हालै न्युजिल्यान्डमा आयोजित विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा न्युजिल्यान्डका एक स्थानीय पत्रकारले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमणका क्रममा किन पत्रकार सम्मेलन नगरेको भनी जिज्ञासा राखे । विदेश मन्त्रालयका अधिकारी रुदेन्द्र टन्डनले यसको जवाफ दिने काम आफ्नो नभएको बताए तापनि अन्ततः उनी यस विषयमा मुख खोल्न बाध्य भए र मोदी राजनीतिक सञ्चारमा सदैव खुला भएको भन्दै उनको बचाउ गरे । मोदीलाई ‘एक विशुद्ध भारतीय राजनीतिज्ञ’को संज्ञा दिँदै टन्डनले मोदीले ‘बिचौलियामार्फत’ कुरा गर्नभन्दा मतदातासँग प्रत्यक्ष संवाद गर्न रुचाउने दाबी गरे ।
‘तपाईंले यो कुरा याद राख्नुपर्छ कि भारतीय मतदाता मुख्यतया ग्रामीण क्षेत्रका मानिस हुन्, जो नेतृत्वसँग प्रत्यक्ष सम्पर्क चाहन्छन् । उनीहरू आफूलाई होच्याउने वा मध्यस्थकर्तामार्फत गरिने कुराकानी कत्ति मन पराउँदैनन्,’ ती कूटनीतिज्ञले भने । मोदीको भ्रमणबारे समाचार दिँदै एक अस्ट्रेलियाली पत्रकारले प्रत्यक्ष प्रसारणमा भने, ‘अस्ट्रेलियाली प्रधानमन्त्रीे अल्बानिजसँगको भ्रमणका क्रममा नरेन्द्र मोदीको जति नजिक हामी पुग्न सक्छौँ, यो त्यति नै नजिकको क्षण हो । उनी (मोदी) पहिले नै तयार पारिएका वा योजनाबद्ध कार्यक्रममा उपस्थित हुन रुचाउँछन् । तर, पूर्वनिर्धारित स्क्रिप्टविना गरिने पत्रकार सम्मेलनबाट टाढै रहन्छन् ।’ विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत १८० देशमध्ये १५७औँ स्थानमा छ र प्रधानमन्त्रीको पद सम्हालेको १२ वर्षभन्दा बढी समय बितिसक्दा पनि नरेन्द्र मोदीले भारतमा एउटा पनि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छैनन् ।
यस वर्षको सुरुमा मोदीको युरोप भ्रमणका क्रममा उठेका प्रश्नसँगै मिल्दाजुल्दा प्रश्न यसपटक पनि दोहोरिए । भारतीय प्रधानमन्त्रीले आफ्ना समकक्षीसँगै किन पूर्वनिर्धारित प्रश्नको सामना गरेनन् भन्दै नर्वे र नेदरल्यान्ड्सका पत्रकारले सार्वजनिक रूपमै प्रश्न उठाए । ‘विश्व प्रेस स्वतन्त्रता सूचकांक’मा शीर्ष स्थानमा रहेको राष्ट्रको तर्फबाट प्रश्न सोधेकोमा मोदी सरकारका समर्थकको आक्रोश र ट्रोलको सिकार भएकी नर्वेकी पत्रकार हेले लिङले पनि यस विषयमा टिप्पणी गरिन् । उनले मोदीले किन पत्रकार सम्मेलन गरेनन् भन्ने कुरामा विश्वको ध्यान केन्द्रित हुनुलाई यसको एउटा संकेतका रूपमा हेरिन् ।
‘भारतमा घट्दो प्रेस स्वतन्त्रताबारे अन्य देशले पनि निरन्तर छलफल गरिरहेको देख्दा खुसी लागेको छ । नर्वे घटनापछि विश्वभरका सञ्चारकर्मीसँग ३० भन्दा बढी अन्तर्वार्ता लिने निर्णय गर्दा मेरो उद्देश्यको एउटा अंश यही थियो । न्युजिल्यान्ड र नर्वेजस्ता देशमा कार्यरत पत्रकारको काँधमा राज्य प्रमुखको भ्रमणका वेला विशेष जिम्मेवारी हुन्छ । साना देशले पनि योगदान पुर्याउन र परिवर्तन ल्याउन सक्छन् । केही भारतीयले यसलाई महत्वपूर्ण ठानेकोमा म खुसी छु । यसैले गर्दा यो महत्वपूर्ण बनेको हो,’ उनले भनिन् ।
