लगातार तेस्रोपटक फाइनल पुग्ने फ्रान्सको सपना चकनाचुर

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण
  • सेमिफाइनल खेलमा चाहेजस्तो खेल्न नसक्दा तथा प्राविधिक र रणनीतिक रूपमा कमजोर प्रदर्शन हुँदा नतिजा विपक्षीमा गएको कप्तान केलियन एम्बाप्पेको विश्लेषण

साबिक उपविजेता फ्रान्सको लगातार तेस्रोपटक विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउने सपना तुहिएको छ । अमेरिकाको डालासमा स्पेनसँग २–० ले पराजित हुनुअघिसम्म फ्रान्सले उत्कृष्ट प्रदर्शन गरेको थियो । गोलरक्षकदेखि फिनिसरसम्म सबैभन्दा बलियो देखिएको फ्रान्स सेमिफाइनलमा सबै क्षेत्रमा फितलो देखियो । फ्रान्सले कुनै पनि समय स्पेनमाथि डरलाग्दो मुभ बनाउन सकेन ।

उपाधिको बलियो दाबेदार मानिएको फ्रान्स यस नतिजाबाट निराश छ । सन् २०१० पछि स्पेन विश्वकपको फाइनलमा पुग्दा फ्रान्सका खेलाडीले नतिजा स्वीकार गर्न सकिरहेका छैनन् । कप्तान केलियन एम्बाप्पे र प्रशिक्षक डिडिएरसँग सुरुवातमा हारको कारण नै थिएन । माथिल्लो स्तरको प्रतिस्पर्धा गरिरहेको फ्रान्स एकैपटक कसरी कमजोर देखियो, यो नै अहिलेको प्रश्न हो । 

धेरैले हारको कारण फ्रान्सको रणनीतिलाई मानेका छन् । १६ वर्षपछि विश्वकप फाइनलमा स्थान बनाएको स्पेनले भने फ्रान्सका सबै रणनीति बुझेर प्रतिस्पर्धा गरेको प्रतिक्रिया आएका छन् । फ्रान्सका कप्तान एम्बाप्पेले प्रशिक्षक डिडिएरले सेमिफाइनलमा फरक रणनीति अपनाउँदा पराजित भएको खुलासा गरेका छन् । प्रशिक्षक डिडिएरले स्पेनलाई दबाब दिन एकैपटक सबै स्ट्राइकरलाई मैदानमा उतारेका थिए । प्राविधिक तथा बल पोसेसन पकड बनाएर विपक्षी पोस्टमा आक्रमण गर्ने स्पेनविरुद्ध सबै स्ट्राइकरलाई खेलाउनु नै प्रशिक्षकको गल्ती भएको एम्बाप्पेको भनाइ छ । 

सुरुको प्लेनिङ ११ मा एम्बाप्पेलाई साथ दिन डेम्बेले, बारकोला र ओलिसे उत्रिएका थिए । तर, यी विश्वस्तरीय स्ट्राइकरबिच आपसी तालमेल नमिल्दा स्पेनको डिबक्समा त्यति पोस्ट चार्ज हुन सकेन । एम्बाप्पेको भनाइमा रायन चर्कीले पनि सहमति जनाएका छन् । ‘प्रशिक्षक डिडिएरले एकैपटक चार स्ट्राइकरलाई मैदानमा उतार्ने जोखिम उठाए । स्पेनजस्तो बलमा राम्रो पकड राख्ने टोलीविरुद्ध यो रणनीति घातक साबित भयो,’ रायनले भने, ‘गलत रणनीति अपनाउँदा स्पेनसँग भन्दा पनि आफ्नै कमजोरीका कारण फ्रान्स पराजित भएको हो ।’ 

रणनीति र प्राविधिक पक्ष कमजोर
स्पेनले फ्रान्सविरुद्धको जुन प्रदर्शन गरेको थियो, त्यो १६ वर्षअघि विश्वकपको झल्को थियो । दक्षिण अफ्रिकामा आयोजित सो विश्वकपमा स्पेनका तत्कालीन प्रशिक्षक भिसेन्ट डेलबोस्कीले बल पोसेसन होल्ड गरेर विपक्षीमाथि दबाब राख्ने रणनीति अपनाएका थिए । जसलाई टिकी–टाका भनिन्थ्यो । स्पेनले फ्रान्सविरुद्ध शतप्रतिशत यही शैली अपनायो । एकपटक फेरि पुरानो रणनीतिका साथ मैदानमा उत्रँदा फ्रान्सले उसको रणनीति बुझ्न पाएन । फ्रान्सका खेलाडी रायनले स्पेनको बल पकड बलियो हुँदा नै आफूहरू आक्रामक बन्न नसकेको बताए ।

‘वास्तवमा हामी आफैँसँग पराजित भएका छौँ । प्राविधिक, रणनीतिक र मैदानमा विपक्षीविरुद्ध कसरी भिड्ने भन्ने नै भएन,’ उनले भने, ‘स्पेनसँगको भिडन्तमा पछि पर्यौँ । यस खेलअघि सबै टोली हामीसँग डराउँथे ।’ तथ्यांकअनुसार सन् १९६६ पछि फ्रान्सले विश्वकपको कुनै पनि खेलमा देखाएको यो सबैभन्दा कमजोर आक्रमण थियो । फ्रान्सले ८१औँ मिनेटसम्म स्पेनको गोलपोस्टमा एउटा पनि गतिलो प्रहार गर्न सकेन । फ्रान्सको डिफेन्स स्पेनको अगाडि निरीह भएको रायनले बताए । स्पेनले माइकल ओलिसे र एम्बाप्पेलाई चल्नै नदिएको रायनको भनाइ छ । अर्कोतिर स्पेनले रोड्रीको उत्कृष्ट कप्तानी र मिडफिल्डमा फाबियन रुइज र ड्यानी ओल्मोको तालमेलमा फ्रान्सलाई खेलमा फर्कने मौका नै दिएन । स्पेनले खेलको ५६ प्रतिशत बलमा नियन्त्रण मात्र राखेको थियो । यसका साथै स्पेनले रक्षात्मक रूपमा पनि फ्रान्सलाई असफल बनायो ।

रेफ्रीको भूमिकामाथि प्रश्न
फ्रान्सका प्रशिक्षक डिडिएरले रेफ्री इभान आर्सिदेसको निर्णयमाथि प्रश्न उठाएका छन् । स्पेनले पहिलो हाफमा प्राप्त पेनाल्टीसहित रेफ्रीको समग्र प्रदर्शनबारे प्रशिक्षक डिडिएरले असन्तुष्टि जनाए । खेलको २२औँ मिनेटमा लामिन यामललाई फ्रान्सका डिफेन्डर लुकास डिनले फल गरेपछि रेफ्री इभानले पेनाल्टी दिएका थिए । मिकेल ओयरजाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

‘धेरै कुरा भनेँ भने हारको बहानाजस्तो लाग्छ । म तपाईंहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु– के रेफ्री साँच्चै विश्वकपको सेमिफाइनल खेलाउन योग्य थिए ?’ डिडिएरले भने, ‘यहाँ पेनाल्टीको मात्रै विषय उठान गर्न खोजिएको होइन । यसबाहेक पनि धेरै निर्णय थिए । रेफ्रीसँग मेरो व्यक्तिगत कुनै समस्या छैन ।’ यद्यपि, उनले रेफ्रीको निर्णयमाथि औँला उठाए पनि फ्रान्स आफ्नै गल्ती र कमजोरीका कारण पराजित भएको स्विकारेका छन् । ‘हामीसँग जित्ने आशा राख्ने हो भने उत्कृष्ट प्रदर्शन गर्नैपर्थ्यो, तर दुर्भाग्यवश त्यो स्तरमा पुग्न सकेनौँ,’ उनले भने । प्रशिक्षक डिडिएरले स्पेनले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘स्पेनले असाध्यै राम्रो रक्षात्मक खेल खेल्यो । उनीहरूले हामीलाई निकै कम ठाउँ दिए,’ उनले भने, ‘हामीले प्राविधिक गल्ती धेरै गर्यौँ । उनीहरूलाई समस्या दिनै सकेनौँ । अघिल्ला खेलहरूका तुलनामा हाम्रो प्राविधिक स्तर कमजोर रह्यो ।’

एम्बाप्पेलाई चित्त बुझेन प्रशिक्षकको रणनीति 
एम्बाप्पेले टोलीको रणनीति र प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन् । उनले विशेषगरी मिडफिल्डको लडाइँमा फ्रान्स कमजोर रहेको बताए । उनले प्रशिक्षकको रणनीतिमाथि प्रश्न उठाउँदै खेलाडीले पनि चाहेजस्तो खेल्न नसकेको बताए । ‘हाम्रो मिडफिल्डमा तीन खेलाडी थिए । स्पेनका दुइ मात्र । स्पेनजस्तो टोलीविरुद्ध त्यो निकै कठिन थियो । रोड्री र फाबियान रुइजले सजिलै खेल सञ्चालन गर्ने समय पाए,’ एम्बाप्पेले भने, ‘प्रेसिङमा समन्वयको कमी रह्यो । मेरो विचारमा हामीले खेलाडी–खेलाडीमा दबाब दिनुपर्थ्यो र उनीहरूलाई दौडिन बाध्य बनाउनुपर्थ्यो ।’ एम्बाप्पेले प्राविधिक र रणनीतिमा आफूले चाहेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार गरे । ‘हामीले चाहेजस्तो खेल खेल्न सकेनौँ, न प्राविधिक, न रणनीतिक रूपमा । विश्वकपको सेमिफाइनलमा गर्नुपर्ने काम गर्न सकिएन भने जित्न सकिँदैन,’ उनले भने ।

See More On

सुझावित समाचार