ द्वन्द्व न्यूनीकरणका उपाय
अब कुरा आउँछ, यदि बाघ मार्न पाइँदैन भने मान्छे र बाघको द्वन्द्व न्यूनीकरणका अरू उपाय के हुन सक्छन् त ? हाल सामाजिक सञ्जाल र जनमानसमा गुञ्जिरहेको कुरा के छ भने ‘मान्छे मारेर बाघ पाल्न सकिँदैन ।’ यो कुरा एकदम सही हो । मान्छे र बाघबिच हुने द्वन्द्वले दुवै पक्षलाई उत्तिकै समस्यामा पार्ने गरेको छ । घाँस–दाउरा गर्न जंगल गएका मान्छेमाथि बाघको आक्रमण र सजिलो सिकारको खोजीमा बस्ती पसेको बाघ मान्छेको पासो वा विषादीयुक्त खानेकुरा खाएर मर्ने प्रवृत्तिले दुवै पक्षलाई असर गरेको छ । यो समस्याको दीर्घकालीन उपाय ननिकाल्ने हो भने यो द्वन्द्व अझै भड्किने देखिन्छ । वर्तमान समयमा मानव–वन्यजन्तु द्वन्द्व हाम्रो देशको मात्र नभएर संसारभरि नै विकराल रूप लिइरहेको समस्या हो ।
संसारभरि वन्यजन्तुलाई मानव बस्ती, खेतीबाली तथा पशुधनबाट टाढा राख्न विद्युतीय वा सौर्य तारबार, बलियो जाली, खाडल, प्रकाश, साइरन, मौरीको घारबाट बनाइने बार तथा अन्य तर्साउने प्रविधि प्रयोग गरिन्छ । पशुधनलाई बाघ, सिंह, चितुवा वा अन्य सिकारी जनावरबाट जोगाउन रातको समयमा सुरक्षित तथा सिकारी–प्रतिरोधी खोरमा राख्ने, गोठ सुधार गर्ने, पशु चराउँदा निगरानी गर्ने तथा कतिपय ठाउँमा रक्षक कुकुर प्रयोग गर्ने अभ्यास पनि छ । नेपालमा पनि यी सबै कुरा धेरै ठाउँमा लागू भएको देखिन्छ । तर, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको सबैभन्दा राम्रो उपाय भनेको जंगलमाथिको परनिर्भरता घटाउनु हो । नेपालमा बाघबाट मान्छेमाथि आक्रमण भएका घटना धेरैजसो जंगलभित्र हुन्छन् । बाघले गोठभित्रै पसेर गाईवस्तुमाथि आक्रमण गरेको घटना पनि निकै कम देखिन्छ ।
मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको लागि अर्को गर्नैपर्ने काम भनेको मानव बस्ती वरिपरि र जंगलको बाहिरी क्षेत्रमा घुम्ने बाघ तथा अन्य वन्यजन्तुको निगरानी गर्नु हो । द्वन्द्व बढी देखिने ठाउँहरूको हटस्पट म्यापिङ गर्ने र त्यहाँ वरिपरि घुम्ने जनावरलाई जिपिएसयुक्त कलर अथवा स्वचालित क्यामेरा जडान गरेर निगरानी गर्ने र त्यस्तो समस्यायुक्त जनावर मानव बस्ती वरिपरि देखिएमा छिटोभन्दा छिटो बस्तीमा खबर पुर्याउन सके पनि द्वन्द्व न्यूनीकरण हुने देखिन्छ ।
यस्ता उपायले पनि समस्या समाधान नभएमा द्वन्द्व गराइरहेको निश्चित जनावर पहिचान गरी त्यसलाई समात्ने, निगरानी गर्ने वा अर्को उपयुक्त स्थानमा स्थानान्तरण गर्नेजस्ता कदम चाल्नुपर्छ । अत्यन्त गम्भीर अवस्थामा, विशेषगरी कुनै निश्चित जनावरले मानिसको जीवनमा लगातार प्रत्यक्ष खतरा उत्पन्न गरिरहेको अवस्थामा, सम्बन्धित देशको कानुन र अधिकार प्राप्त निकायको निर्णयअनुसार अन्तिम विकल्पका रूपमा त्यसलाई हटाउने वा मार्ने व्यवस्था पनि कतिपय देशमा छ ।
पाटेबाघ हाम्रो देशको एक गौरवशाली जनावर हो र हाम्रो देशको मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा पाटेबाघको ठुलो भूमिका छ । संसारभरिबाट बर्सेनि हजारौँ पर्यटक हाम्रो जैविक विविधता र संरक्षण प्रयास हेर्न आउने गर्छन्, जसले गर्दा देशको अर्थतन्त्रमा विदेशी मुद्रा भित्रिन्छ । त्यसैले, देशको दिगो अर्थतन्त्र सुनिश्चित गर्न द्वन्द्व न्यूनीकरणका लागि जनावरलाई सो ठाउँबाट हटाउनेभन्दा पनि सहअस्तित्व कायम गर्ने उपाय अपनाउनुपर्ने समयको माग रहेको छ ।