लिङले सोधिन्, ‘के यसको अर्थ प्रधानमन्त्रीले सामान्यतया मानिसलाई उनीहरूको दैनिक जीवनका समस्याबारे प्रश्नको जवाफ दिन टाउन हल सेटिङमा भेट्नुहुन्छ ? मैले उनलाई ककरोच जनता पार्टीसँग प्रत्यक्ष रूपमा संलग्न भएको देखेको छैन, जुन एक ग्रासरुट आन्दोलन हो । यदि म गलत छु भने मलाई सच्याउनुहोस् ।’ विदेश मन्त्रालय पुनः आलोचनाको घेरामा परेको छ । यद्यपि, यो आलोचना मन्त्रालयका अधिकारी सिबी जर्जले पत्रकार सम्मेलनमा भारतीय संस्कृति, शून्य र योगबारे गरेको प्रस्तुति (जुन पछि निकै चर्चा र मिमको विषय बनेको थियो) को वेलाजस्तो व्यापक भने छैन । तैपनि, भारतका ग्रामीण भेगका मानिस जवाफदेहिता चाहँदैनन् भन्ने भनाइ र विदेश सेवाका अधिकारीले यस्ता किसिमका टिप्पणी गर्नु कत्तिको उचित हो भन्ने विषयमा अहिले आक्रोश देखिएको छ ।
विपक्षी कांग्रेस पार्टीका पवन खेराकको बुझाइमा ‘प्रशासकले बहालवाला सरकारको सेवा गर्ने भए पनि ती कूटनीतिज्ञको स्पष्टीकरण ‘लोकतान्त्रिक रूपमा बचाउ गर्न लायक नभएको’ तर्क गरे । अस्ट्रेलियाको स्काई न्युजले मेलबर्नको मार्बल स्टेडियममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भिक्टोरियाकी प्रिमियर जसिन्टा एलनको उपस्थितिमा नरेन्द्र मोदीद्वारा आयोजित प्रवासीहरूको विशाल भेलाको आलोचना गर्दै भनेको छ, ‘यो कूटनीति होइन, यो राजनीति हो, त्यो पनि अस्ट्रेलियाका करदाताको खर्चमा ।’ कार्यक्रम प्रस्तोता डानिका डी जर्जियोले अल्बानिजमाथि कटाक्ष गर्दै उनी मोदीसँग ‘छालाको दाद’ झैँ टाँसिएर बसेको टिप्पणी गरिन् ।
उक्त संस्थाले सो भेटघाटको आलोचना गर्दै यसलाई मध्य–वामपन्थी सत्ताधारी दललाई भारतीय मूलका आप्रवासीसँग नजिक ल्याउने प्रयासको रूपमा चित्रण गर्यो । संस्थाले अस्ट्रेलियालीलाई उनीहरूकै देशमा स्वागत गरेकोमा मोदीको र भारतीय मूलका अस्ट्रेलियाली नागरिकको उद्गम स्थलको संस्कृति झल्किने कार्यक्रममा सहभागी भएकोमा अल्बानिजको कडा आलोचना गर्यो । संयोगवश, भारत भ्रमणका क्रममा नरेन्द्र मोदीसँगै नरेन्द्र मोदी स्टेडियमको परिक्रमा गर्दा पनि अल्बानिजको निकै खिल्ली उडाइएको थियो र उनीमाथि प्रश्न उठाइएको थियो ।
सन् २०१९ मा ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा मोदीले सार्वजनिक रूपमै ‘अबकी बार, ट्रम्प सरकार’ (यसपटक ट्रम्पको सरकार) को आह्वान गरेका थिए । अमेरिकी राजनीतिमा यसरी प्रत्यक्ष संलग्न भएकोमा उक्त कदमको निकै आलोचना भयो । मोदीले त्यस्तो आह्वान गरेको केही सातामै भएको निर्वाचनमा ट्रम्प पराजित भए र जो बाइडेन निर्वाचित भए । आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले भारतप्रति पटक–पटक अपमानजनक व्यवहार देखाएकाले अहिले केवल मोदीको मौनतामाथि मात्र प्रश्न उठेको छैन, बरु ट्रम्पका लागि गरिएको प्रचारप्रसारबाट भारतले कुनै लाभ पनि प्राप्त नगरेको तथ्यमाथि पनि प्रश्न खडा भएको छ ।
द वायरबाट