लिटल फ्लावर प्राइड लिग : एरिस्टो, शुक्लाफाँटा र खप्तड इन्डोर विजयी

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण


धनगढी/ धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी १०औँ संस्करणको लिटल फ्लावर प्राइड लिगअन्तर्गत आइतबार भएका खेलमा एरिस्टो मावि धनगढी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र खप्तड इन्डोर स्पोर्टस् सेन्टर विजयी भएका छन्।

पहिलो खेलमा एरिस्टो माविले चेतना पाठशालालाई ५८ रनले पराजित गरेको छ। एरिस्टोले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको चेतना पाठशाला १२.१ ओभरमा ५४ रनमै अलआउट भयो। टस जितेर पहिले ब्याटिङ गरेको एरिस्टोले १२.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो।

दोस्रो खेलमा शुक्लाफाँटा नगरपालिकाले धनगढी योद्धाजलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। शुक्लाफाँटाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाज १३.५ ओभरमा ९९ रनमा अलआउट भयो। टस जितेर पहिले ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित १५ ओभरमा आठ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो।

आइतबार भएको तेस्रो खेलमा खप्तड इन्डोर स्पोर्टस् सेन्टर कञ्चनपुरले भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरलाई १० रनले पराजित गरेको छ। खप्तड इन्डोरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले निर्धारित १५ ओभरमा आठ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको खप्तड इन्डोरले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो।

असोज २१ गतेसम्म सञ्चालन हुने यो सिनियर टी–२० क्रिकेट प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा देशभरका १५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सुझावित समाचार