काठमाडौं/ आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृंखला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
आइतबार आयोजित बिदाइ समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
समारोहमा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडीहरू पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ को शृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले टोलीलाई सफलताको शुभकामना दिँदै उत्कृष्ट नतिजाका लागि बधाईसमेत दिएका छन्।
लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते पुनः क्यानडासँग तथा कात्तिक २ गते ओमानसँग खेल्ने तालिका छ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनसमेत यो शृंखला नेपालका लागि महत्वपूर्ण रहेको छ। त्यसैले आगामी खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण अंक जोड्ने लक्ष्य राखेको छ।