विश्वविजेता मोइन अली जनकपुर बोल्ट्समा

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण
  • इंग्ल्यान्डलाई सन् २०१९ मा एकदिवसीय र सन् २०२२ मा टी–२० विश्वकप उपाधि दिलाएका मोइन अलीले तेस्रो एनपिएलमा जनकपुरबाट प्रतिस्पर्धा गर्ने 

जनकपुर बोल्ट्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर तथा दुईपटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्र्याएको थियो ।

त्यसपछि न्युजिल्यान्डका अलराउन्डर जिमी निसम र पाकिस्तानका ब्याट्सम्यान इफ्तिखार अहमदलाई अनुबन्ध गरेको थियो ।

अलीले नेपाली क्रिकेटको माहोल आफैँ अनुभव गर्न आतुर रहेको सोसल मिडियामा बताएका छन् । ‘नेपाली क्रिकेट समर्थकको अपार जोस र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु,’ अलीले भनेका छन्, ‘एनपिएलका माध्यमबाट अब त्यो माहोल आफैँ अनुभव गर्न आतुर छु ।’ उनले जनकपुरबाट प्रतिस्पर्धा गरिरहँदा तेस्रो एनपिएल सिजन रोमाञ्चक हुने विश्वास गरेका छन् । ‘म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,’ उनले भने ।

यसैगरी, जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेटप्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए । ‘इंग्ल्यान्डका विश्वचर्चित अलराउन्डर अलीको आगमन नेपाली क्रिकेट र एनपिएलको बढ्दो विश्वव्यापी पहिचान बन्नेमा विश्वस्त छु,’ खतिवडाले भने।

अली एकदिवसीय र टी–२० विश्वकप विजेता 
इंग्ल्यान्डका पूर्वखेलाडी अलीले एकदिवसीय तथा टी–२० विश्वकप जितेका छन् । उनी टोलीमा रहँदा बायाँहाते ब्याट्सम्यान र अफस्पिनका रूपमा रहेका थिए । पछिल्लो एक दशकको अवधिमा इंग्ल्यान्डको मध्यक्रम तथा स्पिनर पक्ष बलियो हुनुपछाडि अलीको योगदान ठुलो मानिन्थ्यो । उनले सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जितेका थिए ।

सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए । उनले करिअरमा इंग्ल्यान्डको टी–२० आई टोलीको कप्तानी गरेका थिए । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका अलीले प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर खेलिरहेका छन् । विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनले चेन्नई सुपर किंग्सबाट सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए ।

६८ टेस्ट, १३९ एकदिवसीय र ९२ टी–२० आई अनुभव
३८ वर्षीय अलीसँग तीनवटै फर्म्याट खेलेको अनुभव छ । उनले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी–२० आई खेले ।

यस क्रममा अलीले टेस्टमा तीन हजार ९४ रन र दुई सय चार विकेट लिएका छन् । एकदिवसीयमा उनले दुई हजार तीन सय ५५ रन र एक सय ११ विकेट हात पारेका छन् । यसैगरी, टी–२० आईमा उनले ५१ विकेटसँगै एक हजार दुई सय २९ रन जोडे । अलीले टेस्टमा पाँच शतक र १५ अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर एक सय ५५ रनको थियो । एकदिवसीयमा उनले उच्च स्कोर एक सय २८ र टी–२० आईमा ७२ रन बनाए । 

सुझावित समाचार