संसद्तर्फ मार्च गरेका आन्दोलनकारीमाथि लाठी र अश्रुग्यास

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण
  • हजारौँको संख्यामा रहेका प्रदर्शनकारी संसद् भवनतर्फ बढ्नुअघि नै प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभाबाट बाहिरिएका थिए

कक्रोच जनता पार्टी (सिजेपी) का हजारौं समर्थकहरूमाथि प्रहरीले व्यापक धरपकड गरेको छ । शिक्षा प्रणालीमा सुधारको माग गर्दै सीजेपीले गरेको आह्वानमा संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो । सोमवार वर्षे अधिवेशनको पहिलो दिन संसद् भवनतर्फ मार्च गर्न विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा विभिन्न दलका नेताहरूको पनि उपस्थिति थियो ।

मेडिकल कलेज भर्नाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा (एनइइटी) मा भएको भनिएको अनियमितताको विरोध र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘चलो संसद्’ (संसद् मार्च) का लागि जन्तर–मन्तरमा भेला भएका प्रदर्शनकारीहरूलाई प्रहरीले चरम दमन गरेको हो । सहभागीमा अधिकांश युवाहरू थिए ।

संसद् भवनतर्फ अघि बढ्ने क्रममा व्यारिकेड तोड्ने प्रयास गर्दा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी सामान्य घाइते भए । संसद भवनको गेट नजिक पुगेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र लट्ठी प्रहार गरेको थियो । प्रर्दशनकारी संसदतर्फ बढ्नुअघि नै प्रधानमन्त्री मोदी लोकसभाबाट बाहिरिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य दिल्लीका केही भागमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको थियो ।

सिजेपीको आन्दोलनमा विभिन्न दलका नेता र कलाकारले समर्थन जनाएका थिए । संसद मार्चमा ५० हजाभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले संस्थापक अभिजित दिपकेलाई दिल्ली प्रहरीले सडकबाटै नियन्त्रणमा लिएको दाबी गरेका छन् । उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीलाई कुटपिट गरेको  दाबी पनि गरेका छन् । सिजेपीको समर्थनमा २१ दिनदेखि अनशनमा बसेका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिवार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव चुलिएको हो ।

उनले अस्पतालमा पनि अनशन जारी राखेका छन् । यसैबीच, सिजेपीले सरकारको आग्रहपछि केन्द्रीय मन्त्री जेपी नड्डालाई उनको निवासमा भेटेर १० मिनेट छलफल गरेको जनाएको छ । सरकारले आन्दोलनकारीलाई आमरण अनशन र धर्ना त्याग्न आन्दोलनकारीसँग अनुरोध गरेका थिए । यसअघि संसद्तर्फ मार्च पासका क्रममा सिजेपीले आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेको थियो । ‘यदि तपाईंहरूलाई कुनै ठाउँमा रोकियो भने पनि शान्त रहनुहोस् र शान्ति कायम राख्नुहोसस्,’ सिजेपीले भनेको थियो ।  

एनडिटिभीबाट

सुझावित समाचार