अछाममा सवारी ज्यान मुद्दामा फरार दुईजना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुगु जिल्लाको खत्याड गाउँपालिका– ९ का चालक धनबहादुर सार्की र ट्याक्टरधनी खत्याड– १० का कर्णबहादुर बुढा रहेका छन्।
१९ माघ ०६५ सालमा अछामको साबिक दर्ना गाविस– २ र हालको बान्नीगढी जयगढ गाउँपालिका– ६ मा धनबहादुरले चलाएको लु.२त ८४९१ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए।
सवारीचालक अनुमतिपत्र नभएका सार्की घटनापछि फरार थिए । लामो समय लुकेर बसेका ३७ वर्षीय सार्की प्रहरीको २० वर्षे ‘पेन्डिङ’ मुद्दाको अनुसन्धानका क्रममा अछामको साँफेबगरस्थित छिपेखोलाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
उनका अनुसार सार्की हाल बाजुरा जिल्लामा एम्बुलेन्स चलाउँदै आएका छन् । एम्बुलेन्ससहित धनगढीबाट फर्किने क्रममा प्रहरीले सार्कीलाई छिपेखालाबाट नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेपश्चात् उनलाई जिल्ला अदालत अछामबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी खनालले बताए ।
सोही मुद्दामा फरार ट्याक्टरधनी ५३ वर्षीय बुढालाई भने अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको हो । सोमबार पक्राउ परेका बुढालाई पनि म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अछाममा अहिले पनि यही प्रकृतिका २० वर्षे ‘पेन्डिङ’ मुद्दाको संख्या ११ वटा छ ।
एक वर्षअघि २३ मुद्दा रहेकोमा अन्य योसहित १२ मुद्दा फर्स्याेट भइसकेका छन् । जसमा सवारी ज्यान, अन्य ज्यान मुद्दा, बलात्कार र भवितव्यसम्बन्धी उजुरी रहेका थिए । जसमा अहिलेसम्म जम्मा ६ जनालाई प्रहरी पक्राउ गरेर मुद्दा चलाएको छ।