काठमाडौं उपत्यका आधुनिक घर र सवारीसाधनको भिड मात्र होइन, यो हजारौँ वर्ष पुरानो कला, संस्कृतिको एउटा जीवित संग्रहालय पनि हो । यहाँका साँघुरा गल्ली, प्राचीन बहाःबही, डबली, हिटी, विहारलगायतले इतिहासको कथा भनिरहेका हुन्छन् । यी सबै इतिहास र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने काम उपत्यकाका सम्पदा मार्गहरूले गर्छन् । उपत्यकालाई गाडीको झ्यालबाट होइन, आफ्नै पाइलाहरूले महसुस गर्न चाहनेहरूका लागि सम्पदा मार्गले उत्कृष्ट विकल्प दिएका हुन् ।
हनुमानढोकादेखि असनसम्म
काठमाडौंको मुटु मानिने हनुमानढोका दरबार क्षेत्रबाट सुरु हुने यो पैदल मार्गले पुरानो काठमाडौंको व्यावसायिक र सांस्कृतिक जीवनलाई झल्काउँछ । यहाँ हनुमानढोकापरिसर, काष्ठमण्डप, कुमारीघर, जनबहाल (सेतो मत्स्येन्द्रनाथ), इन्द्रचोक र असनगल्ली देखिन्छ । असन र इन्द्रचोकको गुल्जार, मसला र कपडाका परम्परागत पसलहरू, प्राचीन चोकहरूमा पाइने स्थानीय चिया र योमरीको स्वाद यहाँको विशेषता हुन् । यो मार्गमा हिँड्दा मध्यकालीन काठमाडौंको व्यापारिक केन्द्र कस्तो थियो भन्ने स्पष्ट चित्र देखिन्छ ।
काठमाडौं महागरपालिकाले सम्पदा पदयात्रालाई तीव्र बनाउन पदमार्ग निर्माण गरिरहेको छ । पदयात्रा गर्न हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणको काम भइरहेको छ । यो पदमार्गमा विभिन्न सन्दर्भ पारेर महानगरले पदयात्रा गराउने गर्छ । महानगरका अनुसार सम्पदा मार्गले हनुमानढोका, काष्ठमण्डप, मरुगणेश, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याःगल्ली, बन्जाःहिटी, साः (तेल मिल), दमाईंटोल, सुन्तागल्ली, पाछैगल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर)गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रन्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपुहिटी (भीमसेन मन्दिर), धिमे ल्वहं, चाराहिटी, भुइँखेल हुँदै स्वयम्भूलाई जोड्नेछ । सम्पदा पदयात्राको २.२ किलोमिटर दूरीभित्र रहेका करिब २० वटा महŒवपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिनेछ ।
यो पदमार्गमा पदयात्रा गर्दा हनुमानढोका दरबार क्षेत्रबाट विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तललगायत सम्पदा अवलोकन गर्न सकिनेछ । महानगरपालिकाले ती सम्पदा पहिचान गर्न विभिन्न संकेत चिह्न राख्ने, स्थानीय घरलाई परम्परागत स्वरूपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटीपौवा तथा सत्तलको मर्मत–सम्भार तथा संरक्षणको कार्य गर्नेछ । यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिनेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापनासमेत गरिने महानगरको योजना छ ।
पाटनको कला र बहालको संसार
पाटन (ललितपुर)लाई कलाको सहर भनिन्छ । पाटन दरबार क्षेत्रवरपरका गल्लीहरूमा प्रवेश गर्दा धातुका मूर्ति खोप्दै गरेका कालीगढहरू र काठको बुट्टा भरिरहेका कलाकारहरू सजिलै भेटिन्छन् । पाटन दरबार क्षेत्र, कृष्णमन्दिर, हिरण्य वर्ण महाविहार (गोल्डेन टेम्पल), रुद्र वर्ण महाविहार र महाबौद्धमा कँुदिएका बुट्टाले विभिन्न कालखण्डको कला बुझ्न सकिन्छ । पाटनका आन्तरिक ‘बहाल’ र ‘बही’ (बौद्ध विहारहरू)को शान्त वातावरणले मुख्य सडकको होहल्लाबाट अलिकति भित्र छिर्नेबित्तिकै पुगिने यी शान्त चोकहरूले मनलाई बेग्लै शान्ति दिन्छन् ।
