संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल रोक्न र कूटनीतिक माध्यमबाट दिगो शान्ति स्थापना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
गुटेरेसले मध्यपूर्वका सबै द्वन्द्वग्रस्त क्षेत्रमा हिंसा अन्त्य गर्नुपर्ने, क्षेत्रीय स्थायित्व कायम गर्नुपर्ने तथा होर्मुज र बाब अल–मन्डब जलमार्गमा अन्तर्राष्ट्रिय आवागमनको स्वतन्त्रता पुनर्स्थापित गर्नुपर्ने बताए। उनले क्षेत्रीय संकट समाधानका लागि संवाद र कूटनीति नै प्रभावकारी माध्यम रहेको उल्लेख गरे।
खाडी क्षेत्रमा सैन्य तनाव बढेको ६ महिना बितिसकेको उल्लेख गर्दै उनले सुरुमा क्षेत्रीय रूपमा देखिएको द्वन्द्व अहिले विश्वव्यापी अस्थिरताको प्रमुख कारण बन्दै गएको चेतावनी दिए।
उनका अनुसार होर्मुज जलमार्गबाट हुने व्यापार प्रभावित हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य वृद्धि भएको छ भने खाद्यान्न, मल र अन्य आवश्यक वस्तुको मूल्यमा समेत असर परेको छ। यसले विश्वव्यापी आपूर्ति शृंखलामा अवरोध सिर्जना गरेको उनले बताए।
गुटेरेसले द्वन्द्वका कारण विशेष गरी आयातमा निर्भर कमजोर मुलुकहरू थप संकटमा परेको उल्लेख गरे। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को तथ्यांक उद्धृत गर्दै उनले विश्वभर करिब ४५ करोड मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा रहेको र बढ्दो महँगीले लाखौँ मानिस पुनः गरिबीको चपेटामा पर्न सक्ने बताए।
महासचिव गुटेरेसले हमासले हतियार त्याग्ने र इजरायलले गाजाबाट सेना फिर्ता गर्ने विषयमा अमेरिकी पहललाई सकारात्मक संकेतका रूपमा स्वागत गरेका छन्।
उनले यसअघि सार्वजनिक गरिएको सहमति कार्यान्वयनका लागि स्पष्ट आधार रहेको भन्दै दुवै पक्षले कुनै शंका वा अवरोधविना सम्झौता लागू गर्ने समय आएको बताए।