इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र घरेलु टोली गुजरात टाइटन्स (जिटी)बिच प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ । फाइनल जित्न दुवै टोलीले आफूहरू तयार भएको बताएका छन् । दुवै टोली दोस्रोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन् । यसअघि पहिलो क्वालिफायर्समा गुजरात टाइटन्सलाई नै ९२ रनले पराजित गर्दै आरसिबी लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । गुजरातले दोस्रो क्वालिफायर्समा कप्तान गिलको शतकसँगै राजस्थान रोयल्सलाई ७ विकेटले हराएको थियो ।
रजत पाटिदारको कप्तानीमा आरसिबी लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । सन् २०२५ मा आरसिबी पहिलोपटक च्याम्पियन बनेको हो । एक लाखमाथि दर्शकमाझ नरेन्द्र मोदी रंगशालामा आरसिबीले दिल्ली क्यापिटल्सलाई ६ रनले पराजित गर्दै इतिहास बनाएको थियो । यता, शुभमन गिलको कप्तानीमा रहेका गुजरात पनि दोस्रोपटक उपाधि उचाल्ने योजनामा छ । गुजरातले सन् २०२२ मा पहिलो अवसरमै उपाधि उचालेको थियो । हार्दिक पान्ड्याको कप्तानीमा तत्कालीन समय गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
ओरेन्ज क्यापमा सूर्यवंशी, गिल र सुदर्शनको दाबी
आइपिएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडीलाई ओरेन्ज क्याम्प दिने परम्परा रहेको छ । यसपटक ओरेन्ज क्याम्पका लागि तीन खेलाडीले दाबेदारी प्रस्तुत गरेका छन् । सबैभन्दा अगाडि युवा स्टार वैभव सूर्यवंशी, दोस्रोमा शुभमन गिल र तेस्रोमा साई सुदर्शनले गरेका छन् । राजस्थान रोयल्सका सूर्यवंशीले सबैभन्दा धेरै ७७८ रन बनाएका छन् ।
१५ वर्षीय खेलाडी यो आइपिएलमा लगातार तीनपटक शतकनजिक रहे । तर, शतक बनाउन भने चुके । लखनउविरुद्ध ९३, हैदराबादविरुद्ध ९७ र गुजरातविरुद्ध ९६ रन बनाएका हुन् । उनको स्ट्राइकरेट नै २३७.३० रहेको छ । दोस्रो स्थानमा रहेका गिलले ७२२ रन बनाएका छन् । गिलले दोस्रो क्वालिफायर्समा शतक बनाएपछि आफ्नै क्लबका सुदर्शनलाई पछि पारेका हुन् । तेस्रो स्थानमा थकेलिएका सुदर्शनले ७१० रन बनाएका छन् । फाइनल खेलबाट सूर्यवंशी बाहिर भइसकेका छन् । अब, फाइनलमा उपाधिसँगै गिल र सुदर्शनको ध्यान ओरेन्ज क्याम्पमा पनि हुनेछ ।
चेन्नई र मुम्बई समान पाँचपटकको च्याम्पियन
आइपिएलको इतिहासमा सर्वाधिक सफल टिम चेन्नई र मुम्बई हुन् । दुवै टोली समान पाँचपटक च्याम्पियन भएका छन् । त्यस्तै, कोलकाता नाइट राइडर्सले तीनपटक उपाधि जित्दा राजस्थान रोयल्स, सन्राइजर्स हैदराबाद, डेकन चार्जर्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुले समान एकपटक उपाधि उचालेका छन् ।
राबाडा पर्पल क्यापका लागि अगाडि
ब्याटरजस्तै आइपिएलमा धेरै विकेट लिने खेलाडीलाई पर्पल क्याप दिने प्रचलन छ । यो आइपिएलको मध्यभागसम्म भुवनेश्वर कुमार पर्पल क्यापको दाबेदारमा एक्ला थिए । तर, खेल अन्त्यतर्फ जाँदा उनी दाबेदारीबाट पछि परेका छन् । दक्षिण अफ्रिकाका तीव्रगतिका बलर कागिसो रवाडा पर्पल क्यापको दाबेदारीमा सबैभन्दा अगाडि देखिएका छन् । गुजरातबाट खेलिरहेका रबडाले १६ खेलमा सबैभन्दा धेरै २८ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका आरसिबीका भुवनेश्वरले २६ विकेट लिएका छन् । तेस्रो स्थानमा राजस्थानका जोफ्रा आर्चरले २५ विकेट लिएका छन् । अब, फाइनलमा रबडा र भुवनेश्वरबिच उपाधिसँगै पर्पल क्यापका लागि समेत प्रतिस्पर्धा हुनेछ ।
