कतारमा भेट्ने वाचा गर्दै सकियो २०औँ एसियाड

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण


चार वर्षपछि कतारको दोहामा भेट्ने वाचासँगै जापानले तेस्रोपटक आयोजना गरेको २०औँ एसियाली खेलकुद (एसियाड) आइतबार सकिएको छ । २१औँ एसियाड सन् २०३० मा दोहामा हुनेछ ।

आयोजक जापानले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)लाई ओसिएको झन्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको छ । ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले झन्डा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई हस्तान्तरण गरे । 

जापानले यसपटक आइची र नागोया सहरमा एसियाड आयोजना गरेको हो । १६ दिनसम्म चलेको प्रतियोगितामा ११ हजारभन्दा बढी खेलाडी तथा अफिसियलले सहभागिता जनाएका थिए । नागोयास्थित मिजुह पार्कको एथलेटिक्स रंगशालामा विभिन्न सांस्कृतिक कार्यक्रमबिच समापन समारोह भएको थियो । आयोजक जापानले समापनमा सामान्य आतिसबाजी र नृत्य प्रस्तुत गरेको थियो । 

जापानको नायोगा र आइचीमा १६ दिनसम्म चलेको २०औँ संस्करणको एसियाडमा सहभागी वासस्थान, यातायात तथा भाषाको समस्या अनुभव बटुल्दै फर्किए

एसियाडमा चीनले पुनः आफ्नो अधिपत्य जमायो । सर्वाधिक १६९ स्वर्ण जित्दै चीन शीर्ष स्थानमा रह्यो । आयोजक जापान ८३ स्वर्णसहित दोस्रो स्थान रहँदा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ३९ स्वर्ण जित्यो । लगातार दोस्रोपटक दक्षिण एसियाली राष्ट्र भारतले चौथो स्थान हात पारेको छ । सन् २०२३ को हाङझाउको तुलनामा कमजोर प्रदर्शन गरेको भारतले चौथो स्थान रक्षा गर्न २१ स्वर्ण जितेको थियो । गत संस्करणमा स्वर्ण र कुल संख्या बढी थियो । प्रतियोगितामा नेपाल दुई कांस्यसहित ३६औँ स्थानमा रह्यो ।

कतारलाई दोस्रोपटक अवसर 
कतारले दोस्रोपटक एसियाली खेलकुद आयोजना गर्ने अवसर पाएको हो । यसअघि उसले सन् २००६ मा दोहामा पहिलोपटक महादेशीय खेलकुद आयोजना गरेको थियो । २० वर्षअघि कतारले ४५ देशका नौ हजार पाँच सय खेलाडी तथा अफिसियललाई स्वागत गरेको थियो । ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले एसियाली खेलकुदमार्फत एसियाका धेरै युवाको प्रेरणा बन्ने आशा व्यक्त गरे । ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले आइची नागोया एसियन गेम्सको आयोजक, जापानको ओलम्पिक कमिटी र जापान सरकारलाई पनि धन्यवाद दिए ।

विवादरहित भएन २०औँ संस्करण
तीन वर्षअघि तेस्रोपटक एसियाड आयोजनाको अवसर पाउँदा जापानले उत्कृष्ट र विवादरहित बनाउने घोषणा गरेको थियो, तर आफ्नो वाचा पूरा गर्न सकेन । विशेषगरी यसपटक एथलेटिक्स भिलेजका विषयमै विवाद सुरु भएको थियो । 

ओलम्पिक तथा एसियाडजस्तो बृहत् अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलले एथलेटिक्स भिलेजको व्यवस्था गरेको हुन्छ । तर, जापानले मितव्ययितता अपनाउँदै खेलाडीलाई इटालीबाट क्रुज झिकाएर बस्ने व्यवस्था गर्यो । केही खेलाडीलाई सामान्य होटेलमा व्यवस्था गरेको थियो । सहभागी अफिसियल कन्टेनरमा बस्न बाध्य भए ।

साथै यातायातमा पनि खेलाडी, अफिसियल तथा दर्शकले सास्ती भोगे । भाषामा पनि ठुलै समस्या देखिएको थियो । कतिपय भेन्युमा जापानले ट्रान्सलेटरको समेत व्यवस्था गरेन ।
जापानले ‘कोस्टा सेरेना’ क्रुज पानीजहाजमा सात हजार खेलाडी राखेको थियो ।

प्रतियोगिताको उद्घाटनअघि बास्केटबल र भलिबलका खेल सुरु भएका थिए । तर, ‘बेड’मा ६ फिटका बास्केटकबलका खेलाडीले सुत्न असहज भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए । स्थानीय आयोजकले जापानिज भाषा मात्रै बुझ्ने स्वयंसेवक राख्दा यातायातदेखि अन्य विषयमा जटिल भएको आरोप थियो । 

रजतको निरन्तरता रोकियो
नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको थियो । सन् २०१८ मा इन्डोनेसियाको जार्कातामा भएको १८औँ संस्करणमा प्याराग्लाइडिङ टिम इभेन्टमा नेपालले ऐतिहासिक रूपमा रजत जितेको थियो । सन् २०२३ मा कराँतेकी खेलाडी एरिका गुरुङले रजत दिलाइन् । हाङझाउमा कराँतेले पहिलोपटक एसियाडमा रजत हात पारेको थियो । 


यसपटकको प्रदर्शनलाई पछिल्ला संस्करणसँग तुलना गर्दा निराशाजनक देखिन्छ । नेपालले सन् १९९८ मा पहिलोपटक रजत हात पारेको थियो । तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक मुलुकलाई रजत दिलाएकी थिइन् । त्यसको २० वर्षपछि नेपालले दोस्रो चरण जित्यो । यसपटक भने नेपालका धेरै खेलाडी पहिलो वा दोस्रो चरणमै रोकिए । एथलेटिक्स र पौडीमा खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए । 

नेपाल दुई कांस्यमा सीमित
नेपालले तीन वर्षअघि नै जापानमा हुने एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राख्दै तयारी सुरु गरेको थियो । यसलाई ‘मिसन २०२६’ नाम दिइयो । यसमा सम्भावित पदक जित्ने खेलका खेलाडीलाई विभिन्न चरणमा प्रशिक्षणमा राखिएको थियो । तर, २०औँ एसियाड सकिँदा नेपाल दुई कांस्य पदकमै चित्त बुझाउँदै फर्किएको छ ।

यसपटक नेपालबाट २१ खेलका लागि २११ जनाको प्रतिनिधिमण्डल सहभागी भएको थियो, जसमा १३५ खेलाडी थिए । अधिकांश आशा गरिएका खेल र खेलाडीले पदक जित्न सकेनन् । ८४ केजीमाथि कराँतेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो कांस्य दिलाए । महिला कबड्डीले लगातार दोस्रोपटक कांस्य जित्यो । समग्रमा ‘मिसन २६’ असफल भएको देखिन्छ ।

null

सुझावित समाचार