सन् १९९४ : बेलायतलाई फ्रान्ससँग जोड्ने च्यानल टनेल खुल्यो । बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा मितेराँले ‘च्यानल’को उद्घाटन गरेका थिए । ५० किलोमिटर लम्बाइको रेलमार्ग बन्दा संसारको सबैभन्दा लामो समुद्रमुनिको सुरुङ थियो ।
सन् १५२७ : सम्राट् चार्ल्स पन्चमको नेतृत्वमा स्पेनिस तथा जर्मन फौजले रोममा ठुलो विनाश सुरु गरे । विनाश र आगजनीले सहरमा चलिरहेको पुनर्जागरण अभियान अन्त्य गर्यो ।
सन् १५४१ : इंग्ल्यान्डका राजा हेनरी आठौँले देशका सबै चर्चमा अंग्रेजी भाषाको बाइबल राख्ने निर्देशन दिए । त्यस समय मुख्यतः ल्याटिन भाषाको बाइबल मात्र प्रचलनमा थियो ।
सन् १५४२ : पोर्चुगलका राजाले धर्मप्रचारका लागि भारतीय उपनिवेश गोवामा पठाएका फ्रान्सिस जेभियर तेह्र महिना लामो यात्रापछि पुरानो गोआ आइपुगे ।
सन् १८४० : मे १ मा जारी गरिएको विश्वको पहिलो टाँस्ने हुलाक टिकट ‘पेनी ब्ल्याक’को पहिलो प्रयोग भने पाँच दिनपछि यसै दिन भयो ।
सन् १८८२ : अमेरिकी कंग्रेसले देशमा चिनियाँ श्रमिकको बढ्दो आगमनलाई रोक्ने गरी ‘चाइनिज एक्सक्लुसन एक्ट’ पारित गर्यो ।
सन् १९३७ : चर्चित जर्मन एअरसिप ‘हिन्डनबर्ग’ न्युयोर्क सहरको आकाशमा विस्फोट हुँदा ३५ जनाको ज्यान गयो । दुर्घटनाले एअरसिपको प्रयोगमै धक्का लाग्यो ।
सन् १९४१ : जोसेफ स्टालिन सोभियत संघको सरकार प्रमुख ‘प्राइमर’ बने । पहिले नै सत्तारुढ कम्युनिस्ट पार्टीका महासचिव रहेका स्टालिनको यस कदमपछि पार्टी र सरकार प्रमुख एकै व्यक्ति बन्ने अवस्था आयो र उनको हातमा अथाह शक्ति केन्द्रीकृत भयो ।
सन् १९६० : अमेरिकी पूर्वराष्ट्रपति ड्वाइट डी आइसेनहावरले अश्वेत अधिकारसम्बन्धी ‘सिभिल राइट्स एक्ट–१९६०’ मा हस्ताक्षर गरेसँग सो विधेयक कार्यान्वयनमा आयो ।
सन् २००२ : व्यवसायी इलन मस्कले अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी ‘स्पेस–एक्स’ स्थापना गरे ।