उदयपुरको त्रियुगा नगरपालिकाले साहित्य, कला, भाषा र संस्कृतिको संरक्षण तथा विकासलाई संस्थागत रूप दिन ‘त्रियुगा प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ। नगर कार्यपालिकाको कार्यालय, गाईघाटले नगरभित्र विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई समेट्दै प्रतिष्ठानलाई औपचारिक रूपमा अघि बढाएको हो।
नगरपालिकाका अनुसार १४औँ नगरसभाबाट पारित ‘त्रियुगा प्रज्ञा प्रतिष्ठान ऐन, २०८१’ कार्यान्वयनमा आएसँगै प्रतिष्ठान गठनको प्रक्रिया अघि बढाइएको हो । उक्त ऐनले ज्ञान, विज्ञान, प्रविधि, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासलाई मुख्य लक्ष्यका रूपमा अघि सारेको छ।
नगर कार्यपालिकाको ५९औँ बैठकले ऐनको दफा ५ बमोजिम प्रतिष्ठानको संगठनात्मक संरचना निर्धारण गर्दै परिषद् र कार्यसमितिका पदाधिकारीहरू मनोनयन गरेको जनाएकाे छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काद्वारा जारी सूचनामार्फत प्रतिष्ठानको अध्यक्षमा राममणि पोखरेल चयन भएका छन् भने उपाध्यक्षमा महेन्द्र राई र सदस्यसचिवमा कौशल चेम्जोङ रहेकाे जानकारी दिइएकाे छ।
त्यसैगरी सदस्यहरूमा सीमा मास्के, सञ्जा दनुवार, शैलेन्द्र खतिवडा, वासु पोखरेल, गोपालकृष्ण तिम्सिना ‘कृति’ र टंकबहादुर आले मनोनीत भएका छन् । परिषद् सदस्यहरूमा सम्झना असफल राई, चन्द्रनारायण चौधरी, कुवेरकान्त काफ्ले, हिरामान मोते, ऋषिकेश पोखरेल, हरि केसी, हर्षनारायण श्रेष्ठ, अनन्त दनुवार, वीरेन्द्र बस्नेत, कीर्तिबहादुर खड्का, वीरेशबाबु शाही, चन्द्र तामाङ र मिथुन ठाकुर रहेका छन्।
नगरपालिकाले प्रतिष्ठानमार्फत स्थानीय प्रतिभाको पहिचान, भाषा–साहित्यको संरक्षण तथा सांस्कृतिक गतिविधिको प्रवर्द्धनमा जाेड दिइने बताइएकाे छ।