देशले पर्खिएको क्रमभंगता र अध्यात्म

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

क्रमभंगता प्रकृतिको नियम हो । प्रकृति नदीजस्तै हो, बगिरहन्छ । नदीको बहावमा बहन सिकियो भने आनन्द आउँछ, बाँध बाँधेर थुन्ने चेष्टा गरियो भने बाँध नाँघेर नदी बगिछाड्छ, दुःख व्यर्थ हुन्छ । मानवजीवन पनि नदीजस्तै हो । नदीले ठुल्ठुला पहाड, पत्थर र अनगिन्ती घुम्ती छिचोल्दै समुद्रमा मिसिएर शान्त भएजस्तै मनमा उत्पन्न हुने विचार र भावना सबै आत्मामा चढाए जीवन शान्त र समृद्ध बन्छ ।

आत्मा भनेको अनन्त चेतना हो, जसलाई सत्य, ब्रह्म, बोध र साक्षी पनि भनिन्छ । आत्मामा पुग्ने मार्ग हुन्, जागरुकता, अवलोकन, सजगता, समता, प्रेम, करुणा, विवेक । ध्यानको माध्यमबाट आत्मानुभूति हुन्छ । आत्मामा शरीर छ, शरीरमा आत्मा हुँदैन । आत्मा कुनै वस्तु वा एकाइ होइन । आत्मा निर्गुण निराकार छ । लोकधर्मले आत्मा शरीरभित्र हुन्छ, निस्केपछि मृत्यु हुन्छ, ठुलो धन खर्चेर यज्ञ लगाए स्वर्गमा र नलगाए नर्कमा पर्छ भन्ने भ्रम सिर्जना गरी सच्चा धर्मको हानि गरेकाले व्यक्ति र समाज अशान्त भएको हो । सच्चा धर्म त अविनाशी छ, उसको नाश हुँदैन व्यक्ति र समाज तनावले आक्रान्त बनेको छ । लोकधर्मको क्रमभंग गरेर सच्चा धर्म बहाली गरे मात्र तनाव र अशान्तिलगायत यावत् कुराले निकास पाउँछ ।

तत्कालीन सात दलसँग बृहत् शान्ति–सम्झौता गर्दै दसवर्षे माओवादी जनयुद्धलाई शान्तिपूर्ण आन्दोलनमा रूपान्तरण गरी गणतन्त्र ल्याउन अग्रणी भूमिका निर्वाह गरेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वेलावेलामा राजनीतिमा क्रमभंग गर्ने कुरा गर्ने गरेका छन् । देशमा भएको पछिल्लो जेन–जी आन्दोलनलाई क्रमभंगकै रूपमा स्विकार्दै भर्खरै सम्पन्न निर्वाचन हुने वातावरण सिर्जना गर्न पनि सक्रिय रहेका प्रचण्डले निर्वाचनमा पार्टीले अपेक्षित परिणाम नल्याएबाट आफ्नो राजनीतिक भाषामा पनि क्रमभंग गरेका छन् । प्रचण्डले हालैका दिनमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा सम्पन्न भएको शीर्ष वामनेताहरूको विमर्शका क्रममा पनि आफूले भन्दै आएको क्रमभंगलाई गलत अर्थमा बुझिएको टिप्पणी गरेका छन् ।

ज्ञान र आनन्द मानिसको मूल स्वरूप हो । त्यसैले कुनै पनि मानिसलाई केही जानेको छैन भन्दा दुःख मान्छ र दुःखबाट मुक्ति पाउन संघर्ष गर्छ । जनताको मुक्तिका लागि जेलनेलको कष्ट सहेका र शिरमा कफन बाँधेर आन्दोलनको नेतृत्व गरेका शीर्ष नेतागणहरूमा ज्ञान र अनुभव दुवै छ । क्रमभंगलाई बाहिरी कोणबाट मात्र हेर्दा एकपक्षीय र अधुरो हुन्छ । हामी मानवका दुईवटा जगत् छन् । बाहिरी भौतिक र भित्री आध्यात्मिक । आध्यात्मिक कोणबाट क्रमभंगको अर्थ अहम् आत्मामा प्रतिष्ठित हुनु हो । किनकि अहम्ले दुइटा गल्ती गरेको हुन्छ । प्रकृतिकै अंश अहम्ले म प्रकृतिभन्दा भिन्न चेतन हुँ भन्ने पहिलो गल्ती र चेतन हुँ भन्ने चेतना विस्तार गर्दै अनन्ततामा पुग्ने यात्रा थालनी नगरी जड प्रकृतिमै गएर चैतन्यता खोज्ने दोस्रो गल्ती ।

प्रकृतिमा चैतन्य आत्मा हुँदैन, अनन्त विषय मात्र हुन्छन् । एकपछि अर्को विषय भेट्छ अहम्ले तृप्ति मिल्दैन र झन् दुःखी हुन्छ । अहम्को खोजी मुक्तिको हो, जो अनन्त चेतनाको यात्रामा मात्र मिल्छ । चेतनाको यात्राका लागि जमिन छाडेर अर्थात् प्रकृतिभन्दा माथि आकाशतिर मनको उडान गर्नुपर्छ ।

अब पनि शीर्ष वाम नेताहरूले आफ्नो ज्ञान र अनुभवभन्दा माथि उठेर बोधको चरणमा प्रवेश नगर्ने हो भने आफ्नै इतिहास र देशप्रति अन्याय हुन्छ । ईशावाश्य उपनिषद् पहिलो अध्याय एघारौँ श्लोकमा जो व्यक्ति विद्या (आत्मज्ञान) र अविद्या (बाहिरी अथवा सांसारिक ज्ञान) दुवै एकसाथ जान्दछ उसले अविद्याको माध्यमबाट मृत्यु (अज्ञानता वा संसारको भय) पार गर्न सक्छ र विद्याद्वारा मुक्ति (राग, द्वेष, मोह , तृष्णा, आसक्तिजस्ता मनका विकार हटेर मन शुद्ध र शान्त भएको अवस्था) प्राप्त गर्दछ भनेको छ । मनुष्यले पूर्णता प्राप्त गर्न भित्री–बाहिरी दुवै ज्ञान आवश्यक पर्छ भन्ने सन्देश हो यो ।

कार्ल मार्क्सले मनुष्य जुन माहोलमा जन्मियो, जस्तो पालनपोषण, शिक्षा र संस्कार पायो त्यसले उसको चेतनामा प्रभाव पार्ने कुरा औँल्याए । त्यही बाहिरी प्रभावबाट चेतना बन्छ भन्दै आत्मज्ञानको उपेक्षा गरे । समाजमा पुँजी र संसाधन हुने पुँजीपति बुर्जुवा वर्ग र श्रम बेच्ने मजदुरको सर्वहारा वर्ग छ । त्यही वर्गअनुसारको चेतना हुन्छ । विपरीत चेतनाबिच वर्गसंघर्ष हुन्छ र त्यसैअनुसारको इतिहास बन्छ भन्ने सिद्धान्त अघि सारे । 

आत्माको उपेक्षा गरेकाले मार्क्सवाद असफल भएको तर्क दिँदै आचार्य प्रशान्तले भन्छन् कि मार्क्स स्वयं बुर्जुवा वर्गका थिए । उनले भनेझैँ औद्योगिक राष्ट्रमा क्रान्ति नभएर कम उद्योग भएका राष्ट्रमा क्रान्ति भयो । लेनिनले सर्वहारा वर्गको बुद्धि र शक्ति कम हुने भएकाले बुर्जुवा वर्गकैले सर्वहारा वर्गलाई क्रान्तिका लागि तयार गर्नुपर्छ भन्ने अवधारणा थपे । चेतनामा बाहिरी प्रभाव पर्छ भन्ने कुरामा सत्यता छ । प्रभाव मुख्य कुरा होइन नियत हो । नियत सफा राख्ने एक मात्र उपाय आत्मज्ञान हो भन्ने दाबी छ उनको ।

बहुसंख्यक सर्वहारा वर्गबाट बुर्जुवा वर्ग परास्त भई शोषणरहित समाजवादी शासन कायम गर्दै साम्यवादसम्म पुगेर मानवजातिको कल्याण गर्ने मार्क्सको सिद्धान्त चेतनाको स्रोत आत्मा हो भन्ने नस्विकार्दा धराशायी भएको बुझ्न कठिन छैन । यतातिर वामपन्थी नेताहरूले पर्याप्त ध्यान दिनैपर्ने देखिन्छ । नेताहरू पूर्वाग्रहरहित भएर अध्यात्मतर्फ नजर लगाए भने देशले पर्खिरहेको क्रमभंगता पाउनेछ ।

यही संसार र वर्तमानको कुरा गर्नु अध्यात्म हो । परलोक र भविष्यका कुरा गर्नु अध्यात्म होइन । अध्यात्मले जमिन, जहान र जीवनको कुरा गर्छ भन्छन्, आचार्य प्रशान्त । जीवनका लागि जमिन र जहान नै सबै कुरा हुन् । अध्यात्मले जीवनको यात्रा खाल्डो वा भिरतिर जानबाट रोकिन र चौडा राजमार्गतर्फ लाग्ने इसारा दिँदै जीवनको गाडी हाँक्न व्यवहार कुशल ज्ञान र अभ्यास दिएर जीवनयात्रा आनन्दित बनाउँछ भन्ने तर्क छ उनको । अध्यात्मले संसारसँग दूरी बनाउने भन्दैन, मूर्खतासँग दूरी बनाऊ भन्छ । मानिसको विभाजन आध्यात्मिक र सांसारिक भनेर गर्दैन अध्यात्मले, मूर्ख संसारी र आध्यात्मिक संसारी भन्छ । संसारमा बस्ने सबै संसारी हुन् नै । आफूलाई जान्नु हो अध्यात्म । आफू भनेको एउटा भाव हो, जो म, मेरो र मैले भन्ने शब्दमा प्रकट हुन्छ । यही भावलाई अहम् भनिन्छ । यो भाव नराखी पनि कर्म हुन्छन् । जसलाई निष्काम कर्म भनिन्छ । आत्मज्ञानीबाट स्वतस्फूर्त हुन्छन् निष्काम कर्म । अहम्लाई जान्नु नै आत्मज्ञान प्राप्त हुनु हो । आत्मज्ञान हरेक मनुष्यसँग हुन्छ । त्यसैले आत्मज्ञान प्राप्त गर्ने विषय होइन । विषय बाहिर हुन्छन् । आत्मज्ञान भित्र हुन्छ । भित्रको ज्ञानलाई भेट्ने मात्र हो । पानीको कुवा वर्षाको बाढीले ढुंगा–माटोले पुरिदिएझैँ आत्मा ढाकेका विचार भावना र कामना हटाए मात्र आत्माको ज्ञान हुन्छ ।

