सन् १९१४ : अस्ट्रिया–हंगेरीले आफ्ना राजकुमार आर्क–ड्युक फ्रान्ज फर्डिनान्डको हत्यापछि सर्बियालाई ४८ घण्टाको अल्टिमेटम दियो । अत्यन्त कठिन सर्त राखिएकाले युद्ध अवश्यम्भावी देखिन थालेको थियो । पछि गएर यही अल्टिमेटम पहिलो विश्वयुद्ध निम्त्याउने प्रमुख तत्कालीन कारण बन्न पुग्यो ।
सन् १७९४ : फ्रान्सेली क्रान्तिको सबैभन्दा उग्र चरण ‘रेन अफ रटेरर’को समयको अन्त्यतिर नेपोलियनकी भावी श्रीमती जोसेफाइनका पहिला श्रीमान् एलेक्ज्यान्डर डे बोआर्नेलाई राज्यद्रोहको आरोपमा मृत्युदण्ड दिइयो । जोसेफाइन आफैँ पनि त्यो समय जेल परेकी थिइन् । तर, केही समयमै सो चरण अन्त्य भएपछि उनी छुटिन् ।
सन् १८२९ : विलियम अस्टिन बर्टले पहिलो टाइपराइटरका रूपमा ‘टाइपोग्राफर’ प्याटेन्ट पाए ।
सन् १९२० : पूर्वी अफ्रिकामा बेलायतले कब्जा गरेको क्षेत्रलाई केन्याको नाममा ब्रिटिस उपनिवेश घोषणा गरियो ।
सन् १९२१ : चेन दुसिउ, ली दाझाओ र अन्य नेताको सहभागितामा सांघाईमा चीनका कम्युनिस्टको पहिलो राष्ट्रिय सम्मेलन सुरु भयो । अगस्ट २ सम्म चलेको सम्मेलनले औपचारिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गर्यो ।
सन् १९४४ : अघिल्लो दिन सकिएको ‘ब्रेटन वुड्स सम्मेलन’बाट ‘इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट’ स्थापना भएको सार्वजनिक गरियो । पछि विश्व बैंकको अंश बनेको सो बैंकले विश्वयुद्धपछिको विश्व आर्थिक व्यवस्थाको जग बसालेको विश्वास गरिन्छ ।
सन् १९५२ : इजिप्टमा सेनाभित्रको एक समूह ‘फ्री अफिसर्स’ले कुमार्फत राजा फारुकलाई अपदस्थ गर्दै देशमा गणतन्त्र घोषणा गर्यो । सेनाभित्रको सो समूह चार वर्षअघि भएको अरब–इजरायल युद्धमा राजाले निभाएको भूमिकाप्रति र युद्धमा सेनालाई कमसल हतियार दिएदेखि असन्तुष्ट थियो ।
सन् १९६२ : लाओसको विषयमा जेनेभामा भएको सम्मेलनले लाओसलाई तटस्थ राष्ट्र घोषणा गर्दै छिमेकी भियतनाममा भएको गृहयुद्ध तथा अमेरिकी हस्तक्षेपबाट मुक्त राख्नुपर्ने सहमति गर्यो । तर, सहमतिविपरीत अमेरिकाले दुई वर्षपछि सो देशमा ठुलो बमबारी गरेको थियो ।