हसिनाको स्वदेश फर्किने घोषणाले उब्जाएका प्रश्न

करिब दुई वर्षदेखि भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले यस वर्षको डिसेम्बरसम्म ढाका फर्किने घोषणा गरेकी छिन्

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले यस वर्षको डिसेम्बरसम्म ढाका फर्किने हालै घोषणा गरेकी छिन् । ‘फर्कँदा मलाई पक्राउ गर्न सक्छन्, वा मेरो हत्यासमेत गर्न सक्छन् । तैपनि, मैले जानैपर्छ,’ उनी अडिग छिन् । जनआन्दोलनबाट सत्ताच्युत भएकी, निर्वासित जीवन बिताइरहेकी र आफ्नो अनुपस्थितिमा मृत्युदण्डको सजाय पाएकी साथै व्यापक आलोचनाको पात्र बनेकी ७० वर्षीया पूर्वप्रधानमन्त्री किन स्वदेश फर्कन चाहन्छिन् ?

जेलमा रहेका आफ्ना निष्ठावान् समर्थकहरूप्रति चासो देखाउनुको अतिरिक्त स्वदेश फर्किनुको अर्को बलियो कारण छ : ‘यदि मृत्यु आउँछ भने, म त्यो आफ्नै माटोमा होस् भन्ने चाहन्छु, जहाँ मेरा आमाबुबाको समाधि छ र जहाँ उहाँहरूको रगत बगेको थियो ।’ उनी निर्वासनमा बस्न चाहन्नन् भन्ने कुरा बुझ्न सकिन्छ । तर, अलि कम स्पष्ट कुरा यो हो कि उनले किन ६ महिनाको समयसीमा’ तोकिन् । किन अझ चाँडो वा अझ ढिलो नफर्किने ?

हसिनाको घोषणाले ढाकाको राजनीतिक परिदृश्यमा लुकेका अन्तर्निहित पक्षलाई केलाउने अवसर प्रदान गरेको छ । आउनुहोस्, उनको पार्टी ‘अवामी लिग’ (एएल)बाटै कुरा सुरु गरौँ । यो पार्टीमाथि अझै पनि प्रतिबन्ध कायमै छ र फेब्रुअरीको निर्वाचनमा यसले आफ्नो मतदाता आधारको ठुलो हिस्सा सत्ताधारी ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (बिएनपी) गुमाएको थियो ।

बंगलादेशी राजनीतिबाट अवामी लिगलाई पूर्ण रूपमा बाहिर राख्ने अवस्था दिगो हुन सक्दैन

पार्टीसँग अझै पनि छिटपुट रूपमा केही समर्थन बाँकी नै छ, तर मूलधारको राजनीतिमा फर्कने कुनै स्पष्ट बाटो भने देखिँदैन । पार्टीका नेताहरू या त जेलमा छन् वा निर्वासनमा । कोही धरौटीमा रिहा भएका छन् । यसले गर्दा पार्टीभित्र दुई समूहबिच विभाजन देखिएको छ : एक त हसिनाको पक्षमा निरन्तर उभिने निष्ठावान् समर्थकहरू र अर्कोतर्फ हसिनाभन्दा पनि पार्टी र यसको वैचारिक मान्यतामा बढी विश्वास गर्ने सुधारवादीहरू । यद्यपि, दुवै समूह अवामी लिगको पुनरागमन चाहन्छन्, तर बिएनपी भने कम चुनौतीपूर्ण मानिने सुधारवादीहरूलाई पुनस्र्थापित गर्न बढी सकारात्मक देखिन्छ ।

अवामी लिगको पुनरागमनका विषयमा बिएनपीभित्रै परस्पर विरोधी धारणा छन् । पार्टीका वरिष्ठ नेताहरू तथा मन्त्रिपरिषद्का सदस्यहरू– जस्तै सलाहुद्दिन अहमद, मिर्जा फखरुल इस्लाम आलमगिर, इकबाल हसन महमुद र अमिर खास्रु महमुद चौधरीको व्यावहारिक दृष्टिकोण भनेको अवामी लिगभित्रका सुधारवादीलाई पुनः सक्रिय हुन दिने हो । यस्तो कदमले जेआई–एनसिपी गठबन्धनलाई आफ्नो राजनीतिक प्रभाव विस्तार गर्नबाट रोक्नेछ भने बिएनपीलाई कमजोर बनेको अवामी लिगको अवस्थालाई आफ्नो फाइदाका लागि उपयोग गर्ने अवसर पनि दिनेछ ।

सम्भवतः प्रधानमन्त्री तारिक रहमानको समर्थन पनि यही दृष्टिकोणलाई छ । तर, बिएनपीका युवा कार्यकर्ता तथा मध्यमस्तरीय नेतृत्वको भने कडा अडान छ, अवामी लिगमाथिको प्रतिबन्ध कायमै राख्नुपर्छ । उनीहरूको बुझाइमा, अवामी लिगको पुनरागमनले सडकको अवस्थालाई अस्थिर बनाउने र स्थानीयस्तरमा प्रतिस्पर्धा बढाउने जोखिम निम्त्याउँछ ।

हसिनाको फिर्तीले संकट निम्त्याउन सक्छ । तर, यसले एउटा अवसर पनि प्रदान गर्छ– निष्पक्ष र खुला सुनुवाइको अवसर, जसले उनलाई जवाफदेही मात्र बनाउँदैन, बरु उनीबारे वास्तवमा जनताले के सोच्छन् भन्ने यथार्थ बोध गराउँछ ।