ललितपुर महानगरले पनि सम्पदा क्षेत्रलाई प्राथमिकतामा राखेर सम्पदा पदयात्राका लागि रुट नै तयार पारेको छ । विश्व पर्यटन दिवसका अवसरमा महानगरपालिकाले बर्सेनि पाटन दरबार स्क्वायरको अन्तर्राष्ट्रिय प्रचारका लागि बेलुकाको समयमा पदयात्रा (इभिनिङ वाक) कार्यक्रम गर्दै आएको छ । पाटनढोकादेखि पिम्बहाल, नकबहिल नागबहिल, हिरण्यवर्ण महाविहार हुँदै पाटन दरबार क्षेत्रलगायत पदयात्राका रुट हुन् ।
भक्तपुरको मध्यकालीन जीवनशैली मार्ग
भक्तपुरले आफ्नो पुरानो रूपलाई अझै धेरै जोगाएर राखेको छ । यहाँको सम्पदा मार्गमा हिँड्दा समय पछाडि फर्किएजस्तो भान हुन्छ । भक्तपुर दरबार क्षेत्र, पचपन्नझ्याले दरबार, न्यातपोल (पाँचतले मन्दिर), दत्तात्रय मन्दिर र पोटरी स्क्वायर (कुम्हाले टोल) यहाँका आकर्षक गन्तव्य हुन् । त्योबाहेक पोटरी स्क्वायरमा माटाका भाँडा बनाउँदै गरेका दृश्य, मन्दिरका पेटीमा बसेर भजन गाइरहेका ज्येष्ठ नागरिकहरू र प्रसिद्ध ‘जुजु धौ’को स्वाद यहाँका आकर्षकहरू हुन् ।
भक्तपुर नगरपालिकाको प्रमुख आयश्रोत पर्यटन हो । त्यसैले नगरपालिकाले पदमार्गलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छ । नगरपालिकाले कुनै निश्चित पदमार्ग मात्र भनेर काम गर्दैन । जसकारण भक्तपुरभित्रका सबै ठाउँमा उत्तिकै मात्रामा आन्तरिक र बाह्य पर्यटक पुग्छन् । त्यसैले आन्तरिक र बाह्य पर्यटकको रोजाइअनुसार पोखरी, मन्दिर, बहाःबही जुनसुकै ठाउँको पदयात्रा गर्न सक्छ । ‘हामीले पदयात्रामा सहभागी हुने पर्यटकको रोजाइअनुसार पदयात्रा गराउँछौँ । नगरपालिकाले गराउने पदयात्रा निःशुल्क हुन्छ ।
पथप्रदर्शकमार्फत पदयात्रा गर्ने हो भने निश्चित शुल्क तिर्नुपर्ने हुन्छ,’ नगरपालिकाअन्तर्गत पर्यटन सेवा केन्द्र प्रमुख गौतम लासिवाले भन्छन्, ‘हामीले निश्चित पदमार्गको मात्र प्रचारबाजी गराउँदैनौँ । निश्चित पदमार्गका बारेमा प्रचार गर्दा अर्को मार्ग ओझेलमा पर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।’ पदयात्राको क्रममा त्यहाँको मूर्त तथा अमूर्त सम्पदाका बारेमा ब्रिफिङ हुने गर्छ । नगरपालिकाले जात्राका वेला वा अन्य विभिन्न समयमा सम्पदा मार्गमा पदयात्रा गराउँदै आएको छ ।
कीर्तिपुरदेखि खोकनासम्म
यदि मुख्य सहरको भिडभन्दा अलि फरक र मौलिक नेवाः बस्तीको अनुभव लिने हो भने कीर्तिपुर र खोकनाको पैदल यात्रा उत्कृष्ट हुन्छ । ऐतिहासिक सहर कीर्तिपुरबाट उपत्यकाको मनोरम दृश्य देखिन्छ । बाघभैरव मन्दिर, उमामहेश्वर मन्दिर र यहाँका स्थानीय चोकहरू मुख्य आकर्षण हुन् ।
