ताइवानी सेनालाई साम्यवादविरोधी शिक्षा

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

चीनबाट बढ्दो खतरालाई मध्यनजर गर्दै ताइवानको सेनाले करिब २५ वर्षको अन्तरालपछि आफ्ना सैन्य स्नातकहरूका लागि ‘साम्यवादविरोधी’ देशभक्तिपूर्ण कक्षाहरू पुनः सुरु गरेको छ । ताइवानको रक्षा मन्त्रालयले सोमबार यसको पुष्टि गरेको हो । ताइवानमाथि दाबी गर्ने चिनियाँ सरकारविरुद्ध लक्षित यस्ता अभियान शीतयुद्धको समयमा व्यापक थिए ।

सन् २००२ मा सैन्य स्नातकका लागि सञ्चालित औपचारिक ‘साम्यवादविरोधी देशभक्तिपूर्ण शिक्षा’ कार्यक्रम बन्द गरी त्यसलाई ‘देशभक्तिपूर्ण शिक्षा’ मा रूपान्तरण गरिएको थियो । कक्षाहरू पुनः सुरु गर्ने घोषणा गर्दै ताइवानको रक्षा मन्त्रालयले भन्यो, ‘उनीहरूले राष्ट्रिय सुरक्षामा रहेका खतराहरू स्पष्ट रूपमा बुझ्न र हामी किन लड्छौँ र कसका लागि लड्छौँ भन्ने सैन्य उद्देश्यलाई आत्मसात् गर्न आवश्यक छ ।’

ताइवानको रक्षा मन्त्रालयका अनुसार, स्नातकहरूलाई चीनसम्बन्धी नीति तर्जुमा गर्ने मेनल्यान्ड अफेयर्स काउन्सिल, राष्ट्रिय सुरक्षा परिषद्’, न्याय मन्त्रालय र सरकारको प्रमुख थिंकट्यांक (नीति अनुसन्धान संस्था) एकेडेमिया सिनिकालगायतका निकायका अधिकारीहरूले प्रशिक्षण दिनेछन् । ‘यसको उद्देश्य स्नातकहरूमा मित्र र शत्रुको स्पष्ट बुझाइ विकास गर्नु हो,’ विज्ञप्तिमा थप उल्लेख गरिएको छ ।

ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव जोसेफ वुका अनुसार, फर्स्ट आइल्यान्ड चेन (जापानदेखि ताइवान, फिलिपिन्स र बोर्नियोसम्म फैलिएको क्षेत्र)मा ११० भन्दा बढी चिनियाँ सैन्य तथा तटरक्षक बलका जहाजहरूको आवतजावत देखिएको थियो । ‘फर्स्ट आइल्यान्ड चेन क्षेत्रमा चीनको व्यापक समुद्री परिचालन उसको विस्तारवादी नीतिको स्पष्ट संकेत हो,’ वुले सामाजिक सञ्जाल एक्समा लेखे ।

ताइवानलाई चीनको धम्की
वास्तवमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार (१ जुलाई) ताइवानको मुद्दा समाधान गर्नु आफ्नो देशका लागि एक ‘ऐतिहासिक मिसन’ भएको बताएका छन् र यो चिनियाँ कम्युनिस्ट पार्टीको अटल प्रतिबद्धता रहेको कुरामा जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को स्थापनाको १०५औँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिपिसीका केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले ‘एक देश, दुई प्रणाली’को ढाँचाप्रति बेइजिङको प्रतिबद्धता पुनः दोहोर्याए ।
 

सुझावित समाचार