स्पष्ट रूपमा भन्नुपर्दा, कट्टरपन्थीहरूले अवामी लिगप्रति बिएनपीको आधिकारिक दृष्टिकोणलाई प्रभावित गरिरहेका छन् । यसको कारण बिएनपीभित्रको शक्ति सन्तुलन कट्टरपन्थीहरूको पक्षमा हुनु होइन, बरु बिएनपीलाई अवामी लिगलाई पुनस्र्थापित गर्नुपर्ने तत्कालको आवश्यकता नहुनु नै यसको मुख्य कारण हो । सरकार अर्थतन्त्रलाई बाह्य धक्काबाट जोगाउन व्यस्त छ भने जनता वर्षौँको अशान्तिपछि प्राप्त शान्तिको अनुभूति गरिरहेका छन् । अवामी लिगको ज्यादतीको सम्झना अझै ताजा छ र उक्त दललाई राजनीतिमा फर्काउने कुनै पनि कदमले जनतामा विगतको पीडा वा आघातलाई पुनः जगाउने जोखिम निम्त्याउन सक्छ । यही कारणले गर्दा बिएनपी, जेआई र एनसिपी अवामी लिगलाई निकटभविष्यमा राजनीतिबाट बाहिरै राख्ने सहमतिमा पुगेका हुन् ।

जमात–ए–इस्लामी (जेआई) र एनसिपीको अवामी लिगप्रतिको घृणा निकै गहिरो र तीव्र छ । जुलाई २०२४ मा विद्यार्थीहरूले गोलीको सामना गर्नुपरेको भए तापनि जेआईले भने हसिनाबाट लामो समयदेखि दमनको सामना गर्दै आएको इतिहास छ । तर, एएलको पुनरागमनको सम्भावनाले यी दलहरूलाई सबैभन्दा बढी चिन्तित तुल्याउने विषय भनेको हसिनाको बहिर्गमनपछि आफूहरूले हासिल गरेका सीमित उपलब्धि गुम्ने डर हो ।

उनीहरूलाई राम्रोसँग थाहा छ कि बंगलादेशमा इस्लामवादी राजनीतिको चुनावी प्रभाव सीमित छ र बिएनपीको पकड निकै बलियो छ । यही कारणले गर्दा बिएनपीको कार्यकालको पहिलो चरणमा विरोध प्रदर्शन गरेर आफ्नो सीमित राजनीतिक पुँजी खेर फाल्ने उनीहरूको कुनै योजना छैन । तर, उनीहरू यो कुरामा पनि सचेत छन् कि यदि त्यस्तो अवस्था आयो भने बिएनपीको सहयोगमा सुधारवादीहरूको नेतृत्वमा अघि बढ्ने अवामी लिग जेआई–एनसिपी गठबन्धनका लागि तत्कालको खतरा बन्न सक्छ । त्यस्तो परिस्थितिमा, यी दलहरूले योजनाबद्ध रूपमा सडक आन्दोलन गर्नेछन्, जसले राजनीतिक संकट निम्त्याउनेछ ।

हसिनाले यसअघि पनि स्वदेश फर्किने बताएकी थिइन् । स्वदेश फर्केर आफ्नो पार्टीलाई ‘बचाउने’ हतारोमा रहेकी वृद्ध राजनीतिज्ञको यो केवल लहड हो वा त्रिपक्षीय सहमतिलाई खलबल्याउने सोचविचारसहितको चाल हो अथवा यी दुवैको मिश्रण हुन् भन्ने कुरा स्पष्ट छैन । यसले के देखाउँछ भने बंगलादेशी राजनीतिक दलहरूले आफ्नो राजनीतिक संस्कारबारे पुनर्विचार गर्न र मेलमिलापका लागि ठाउँ बनाउनु अत्यावश्यक छ । बंगलादेशी राजनीतिमा लामो समयदेखि हाबी रहँदै आएको ‘विजेताले सबै कुरा हात पार्ने प्रवृत्ति’ भौतिक विज्ञानको कुनै अपरिवर्तनीय नियम होइन । बंगलादेशको दीर्घकालीन हितका लागि दिगो, समावेशी र कानुनसम्मत राजनीतिक प्रणाली निर्माण गर्न अल्पकालीन सम्झौता स्वीकार गर्ने साहसको आवश्यकता छ ।

हसिनाको फिर्तीले संकट निम्त्याउन सक्छ भन्ने कुरा बुझ्न सकिन्छ । तर यसले एउटा अवसर पनि प्रदान गर्छ–निष्पक्ष र खुला सुनुवाइको अवसर, जसले उनलाई जवाफदेही मात्र बनाउँदैन, बरु जनताले उनीबारे वास्तवमा के सोच्छन् भन्ने यथार्थ पनि उनलाई महसुस गराउँछ । ढाकासामु एउटा विकल्प छ : हसिनालाई फेरि देशमा अस्थिरता निम्त्याउन दिने वा उनको फिर्तीलाई राष्ट्रिय समाधान र मेलमिलापको सुरुवात विन्दु बनाउने । अवामी लिगको पुनरागमन रोक्ने सहमतिले समस्या समाधान हुन्छ भन्ने भ्रम पाल्नुहुँदैन् । बंगलादेशी राजनीतिबाट आवामी लिगलाई पूर्ण रूपमा बाहिर राख्ने अवस्था दिगो हुन सक्दैन । अबको एक मात्र प्रश्न यो हो कि यसको फिर्तीलाई जोखिमको रूपमा नभई अवसरको रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने हो ।
हिन्दुस्तान टाइम्सबाट (पालिवाल एसओएस युनिभर्सिटी अफ लन्डनमा अध्यापन गर्छन् । उनी वासिङटन डिसीस्थित कार्नेगी साउथ एसिया प्रोग्रामका गैरआवासीय अध्येतासमेत हुन् ।)

सुझावित समाचार