१३ हजार जनसंख्या भएको नाउरुले औपनिवेशिक नाम बदलेर ‘नाओएरो’ बनाउँदै

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

विश्वको सबैभन्दा सानो गणतान्त्रिक राष्ट्र नाउरुले आफ्नो नाम बदलेर ‘नाओएरो’ राख्ने तयारी सुरु गरेको छ । यस परिवर्तनले ‘हाम्रो देशको सम्पदा, हाम्रो भाषा र हाम्रो पहिचानलाई थप इमानदारीपूर्वक व्यक्त गर्नेछ,’ नाउरुका राष्ट्रपति डेभिड अडेएङले गत जनवरीमै संसद्मा सम्बोधन गर्दै भनेका थिए ।

नाउरुको संसद्ले हालै देशको नाम परिवर्तन गर्ने सम्बन्धमा पेस गरिएको प्रस्ताव निर्विरोध पारित गरेको छ । १३ हजार जनसंख्या भएको यो २१ वर्ग किलोमिटरको सानो टापुराष्ट्रले यस परिवर्तनलाई औपचारिक बनाउने विषयमा अब जनमत संग्रह गर्नेछ । 

विगतमा औपनिवेशिक शासकको जिब्रोले सहज उच्चारण गर्न नसकेपछि नाउरुवासीले बोल्ने भाषाको ‘नाओएरो’लाई नाउरु उच्चारण गर्न थालिएको थियो । पछि यसैलाई आधिकारिक नाम राखियो । ‘अहिलेको देशको नाम हामीले रोजेका होइनौँ, बाहिरका मानिसका सुविधाका लागि यसलाई परिवर्तन गरिएको थियो,’ राष्ट्रपतिले जनवरीमा सम्बोधनका क्रममा भनका थिए ।

अस्ट्रेलियाबाट करिब तीन हजार किलोमिटर उत्तरपूर्वमा अवस्थित यो दुर्गम टापुदेशमा सन् १७९८ मा पहिलोपटक युरोपेली पुगेका थिए (एक ब्रिटिस नाविक) । पछि सन् १८८८ मा जर्मनीले टापुलाई आफ्नो कब्जामा लियो र यसलाई ‘नाउरु’ नामले बोलाउन थाल्यो । सन् १९१९ मा ‘लिग अफ नेसन्स’ले यसलाई अस्ट्रेलियाको नियन्त्रणअन्तर्गत राख्यो, जसले जर्मनीले राखिदिएको नाम नै कायम राख्यो । सन् १९६८ मा स्वतन्त्रतापछि भने नाम परिवर्तनबारे पटक–पटक बहस भए पनि हालसम्म कार्यान्वयन हुन सकेको थिएन । 

‘नाओएरो’ नामको पक्षमा बहस गर्ने क्रममा त्यहाँको सरकारले पछिल्लो समय नाम बदलेका देश ‘टर्किए’ (पहिले टर्की) र ‘इस्वातिनी’ (स्वाजिल्यान्ड) उदाहरण पेस गरिरहेका छ । विगतमा अन्य धेरै अफ्रिकी र एसियाली देशले स्थानीय भाषालाई राम्रोसँग प्रतिबिम्बित गर्न र विगतको औपनिवेशिक नाम त्याग्न नाम बदलेका छन् । 

विद्वान्हरूका अनुसार उपनिवेशकालको स्थानीय नाम परिवर्तनको उद्देश्य उच्चारण सहज पार्ने मात्र थिएन । अमेरिकाको एभरग्रिन स्टेट कलेजमा भूगोल र मूल अमेरिकी अध्ययनका प्राध्यापक जोल्टन ग्रोसम्यानका अनुसार स्थानीयले प्रयोग गरिरहेको नाम परिवर्तन खासमा औपनिवेशिक शक्तिको प्रदर्शनको हिस्सा थियो । 
‘मूल बासिन्दाको उपस्थिति मेटाउन पहिले नाम बदल्ने अभ्यास व्यापक थियो । यो अभ्यास खाली नाम परिवर्तनसँग मात्र सीमित थिएन । खासमा नाम परिवर्तन गर्ने शक्ति कोसँग छ भन्ने शक्ति प्रदर्शनसँग सम्बन्धित थियो,’ ग्रोसम्यानले भने । 

पुराना स्थानीय नामको नक्सांकन र दस्ताबेजीकरण गर्ने परियोजना ‘डि–कोलोनियल एट्लस’का संस्थापक जोर्डन एंगेलका अनुसार पछिल्लो समय औपनिवेशिक कालमा बदलिएको स्थानीय नाम पुनर्स्थापित गर्ने चलनले ‘गति’ लिएको छ । ‘यो अभ्यास आत्मनिर्णयको सबैभन्दा आधारभूत अभिव्यक्ति हो । आफ्नो पुर्खाहरूले राखेको नाम पुनः प्रयोग गर्न सक्षम हुनुलाई गर्वका रूपमा हेरिन थालिएको छ,’ एंगेल भन्छन् । 
 

See More On

सुझावित समाचार