अध्यात्म पुरानो परम्परा होइन, व्यक्तिले स्वयंलाई जान्ने सतत जागरुकता हो । विज्ञान र प्रविधि बाहिरी ज्ञानसँग जोडिएका हुन्छन् । प्रविधिको सही उपयोग गर्ने ज्ञान अध्यात्मले दिन्छ । मानिसले आफ्नो चैतन्य स्वरूप चिनेन भने उसको ज्ञान दिशाविहीन हुन्छ । अनि आधुनिक प्रविधि र शक्तिलाई मानव कल्याणको दिशामा केन्द्रित गर्न असमर्थ हुन्छ । व्यक्ति क्षणप्रतिक्षण जागरुक बन्न सक्ने ज्ञान अध्यात्मले दिन सक्ने भएको हुँदा अध्यात्म एआईभन्दा बढी आधुनिक छ । अध्यात्म कुनै काम, क्षेत्र, विषय र विषयता होइन मानवजीवनको आधार हो । किनकि अध्यात्मले मानिसलाई आत्मज्ञानी अर्थात् मानिसभित्र हुने विवेकसँग जोडिदिन्छ ।

जीवन सफल र सार्थक बनाउन अहम् हट्न जरुरी छ । कुनै पनि कुरालाई हटाउने शक्ति त्योभन्दा सूक्ष्म कुरामा हुन्छ । किनकि स्थुल कुराभन्दा सूक्ष्म कुरा शक्तिशाली हुन्छ । शरीर स्थूल छ, तर शरीरभन्दा सूक्ष्म मन शक्तिशाली छ । किनकि मनले शरीर चलाउँछ । शरीर मनसम्म पुग्नै सक्दैन, चलाउने त कुरै भएन । त्यसैगरी, मनलाई मनभन्दा सूक्ष्म आत्माले सम्यमित बनाउन सक्छ । आत्मा स्वयं अकर्ता हो । तर, आत्माको नजिक मन गयो भने स्वतस्फूर्त संयमित हुन्छ ।

अध्यात्म किताबी कुरा होइन, व्यक्तिले वर्तमानमा जान्नुपर्ने कुरा हो । जीवनले पलपल निर्णय लिनुपर्ने हुन्छ । तृष्णा वा वितृष्णा जाग्यो भने किन जाग्यो भन्ने तत्काल जानेर उचित निर्णय लिनुपर्ने हुन्छ । एआई बाहिरको जिपिएस हो भने अध्यात्म भित्री जिपिएस हो । भित्री कुराले बाहिरी कुरा डोर्याएको हुन्छ । मुख्य कुरा भित्री हो, भित्री कुराबाट बाहिरी कुरा निर्धारित हुन्छ ।

मानिस जान्न चाहन्छ । जान्नु बोध हो । बोध मानिसको स्वभाव हो । बोध नै धर्म हो । बोध हो सत्य । महात्मा गान्धीले सत्य नै ईश्वर हो भनेका छन् । एकातिर लोक धर्मले निस्सार कर्मकाण्डलाई धर्म बनाइदिएको र वामपंथी दलहरूले समेत सच्चा धर्म बुझ्ने प्रयास नै नगरी लोकधर्मको भ्रममा परेर धर्मको उपेक्षा गरिदिँदा दिशाविहीनताको भयावह अवस्था सिर्जना भएको हो । क्रमभंगकै लागि देशले जेन–जी आन्दोलनको कहर सह्यो । देशको अवस्था बदल्ने हुटहुटी देखाएको वर्तमान सरकारमा रहेकाहरूको राजनीतिक अनुभव छोटो छ । जननेता मदन भण्डारीको चेतनाले कम्युनिस्ट पार्टीमा बहुलता भित्र्याए, जसरी अहिलेका शीर्ष वाम नेताहरूले अध्यात्मलाई आत्मसात् गरेर क्रमभंग गर्दै, एक हुँदै, प्रजातन्त्रदेखि गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेससँग समेत सहकार्य गर्ने वातावरण सिर्जना गरेमा सरकार सही दिशामा चल्ने र देशको कमजोर अवस्था भंग भई मजबुत हुनेछ ।
 

सुझावित समाचार