नेपालमा डेंगु संक्रमण पुनः बढेको छ । पुसयता नौ महिनामा नेपालमा पाँच हजार २६८ जनामा डेंगु संक्रमण देखिएको छ । संक्रमणबाट तीनजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । साउन र भदौमा संक्रमणदर बढी देखिएको छ । साउनमा एक हजार २३८ र भदौमा एक हजार ११८ जनामा संक्रमण देखिएको छ । १६ असोजसम्म १८२ जनामा संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।
इडिसिडीको गत सोमबारसम्मको तथ्यांकअनुसार सबै सरकारी स्वास्थ्य संस्थामा जाँच गराउन आएका सक्रिय संक्रमितको संख्या ३४ छ । हाल डेंगु संक्रमण भएर अस्पतालमै भर्ना भएका बिरामी छैनन् । अस्पतालमा लक्षण बोकेर आएकामा जाँच गर्दा भने डेंगु देखिने गरेको छ । असोज लागेयता दैनिक औसतमा ३० देखि ३५ जनामा डेंगु पजिटिभ देखिएको छ । यो सरकारी अस्पतालको तथ्यांक हो । यसबाहेक अस्पतालबाहिर रहेका र निजी अस्पतालमा पनि उपचारका लागि पुगेका संक्रमितको तथ्यांक बढी हुन सक्ने अनुमान गरिएको छ । सरुवारोगमा काम गर्ने प्रमुख सरकारी निकाय इडिसिडीले निजी अस्पतालसँग समन्वय गरेर तथ्यांक व्यवस्थित गर्न सकेको छैन ।
हाल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३, लुम्बिनीमा ७, गण्डकीमा दुई, मधेशमा १०, कोशी र सुदूरपश्चिममा दुई–दुईजना छन् । कर्णालीमा भने संक्रमित नरहेको इडिसिडीले जनाएको छ । यसअघि चिसो सुरु भइसकेका वा बढी चिसो हुने जिल्लामा यसको संक्रमण रोकिइसकेको र गर्मी तथा चिसो हुने अवस्थाका जिल्लामा अझै डेंगु संक्रमण हुने गरेको छ । हालसम्म डेंगु संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । जसमा मधेश प्रदेशमा दुई र लुम्बिनीमा एकजना रहेको इडिसिडीले जनाएको छ ।
१७ पुस ०८२ देखि १५ असोज ०८३ सम्म देशका ७४ जिल्लाबाट पाँच हजार २६८ जनामा डेंगु संक्रमण देखिएको इडिसिडीका कीटजन्य रोग महाशाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए । हाल झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की, दाङलगायत जिल्लामा संक्रमण बढ्दै गएको छ । बागलुङको बागलुङ नगरपालिकामा एक हजार ३७, झापाको भद्रपुर नगरपालिकामा १२७, सुनसरीको इटहरी उपमहानगरपालिकामा ११९ र पोखरा महानगरपालिकामा २०५ जनामा डेंगु संक्रमण भएको छ । बागलुङ नगरपालिकामा इन्टिमोलोजिस्ट, रोग अनुसन्धान विज्ञ र प्रयोगशालाकर्मी टोली परिचालन गरिएको छ । डेंगु संक्रमण वर्षा र त्यसपछिको समयसम्म पनि बढ्ने भएकाले अझै सचेत हुनुपर्ने दाहालले बताए । उनले समुदायस्तरमा डेंगु सार्ने लामखुट्टेको वासस्थान तथा प्रजननस्थलको निरन्तर निगरानी र नष्ट गर्नुपर्ने बताए । कोशीमा ९३१, मधेशमा २२१, बागमतीमा ६९९, गण्डकीमा दुई हजार २५६, लुम्बिनीमा ८७३, कर्णालीमा १७८ र सुदूरपश्चिममा २२८ संक्रमण पुष्टि भएको छ ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले अझै पनि डेंगु संक्रमण दर बढ्ने समय बाँकी नै रहेकाले सचेत हुनुपर्ने बताए । ‘अब बिस्तारै मौसम चिसो त हुँदै जाला, तर अझै संक्रमण फैलिन सक्ने समय छ,’ उनले भने, ‘ध्यानै नदिँदा आउटब्रेक पनि हुन सक्छ, सरकारी निकायले त्यति ध्यान दिएको देखिँदैन, अस्पतालमा डेंगु संक्रमणका बिरामी आउने गरेका छन् ।’
कुन प्रदेशमा कति संक्रमण ?
- कोशी : ९३१
- मधेश : १३३
- बागमती : ६९९
- गण्डकी : २,२५६
- लुम्बिनी : ८७३
- कर्णाली : १७८
- सुदूरपश्चिम : २२८