- नेपाल फिफा प्रतिबन्धमा रहँदा पनि दुई दर्जन खेलाडीले अन्तर्राष्ट्रिय लिग खेलिरहेका छन्, भुटानमा मात्रै १४ खेलाडी खेल्दै
अखिल नेपाल फुटबल संघ (एन्फा)माथि फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएपछि घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प भएका छन् । प्रतिबन्धपछि चलिरहेको राष्ट्रिय लिग, महिला लिग र उमेर समूहका लिग नै बिचमै रोकिए । जसमा कारण हजारौँ खेलाडी, अफिसियल, रेफ्री र पदाधिकारी बेरोजगार भएका छन् ।
यद्यपि, नेपाल फिफा प्रतिबन्धमा रहँदा पनि केही खेलाडीले भने अन्तर्राष्ट्रिय लिग खेल्ने अवसर पाएका छन् । अहिले राष्ट्रिय टिम तथा घरेलु प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका करिब दुई दर्जन खेलाडी विदेशी भूमिमा आफ्नो क्षमता देखाइरहेका छन् । विशेष गरी, महिला खेलाडीले धेरै अवसर पाएका छन् । पछिल्लो समय दक्षिण एसियामा पुरुष फुटबलको तुलनामा महिला प्रतियोगिता धेरै भइरहेका छन् । त्यसैले पनि भुटान, बंगलादेश र भारतमा नेपाली खेलाडीले माग बढी छ ।
पछिल्लो समय भुटानी लिग चलिरहँदा करिब एक दर्जन नेपाली खेलाडी त्यहाँ खेलिरहेका छन् । भुटानी लिग खेल्न पुरुष र महिला खेलाडी उत्तिकै पुगेका छन् । भुटानले घरेलु लिग व्यवस्थित बनाउँदै अन्तर्राष्ट्रियस्तरसमेत सुधार गरेको छ । भुटानपछि नेपाली खेलाडीको गन्तव्य बंगलादेश र भारत बन्छ । अहिले यी दुवै देशमा महिला लिग सिजन सुरु भएको छैन । त्यस्तै, नेपाली खेलाडी मलेसिया र कम्बोडियाको लिग पनि खेलिरहेका छन् ।
चार पुरुष खेलाडी पनि भुटानमै
भुटान फुटबल फेडेरेसनले महिलासँगै पुरुष लिग पनि सँगै आयोजना गरिरहेको छ । भुटानको लिगमा पनि चार खेलाडीहरू खेलिरहेका छन् । मिडफिल्डर सन्तोष खत्री, गोलकिपर टिकेन्द्र थापा, मिडफिल्डर कृतिशरत्न छुन्जु तथा गोलकिपर प्रमिजय गच्छदार रहेका छन् । सन्तोष र टिकेन्द्र ट्रान्सपोर्ट युनाइटेडबाट खेल्दा कृतिश र प्रमिजय थिम्पुबाट खेलिरहेका छन् ।
तीन महिला खेलाडी मलेसियामा
राष्ट्रिय टिमका १० जना खेलाडी भुटानको लिगमा व्यस्त रहँदा अन्य तीन खेलाडीले भने आफ्नो गन्तव्य मलेसिया बनाएका छन् । मिडफिल्डर अनिता बस्नेत तथा डिफेन्डरद्वय हिरा भुजेल र निशा थोकर मलेसियन राष्ट्रिय महिला लिग (लिगा वानिता नेस्योनल) खेलिरहेका छन् ।
तीनैजना खेलाडीलाई इगल्स क्वालालम्पुर एफसीले अनुबन्ध गरेको हो । दुई खेल खेलिसकेका छन् । यी तीनै खेलाडी विभागीय क्लब एपिएफसँग आबद्ध छन् । अनिताले यसअघि भारतको लिग पनि खेलेकी थिइन् ।
प्रीति र रेखा कम्बोडियामा खेल्दै
मिडफिल्डर प्रीति राई र स्ट्राइकर रेखा पौडेल भने कम्बोडियामा रहेका छन् । रेखा यसै सिजन कम्बोडियाको फ्नोम पेन क्राउन महिला टिममा आबद्ध भएकी हुन् । उनले शनिबार भएको डेब्यु खेलमै गोल गरिन् । त्यसअघि उनी युएईको आबुधाबी काउन्ट्रीबाट खेलेकी थिइन् । घरेलु फुटबलमा भने रेखाले नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन् । यता, प्रीतिले प्रह खान रिच स्वाय रिएङ एफसीबाट खेलिरहेकी छिन् । त्यसअघि प्रीतिले नेपाल एपिएफ क्लब हुँदै भारतको किक स्टार्स, जोर्डनको इतिहाद क्लबबाट खेलेकी थिइन् ।
बंगलादेशी क्लबमा अनन्त र एरिक
घरेलु लिग ठप्प हुँदा पुरुष टोलीका डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर एरिक विष्ट बंगलादेशको लिग खेल्ने भएका छन् । यसअघि पनि दुवै टोलीले बंगलादेशको लिग खेलेका थिए । यस सिजनका लागि बंगलादेशको फोर्टिस एफसी लिमिटेडले दुवै खेलाडीलाई अनुबन्ध गरेको हो । करिब ६ महिना हुने बंगलादेशका लिगमा यी खेलाडी हुनेछन् । उनीहरूले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलसमेत खेल्नेछन् ।
भुटानको लिगमा मात्रै १० महिला खेलाडी
महिला लिग रोकिएपछि अहिले नेपाली महिला खेलाडीको गन्तव्य भुटान बनेको छ । राष्ट्रिय टिमबाट खेलिरहेका १० महिला खेलाडी भुटानको विभिन्न क्लबमा आबद्ध छन् । राजधानी थिम्पुमा २ अगस्टबाट राष्ट्रिय महिला लिगको ‘टियर १’ सुरु हुँदै छ । नेपाली खेलाडी यसैका लागि थिम्पु पुगेका हुन् ।
भुटानको ट्रान्सफोर्ट युनाइटेडमै सातजना खेलाडी रहेका छन् । स्ट्राइकर रश्मिकुमारी घिसिङ, मीना देउवा, डिफेन्डर गीता राना, प्रतीक्षा चौधरी र समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र अनिता केसी ट्रान्सफोर्टबाट खेलिरहेका छन् । यस्तै, पारो एफसीमा दुई खेलाडी छन् । मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बू पारोमा हुँदा डिफेन्डर पूजा राना थिम्पु सिटीबाट खेलिरहेकी छिन् । घरेलु लिगमा पूजा, मीना, समीक्षाले नेपाल पुलिसबाट, रश्मि, गीता, प्रतीक्षा र अनिताले एपिएफ तथा दीपाले त्रिभुवन आर्मीबाट खेल्दै आएका छन् । रेनुका, सरु, गीता, र दीपाले भारतीय लिग पनि यसअघि नै खेलिसकेका छन् ।