पहिलोपटक ‘टप फोर र्‍यांकिङ’ टिम सेमिफाइनलमा

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप इतिहासमा पहिलोपटक ‘टप फोर र्यांकिङ’ टिम सेमिफाइनलमा पुगेका छन् । आइतबारको खेलसँगै फिफाको वरीयताअनुसार फ्रान्स पहिलो, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो तथा इंग्ल्यान्ड चौथो स्थानमा छन् । फिफाको आधिकारिक वरीयताको घोषणा भने १५ जुलाईमा हुनेछ । विश्वकपअघि अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा थिए । 

फिफाले यी शीर्ष चारबिच समूह चरणमै प्रतिस्पर्धा नहोस् भनेर समूह विभाजन गरेको थियो । सोहीअनुसार नै यी चारै टिम अगाडि बढेका थिए । समूह विभाजनसँगै स्पेन र अर्जेन्टिनाको भेट फाइनलमा मात्रै हुने तय थियो । फिफाले प्रतिस्पर्धी सन्तुलन बनाउन यस्तो निर्णय गरेको बताएको थियो । यससँगै फ्रान्स र स्पेनबिच १५ जुलाई तथा इंग्ल्यान्ड र अर्जेन्टिनाबिच १६ जुलाईमा सेमिफाइनल खेल हुनेछ । सन् १९९४ बाट फिफा वरीयता सुरु गरिएको थियो । सन् १९९८ पछि कुनै पनि शीर्ष चार टिम सेमिफाइनलमा पुगेका छैनन् । 

फ्रान्स 
स्टार खेलाडी केलियन एम्बाप्पे कप्तान रहेको फ्रान्सले लगातार तेस्रोपटक सेमिफाइनलमा स्थान बनाएको छ । फ्रान्स १९९८ र २०१८ मा टिम च्याम्पियन बनेको थियो । २०२२ मा फाइनल पुगेर पनि पराजित भएको टोली यसपटक तेस्रोपटक उपाधि जित्ने योजनामा छ । एम्बाप्पेको आठ तथा औसमाने डेम्बेलेको पाँच गोलसँगै फ्रान्सले प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको छ । प्रतियोगितामा अपराजित उसले पहिलो खेलमा सेनेगललाई ३–१, इराकलाई ३–०, नर्वेलाई ४–१, स्विडेनलाई ३–०, पाराग्वेलाई १–० र मोरोक्कोलाई २–० ले हराएको थियो ।

अर्जेन्टिना 
अर्जेन्टिना पाँचौँपटक सेमिफाइनलमा पुगेको हो । सन् १९७८, १९८६ र २०२२ मा उपाधि जित्दा टिम सेमिफाइनलमा पुगेको थियो । त्यस्तै, सन् १९९० र २०१४ पनि सेमिफाइनल पुग्दा पनि टिम अन्तिम चारमा हारेको रेकर्ड छैन । औसत प्रदर्शनपछि वरीयतामा एक स्थान तल झरेको अर्जेन्टिना उपाधि रक्षा गर्ने अभियानमा छ । टोली लगातार तीन खेलमा कठिन जित निकाल्न सफल भयो । ३९ वर्षीय कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार बिहान भएको खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले हराएको हो । अन्तिम १६ मा इजिप्ट र अन्तिम ३२ मा केप भर्डेलाई समान ३–२ ले हरायो । त्यसअघि समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० तथा जोर्डनलाई ३–१ ले पराजित गरेको थियो । 

स्पेन 
स्पेन सन् २०१० पछि दोस्रोपटक च्याम्पियन बन्ने योजनामा छ । त्यसका लागि उसले प्रतियोगितामै सर्वाेत्कृष्ट प्रदर्शन गरिरहेको फ्रान्सको चुनौती पाखा लगाउनुपर्नेछ । सन् १९५० मा चौथो स्थानसहित टोलीले तेस्रोपटक सेमिफाइनलमा स्थान बनाएको हो । कप्तान रोड्री, लामिन यमल, मिकल ओयरजाबाल, एलेक्स बाइना, डानी ओल्मोले अग्रपंक्तिमा सानदार प्रदर्शन गरिरहेका छन् । टोली सेमिफाइनलसम्म पुग्दा गोलकिपर उनाई सिमोनले मात्र एक गोल बेहोरे । पहिलो खेलमा केप भर्डेसँग अप्रत्याशित रूपमा गोलरहित बराबरीमा रोकिएको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–०, अस्ट्रियालाई ३–०, पोर्चुगललाई १–० तथा बेल्जियमलाई २–१ ले हराएको हो । 

इंग्ल्यान्ड
ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डले विश्वकपमा सानदार प्रदर्शन गर्दै सेमिफाइनल तय गर्यो । टोली सन् १९६६ पछि पहिलोपटक उपाधि जित्ने योजनामा छ । सन् १९९० र २०१८ मा चौथो स्थान हासिल गर्न सफल भएको थियो । टोली चौथोपटक सेमिफाइनलमा पुग्दा कप्तान केन र जुड वेलिंघमले सानदार प्रदर्शन गर्दै समान ६ गोल गरिसकेका छन् । नर्वेलाई २–१ ले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो । त्यसअघि उसले मेक्सिकोलाई ३–२, कंगोलाई २–१, पानामालाई २–०, क्रोएसियालाई ४–२ तथा घानासँग गोलरहित बराबरी खेलेको थियो ।

सुझावित समाचार