२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले भाग लिनेछन् । समूह चरणदेखि फाइनलसम्म १०४ खेल हुनेछन् । विश्वकपमा सहभागी राष्ट्रहरूको लक्ष्य नै विश्व च्याम्पियन बन्ने हो । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा चार नयाँ राष्ट्रले डेब्यु गर्नेछन् । विश्वकपमा सहभागी चार डेब्युबाहेक ६ राष्ट्र अहिलेसम्म जितविहीन छन् । समग्रमा आसन्न विश्वकपमा १० राष्ट्रहरूले पहिलो जित निकाल्ने योजनामा छन् ।
१. क्यानडा : क्यानडा विश्वकपको सहआयोजक राष्ट्र हो । क्यानडाले दुईपटक विश्वकपको अनुभव बटुलिसकेको छ । तर, क्यानडाले अहिलेसम्म एक जित पनि निकाल्न सकेको छैन । सन् २०२२ को कतार विश्वकपमा क्यानडाले ३६ वर्षपछि स्थान बनाएको थियो । सन् १०९६ मा पहिलोपटक विश्वकप खेलेको क्यानडाले दोस्रोपटक खेल्न साढे तीन दशक प्रतीक्षा गर्यो । यद्यपि, दुईवटा विश्वकप खेलेको क्यानडा जितविहीन छ । अहिले घरेलु मैदानमा हुने विश्वकपमा उसले ऐतिहासिक जित निकाल्ने अपेक्षा राखेको छ । समग्रमा क्यानडाले विश्वकपमा ६ खेल गुमाएको छ । क्यानडाको फुटबल इतिहासमा अल्फोनो डेभिसले विश्वकपमा राष्ट्रका लागि पहिलो गोल गरेका थिए । यसपटक क्यानडाले बोस्निया हजगोभिना, कतार र स्विट्जरल्यान्डसँग खेल्नेछ ।
२. इराक : इराकले दोस्रोपटक विश्वकपमा स्थान सुरक्षित गर्न ठ्याक्कै ४० वर्ष प्रतीक्षा गर्यो । सन् १९८६ मा इराकले डेब्यु गरेको थियो । मेक्सिकोमा भएको विश्वकपमा एसियाली राष्ट्र इराक जितविहीन भयो । यद्यपि, सो विश्वकपमा इराकले बराबरी खेल्दै एक अंक बटुलेको थियो । योपटक इराकले विश्वकपका लागि राम्रो तयारी गरेको छ । इराक कम्तीमा एक जितका साथ अमेरिकामा इतिहास रच्ने लक्ष्यमा छ । तर, इराकलाई जित निकाल्न सहज छैन । उसले पूर्वविजेता फ्रान्स, नर्वे तथा सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । फ्रान्स साबिक उपविजेतासमेत हो । नर्वे युरोपियन तथा सेनेगल अफ्रिकी महादेशकै बलिया राष्ट्र हुन् । इराक फुटबल महासंघले अमेरिकामा तीन अंक जोड्नु नै पहिलो लक्ष्य भएको जनाएको छ ।
३. इजिप्ट : अफ्रिकी महादेशको राम्रो फुटबल खेल्ने राष्ट्रमा इजिप्ट पर्छ । अझ मोहमद सलाहजस्ता विश्वस्तरीय खेलाडीको साथ रहँदा इजिप्टले २३औँ विश्वकपमा इतिहास बनाउने लक्ष्य बनाएको छ । यद्यपि, इजिप्ट विश्वकपमा जितविहीन छ । सन् १९९० को विश्वकपमा इजिप्टले त्यसवेला आयरल्यान्ड तथा नेदरल्यान्ड्सलाई लगभग हराइसकेको थियो । तर, विश्वकपमा अनुभव नहुँदा इजिप्टले खेल गुमायो । गत संस्करणको कतार विश्वकपमा पनि जितनजिक पुगेको इजिप्ट यसपटक जितका साथ घर फर्किने लक्ष्य राखेको छ । यसमा इंग्लिस प्रिमियर लिगमा चम्केका सलाहको योगदान प्रमुख मानिनेछ ।
