‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक कृतिहरू एकैसाथ सार्वजनिक

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागर राईको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ । लेखकद्वयले शनिबार कोलोराडोस्थित एक पोडकास्टमा दुई कृतिको विमोचन गरेका हुन् । अमेरिकाको व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै लेखक आफैँले आ–आफ्नो कृतिको विमोचन गरेका हुन् । विमोचनको यो नयाँ अभ्यास पनि मानिएको छ ।

लेखक राईले ‘फर्कनुछ देश’मा नयाँ पुराना ३३ वटा कविता संग्रहित गरेका छन् । करिब दुई दशकदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका उनले यसअघि थुप्रै गीतहरूसमेत बजारमा ल्याइसकेका छन् ।सोलुखुम्बुको सोताङमा जन्मे–हुर्केका राईले अमेरिका पुगेर पनि नेपाली कला, साहित्य र संगीतलाई भुलेका छैनन् । समय–समयमा आफ्ना भावनालाई गीत, कविताको माध्यमबाट अभिव्यक्त गर्दै आएका उनले देश फर्कने प्रणबाट पुस्तकको नामकरण गरेका छन् ।

त्यस्तै, गीतकार मणिराज बस्नेतले सार्वजनिक गरेका गीति संग्रह ‘प्रवासी मनका भावनाहरू’मा नयाँ पुराना (रेकर्ड भएका र नभएका) ५६ वटा गीत समावेश गरिएको छ । बस्नेतका अधिकांश गीतहरू दीप श्रेष्ठ, आनन्द कार्की, कर्णदास, नरेन्द्र प्यासी, मनिला सोताङ, स्वरूपराज आचार्य, अन्जु पन्त, शिव परियार, हेमन्त शर्मा, धर्वेन्द्र सेवान, रेजिना रिमाल, मेलिना राई, बबिना किराँती, रामकुमार नेपाली, सुरक्षा सेन्चुरी, तारा सिरिसलगायतका कलाकारले गाइसकेका छन् । गीतकार बस्नेतले छिट्टै नेपाल आउने र पुनः कृति विमोचन गर्ने कुरा पोडकास्टमा बताएका छन् ।
 

सुझावित समाचार