तोरीको तेलका लागि प्रसिद्ध खोकना र रातो मत्स्येन्द्रनाथको मन्दिर भएको बुङमतीमा अझै पनि परम्परागत कृषि जीवनशैली देख्न पाइन्छ । त्यस्तै, यहाँ नेवाः समुदायका परम्परागत पेसालाई नजिकबाट देख्न सकिन्छ । यी मार्गहरू पुराना इँटा र काठका संरचना मात्र होइनन्, यहाँका मानिसहरूको दैनिकी, चाडपर्व, जात्रा र रीतिरिवाजलाई नजिकबाट हेर्ने माध्यम हुन् । सम्पदा मार्गमा हिँड्दा स्थानीय साना व्यवसाय, कालीगढ र साना व्यवसायीहरूलाई प्रत्यक्ष सहयोग पुग्छ । सहरको प्रदूषण र हतारबाट अलिकति टाढा रहेर पैदल यात्रा गर्दा एकातिर स्वास्थ्यलाई फाइदा पुग्छ भने अर्कोतिर सम्पदाप्रतिको अपनत्व बढ्छ ।
युवाको उत्साहपूर्ण सहभागिता
उपत्यकाका सम्पदामार्गहरू पर्यटकीय गन्तव्य मात्र होइनन्, यी त हाम्रा पुर्खाको ज्ञान, कला र जीवनशैलीका जीवित पाना हुन् । यी पानालाई बुझ्न र जोगाउनका लागि कम्तीमा एकपटक यी गल्लीहरूमा पुग्नैपर्छ । असनको गल्लीमा मन्द–मन्द बजिरहेको बाँसुरीको धुन, घिउबत्तीको सुवास अनि शताब्दिऔँ पुराना मन्दिर र पाटीमा गफिँदै गरेका स्थानीय ज्येष्ठ नागरिकका दृश्य काठमाडौंको विगत मात्र होइनन्, जीवित वर्तमान पनि हुन् । तर, कतिपय मानिसहरूलाई थाहै छैन कि यी गल्लीहरू बाटो मात्र नभई इतिहास बोकेका ‘सम्पदा मार्ग’ हुन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका मुख्य दरबार क्षेत्रहरूबाहेक, तिनलाई जोड्ने प्राचीन ‘सम्पदा मार्गहरू’ भने सडक विस्तार, अव्यवस्थित सहरीकरण र संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । इतिहास र आधुनिकताको संगम मानिने यी मार्गहरूलाई प्रवद्र्धन गर्न सके उपत्यकाको पर्यटनले नयाँ मोड लिने सरोकारवालाहरूको बुझाइ छ ।
हनुमानढोकादेखि स्वयम्भूसम्मको प्राचीन बाटो होस् या पाटनका ऐतिहासिक गल्लीहरू, पछिल्लो समय उपत्यकाका सम्पदामार्गहरूलाई पुनरुत्थान गर्ने र पदयात्रामार्फत पर्यटन प्रवद्र्धन गर्ने प्रयास सुरु भएका छन् । युवाहरू नयाँनयाँ पदमार्गमा पदयात्रा गर्न र गराउन रमाइरहेका छन् । जसकारण असन, इन्द्रचोक, दरबार स्क्वायरमार्गको व्यापारिक र सांस्कृतिक महत्व, पाटनका गल्लीहरू, बहाःबहीः, र ढुंघेधारा जोड्ने मार्ग, भक्तपुरको परम्परागत पदमार्ग, साँखु र खोकनाका ऐतिहासिक मार्गहरू ब्युँतिने क्रममा छन् । यसले उपत्यकालाई चिनाउन थप सहयोग गर्ने अवस्था सिर्जना भएको सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन् ।
करिब दुई दशकदेखि सम्पदा पदयात्रा गराउँदै आएका तुलाधारले केही स्थानीय तहले कुनै सन्दर्भ पारेर गराएको पदयात्राले मात्र सम्पदा क्षेत्रको संरक्षण नहुने बताउँछन् । ‘धेरै युवाहरूले अहिले सम्पदा पदयात्रा गराउँदै आएका छन्,’ उनी भन्छन्, ‘व्यक्तिगत रूपमा हामीले गरेजस्तो पहल र कहिलेकाहीँ कुनै सन्दर्भमा केही स्थानीय तहले मात्र पहल गरेर पुग्दैन । यसका लागि वडा तहदेखि नीतिगत रूपमै काम हुनुपर्छ ।’
उपत्यकाको इतिहास, फेरबदल र वर्तमान चिहाउन, मूर्त र अमूर्त सम्पदाबारे जानकारी हासिल गर्न यस्ता पदयात्रा महत्वपूर्ण हुने उनको बुझाइ छ । ‘३० वर्षभन्दाअघि नै पदयात्रामा किन लागिएन ?, आफूले देखेका परिवर्तन, आउने भविष्यबारे किन योभन्दाअघि नै भन्न सुरु गरिएन ? यो मलाई लागिरहन्छ,’ उनी भन्छन्, ‘स्थानीय तहले प्रभावकारी रूपमा काम गर्ने, दीर्घकालीन रूपमा योजना बनाएर सम्पदा पदमार्ग बनाउने र पदयात्रा गराउने हो भने उपत्यकाको सम्पदा संरक्षणमा ठुलो प्रभाव पर्छ ।’