४. न्युजिल्यान्ड : आसन्न न्युजिल्यान्डमा न्युजिल्यान्डलाई कमजोर राष्ट्रका रूपमा हेरिएको छ । तर, छनोट चरण पार गरी विश्वकपको स्थान बनाएको न्युजिल्यान्डलाई कमजोर लिन मिल्दैन । फेरि न्युजिल्यान्डको प्रमुख लक्ष्य नै जित निकाल्नु नै हो । सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको थियो । इटाली, पाराग्वे तथा स्लोभाकियाविरुद्ध अन्तिमसमयसम्म न्युजिल्यान्डले भिडेको थियो । उसले तीनवटै शक्तिशाली राष्ट्रलाई बराबरीमा रोकेको थियो । बराबरी नतिजा निकाले पनि न्युजिल्यान्ड सो विश्वकपमा जितको हकदार राष्ट्र थियो । १६ वर्षपछि विश्वकपमा फर्किएको न्युजिल्यान्डले समूह ‘जी’मा बेल्जियम, इजिप्ट र इरानको सामना गर्नेछ ।
५. हैटी : विश्वकपमा हैटीको दोस्रो सहभागिता हो । हैटीले पहिलोपटक सन् १९७४ मा विश्वकपमा स्थान बनाएको थियो । क्यारिबियन राष्ट्रले लगभग पाँच दशकपछि विश्वकपमा स्थान बनाउन इतिहास बनाउने योजना बनाएको छ । छनोट चरणमा कडा प्रतिद्वन्द्वीलाई पाखा लगाएर ५० वर्षपछि विश्वकपको टिकट पक्का पारेको हैटीलाई जित निकाल्न त्यति सहज भने हुनेछैन । उसले समूह ‘सी’मा पाँचपटकको विजेता ब्राजिल, मोरक्को तथा स्कटल्यान्डको सामना गर्नुपर्ने हुन्छ । तर, फुटबलको सबैभन्दा ठुलो स्पर्धामा हैटी सनसनी नतिजा निकाल्न तयार छ ।
६. कतार : सन् २०२२ मा कतार आयोजक राष्ट्रका रूपमा विश्वकपमा डेब्यु गरेको थियो । घरेल् ुमैदानमा भएको विश्वकपमा कतारले समर्थकलाई खुसी पार्न सकेन । तर, २७० मिनेटको प्रतिस्पर्धामा कतारले विपक्षीलाई दबाबमा राखेको थियो । चार वर्षअघि तीनवटै खेल गुमाएको कतारले २३औँ संस्करणमा जित निकाल्ने दाबीका साथ तयारी गरेको छ । यसपटक छनोट चरण पार गरी विश्वकप खेल्दा कतारको मनोबल उच्च छ । कतारले आफ्नो समूहमा स्विजट्रल्यान्ड, क्यानडा तथा बोस्निया हजगोभिनाविरुद्ध खेल्नेछ । पछिल्लो समयमा फुटबलमा राम्रो लगानी गरेको कतारले विश्वकपको तयारी सूक्ष्म रूपमा गरेको छ ।
७. उज्वेकिस्तान : एसियाली राष्ट्र उज्वेकिस्तानको यो पहिलो विश्वकप हो । डेब्यु विश्वकपमा उज्वेकिस्तानको लक्ष्य पनि जित नै हुनेछ । उज्वेकिस्तानका प्रशिक्षक इटालीका पूर्वविश्वकप विजेता कप्तान फाबियो कानाभारो हुन् । यस टोलीमा म्यानचेस्टर सिटीका डिफेन्डर अब्दुकदिर खुसानोभजस्ता राम्रा खेलाडी छन । उज्वेकिस्तानले आफ्नो समूहमा पोर्चुगल, कोलम्बिया र डिआर कंगोसँग खेल्नेछ ।
८. कुरासाओ : क्यारेबियन क्षेत्रको एउटा सानो टापु राष्ट्र कुरासाओको पनि डेब्यु विश्वकप हो । विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो देश राष्ट्रका रूपमा कुरासाओ हो । उसको जनसंख्या १ लाख ५० हजार मात्र छ । समूह ‘इ’ उसले जर्मनी, आइभोरी कोस्ट र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।
९. केप भर्डे : अफ्रिकी महादेशको यो राष्ट्र १० वटा टापुहरूको समूह हो । केप भर्डेले अफ्रिकाको हस्ती मानिने क्यामरुनलाई पछि पार्दै विश्वकपमा पहिलोपटक स्थान बनाएको हो । उसले अब समूह ‘एच’मा पूर्वविजेता स्पेन, साउदी अरब र उरुग्वेको सामना गर्नेछ ।
१०. जोर्डन : यसपटक एसियाली राष्ट्रबाट डेब्यु गर्ने अर्को राष्ट्र जोर्डन हो । जोर्डनले सन् २०२३ को एसिया कपको फाइनलसम्म पुगेर इतिहास रचेको थियो । जोर्डन अहिले विश्व वरीयताको ६४औँ स्थानमा छ । समूह ‘जे’मा जोर्डनले अर्जेन्टिना, अल्जेरिया र अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ ।