बंगाललाई ‘गुजरातीकरण’ गर्दै भाजपा

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण
  • भाजपाले पश्चिम बंगाललाई आफ्नो रोजाइको राजनीतिक प्रयोगशालामा परिणत गरेको छ

विगतमा ममता बनर्जी सत्तामा हुँदा पश्चिम बंगालमा सानोतिनो तनाव भए पनि केन्द्रका मिडियाले त्यसलाई राष्ट्रिय आपत्कालका रूपमा देखाउँथे । टिभी स्टुडियोमा ममता बनर्जीको राजीनामाको माग उठ्थ्यो । केन्द्रका मूलधारका मिडिया बंगाललाई अराजकताको केन्द्रका रूपमा चित्रण गर्थे । भारतीय जनता पार्टी (भाजपा) का नेता मुख्यमन्त्री हटाएर राज्यमा ‘राष्ट्रपति शासन’ तत्काल लागू गर्न माग गर्थे ।

तर, आज राज्यको सत्तामा भाजपा आएदेखि आश्चर्यजनक रूपमा बंगाल राष्ट्रिय ‘स्पटलाइट’ र ‘टिभी स्क्रिन’बाट गायब भएको छ । राज्यका विपक्षी दललाई निरन्तर आक्रमण र निसाना बनाइँदै छ । विपक्षी दलका कार्यालय तोडफोड भइरहेको छ, र उम्मेदवारलाई पक्राउ गरिएको छ । विद्यार्थीलाई धम्की दिइँदै छ । तर, यीमध्ये कुनै पनि खबर टिभी कभरेज र क्रोधित टिभी प्यानलमा देखिँदैनन् । किन ? किनभने बंगालमा अहिले भाजपाको शासन छ ।

बंगालमा अहिले जे भइरहेको छ, त्यो केवल शक्तिको परिवर्तन मात्र होइन । यो त राज्यलाई आफ्नो रोजाइको राजनीतिक प्रयोगशालामा परिणत गर्ने भाजपाको प्रयास हो । यसमा अत्यधिक राज्यशक्ति र प्रहरी प्रशासनको दुरुपयोग, आक्रामक हिन्दुत्वको अवलम्बन, सम्पूर्ण विपक्षीमाथिको आक्रमण र अनुकूलित कर्पोरेट स्वार्थसँगको निकटता समावेश छ ।

यसका साथै राज्यले नै शाकाहारी खाना प्रवर्द्धन गर्नुका साथै भाजपाको मातृ संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)’का शाखामा उल्लेखनीय वृद्धि गरेको देखिन्छ । यो विचलित पार्ने परिवर्तनलाई बंगालको ‘गुजरातीकरण’ भन्न सकिन्छ, जुन शब्द गुजराती जनतासँग जोडिएको नभएर गुजरात राज्यमा दशकौँदेखि भाजपाले प्रयोग गर्दै आएको शासनको मोडेलसँग सम्बन्धित छ ।

‘गुजरातीकरण’ मोडेलको एक प्रमुख विशेषता असहमतिलाई अपराधीकरण गर्नु हो । गुजरात राज्यमा धारा १४४ र सम्बन्धित प्रहरी कानुनअन्तर्गत निषेधात्मक आदेश यति धेरैपटक लागू गरिएका छन्, त्यहाँ आपत्कालीन शक्ति नागरिक जीवनको लगभग स्थायी भाग बनेका छन् । शान्तिपूर्ण विरोधलाई संवैधानिक अधिकारका रूपमा होइन, बरु प्रहरीको अनुमतिमा निर्भर विशेषाधिकारका रूपमा हेरिन्छ ।

असहमति दबाइएपछि औपचारिक रूपमा चुनावको उन्मूलन आवश्यकता नै पर्दैन । सत्तामा रहेकाहरू जताततै देखिन्छन् । विपक्षी भने चाहे राजनीतिक क्षेत्रका हुन् या नागरिक समाजका बिस्तारै अदृश्य हुँदै जान्छन् । यही आधारमा तीस वर्षदेखि गुजरातमा भाजपाले शासन गर्दै आएको थियो । अब विशाल राज्यशक्ति र कठोर हिन्दुत्वलाई जोड्ने ‘गुजरात मोडेल’ बंगालमा लागू भइरहेको छ । बंगालमा ‘गुजरातीकरण’को पहिलो प्रमुख विशेषता डर हो । अक्टोबरमा नन्दीग्राम क्षेत्रमा उपचुनावका लागि तृणमूल कंग्रेसका उम्मेदवारले मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई भेटेपछि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि, ममता बनर्जीले कंग्रेस उम्मेदवार मिलन प्रधानलाई समर्थन जनाएलगत्तै प्रधान पुरानो मुद्दाको वारेन्टका आधारमा पक्राउ परे । हुमायुन कबिरको पार्टीका अधिकारीलाई राजनगरमा पक्राउ गरियो । यस्तै सयौँ विपक्षी नेता तथा कार्यकर्ता पक्राउ परे ।

बंगालको ‘गुजरातीकरण’को अर्को उल्लेखनीय विशेषता भनेको प्रहरीको रूपान्तरण हो । विपक्षी राजनीतिक दलका कार्यालय तोडफोड हुँदा वा नेता कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरी धेरै ढिलो आइपुग्छ वा आक्रमणको पछाडि कुनै राजनीतिक उद्देश्य फेला पार्दैन । तर, उही प्रहरी पुरानो मुद्दामा विपक्षी उम्मेदवारविरुद्ध वारेन्ट जारी गरिँदा अचानक प्रकट हुन्छ । अहिले, कानुनको शासन पनि पार्टीको झन्डाले शासित भइरहेको छ । बंगालको ‘गुजरातीकरण’को तेस्रो उल्लेखनीय विशेषता भनेको सार्वजनिक जीवनमा कडा हिन्दुत्वको स्वर अपनाउनु हो । बंगालमा भाजपाको जितलाई हिन्दुत्वको जित बताउने मुख्यमन्त्री शुभेन्दु अधिकारी आफूलाई राज्यको संवैधानिक प्रमुखको सट्टा हिन्दु नेताका रूपमा प्रस्तुत गर्दै छन् । मुस्लिमलाई प्रशासनिक कारबाहीका साथसाथै बदनाम गरिँदै छ । तिनलाई निरन्तर डरमा राखेर ‘अन्य’का रूपमा चित्रण गरिँदै छ । जुन आफैँमा गुजरात मोडेल हो ।

बंगालको ‘गुजरातीकरण’को चौथो महत्वपूर्ण पक्ष शिक्षा हो । यसअन्तर्गत उच्च शिक्षाका संस्था आक्रमणमा परिरहेका छन् । मुख्यमन्त्रीले अहिले भगवा पोसाकधारी साधु र नागा साधु साथ लिएर विश्वविद्यालयका असहमत विद्यार्थीलाई धम्क्याउने प्रयास गरिरहेका छन् । भाजपाको रणनीति स्पष्ट छ– विश्वविद्यालयपरिसर कब्जा गरी भविष्य कब्जा गर्नु । हालै, भाजपानिकट विद्यार्थी संगठन एबिभिपीका सदस्यले बंगालको विद्यासागर विश्वविद्यालयमा उपकुलपतिको कोठामा आक्रमण गरे ।

‘गुजरातीकरण’को पाँचौँ विशेषता भनेको एउटा विशेष औद्योगिक घरानाको प्रभुत्व हो । अर्बपति गौतम अडानी र मुख्यमन्त्री अधिकारीले संयुक्त रूपमा कोलकाताको नयाँ सहरमा दुई हजार शङ्ढयाको अस्पताल शिलान्यास गरे । रोजगारी सिर्जना गर्ने, स्वास्थ्य सेवा सुधार गर्ने र साधारण बंगालीलाई फाइदा पुर्याउने कुनै पनि वास्तविक लगानीलाई स्वागत गर्नुपर्छ । तर, बंगालमा भाजपाको सबैभन्दा प्रचारित औद्योगिक अनुहार गौतम अडानी बनेका छन् । ‘गुजरातीकरण’को सबैभन्दा महत्वपूर्ण पक्ष मिडियाको मौनता र पक्षपात हो । जुन मिडियाले केही महिनाअघिसम्म बंगालमा लोकतन्त्र समाप्त भएको भन्थे, अहिले तिनले आँखा चिम्लिरहेका छन् । मिडियाको पहिलेको आक्रोश बंगाल वा लोकतन्त्रका लागि थिएन, तिनको लक्ष्य ममता बनर्जीलाई हराउनु थियो, जसमा ती सफल भएका छन् । 

(घोष ‘अखिल भारतीय तृणमूल कंग्रेस’की राज्यसभा सांसद हुन्) 
द प्रिन्टबाट

सुझावित समाचार