नेपाली यात्रासंस्मरणको इतिहास निकै लामो छ । त्यो इतिहास खोज्दै जाँदा विसं १५५० तिरको राजा गगनीराजको यात्रालाई स्मरण गर्नुपर्ने हुन्छ । यस कृतिमा मुगुदेखि मुस्ताङसम्मको यात्रा विवरण समावेश गरेको पाइन्छ । यो कृति नै नेपाली यात्रा संस्मरणको प्रारम्भिक उदाहरण हो । वास्तवमा नेपाली यात्रा साहित्यको उल्लेखनीय उदाहरण विसं. १९१० को ‘जंगबहादुरको बेलायतयात्रा’लाई लिने गरिएको छ । यसपछि यात्रासंस्मरण लेख्नेहरू प्रशस्त देखिन थाले । यस्तो परम्परामा लैनसिह वाङ्देलले २०१४ मा ‘युरोपको चिठी’ र २०२० मा ‘स्पेनको सम्झना’ नामक यात्रा संस्मरणमूलक कृति लोकमा अर्पण गरे । यस्तै, तारानाथ शर्माले २०२६ मा ‘बेलायततिर बरालिँदा’ शीर्षकको कृति प्रकाशित गरे । तारानाथ शर्मालगायतका लेखकहरूका कलमबाट गतिशील बन्दै आएको नेपाली यात्रा साहित्यले लेखक निर्मोही व्यास हुँदै अहिलेसम्म आइपुग्दा धेरै फड्को मारिसकेको छ । यस्तो परम्परामा धर्मेन्द्र विह्वलले पनि ‘गण्डकीका शालग्राम’ शीर्षकको कृतिमार्फत गण्डकी प्रदेशको महिमा प्रस्ट्याउने कार्यमा भूमिका निर्वाह गरेका छन् ।
प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यका कारण गण्डकी प्रदेश पर्यटकका निम्ति आकर्षणको केन्द्र बनेको छ । प्राचीनकालदेखि नै यस भूमिमा पर्यटकहरू ओहोरदोहोर गरेका भए पनि पछिल्लो समयमा यहाँस्थित विविध प्रकारका सौन्दर्यको आनन्द लिँदै फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा यस प्रदेशस्थित अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । त्यसपछि यस क्षेत्रमा पर्यटकहरू भित्रिने कार्य तीव्र गतिमा हुन थाल्यो । अहिले नेपालमा भित्रिएका विदेशी पर्यटकहरूमध्ये लगभग ५० प्रतिशत पर्यटकले यस प्रदेशको भ्रमण गर्दछन् भनी सरकारी तथ्यले देखाएको पाइन्छ । त्यसैले गण्डकी प्रदेश पर्यटकीय प्रदेशका रूपमा स्थापित हुनपुगेको हो । यस्तो परम्परामा धर्मेन्द्र विह्वलले पनि गण्डकी प्रदेशका ११ वटै जिल्लाको भ्रमण गरी ‘गण्डकीका शालग्राम’ शीर्षकको कृति तयार पारेका छन् ।
भगवान् विष्णुका प्रतीकका रूपमा चिनिएका शालग्रामको उत्पत्तिस्थल कालीगण्डकी हो । मुस्ताङदेखि प्रवाहित हुने कालीगण्डकी मुस्ताङबाट म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, देवघाट हुँदै नवलपुरको त्रिवेणीधामसम्म बग्दा ती ठाउँमा शालग्रामहरू प्रवाहित हुन्छन् । शालग्रामको दर्शन, स्पर्श र पूजा गर्नाले पुण्य प्राप्त हुन्छ, शान्ति मिल्छ तथा समृद्धि हासिल हुन्छ भन्ने जनविश्वास छ । शालग्रामको महिमा भएका कारण हिन्दु धर्मावलम्बीहरू आफ्ना घरका पूजास्थलमा शालग्राम राखी श्रद्धापूर्वक यिनको पूजा गर्दछन् ।
लेखक धर्मेन्द्र विह्वलले गण्डकी प्रदेशका ११ वटै जिल्लाका विभिन्न स्थानको अवलोकन गरी तयार पारेको ‘गण्डकीका शालग्राम’ शीर्षकको यात्रा संस्मरणमूलक प्रस्तुत कृतिमा विभिन्न शीर्षकका यात्रामूलक लेखहरू संकलित छन् ।
समग्र गण्डकीको अवलोकन
‘गण्डकीका शालग्राम’ शीर्षकयुक्त कृतिका लेखकले यस कृतिमा समाविष्ट विभिन्न शीर्षकका लेखमार्फत समग्र गण्डकी प्रदेशको अवलोकनको प्रयत्न गरेका छन् । गण्डकी प्रदेशलाई समृद्ध तुल्याउन भूमिका खेल्ने धार्मिकस्थलहरू यस प्रदेशमा प्रशस्त छन् । तिनको पूर्ण पहिचान भइसकेको छैन । यस्तो अवस्थामा धर्मेन्द्र विह्वलले गण्डकी प्रदेशको विभिन्न ठाउँको भ्रमण गर्दा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, आलमदेवी, विन्ध्यवासिनी, तालवाराही, मौलाकालिका, अकलादेवी, मनकामना, गोरखकाली मन्दिर, शान्तिस्तुपा, गुम्बालगायत महिमायुक्त यी पवित्रस्थलमा पुगेर हात जोडेका छन् ।
लेखकले आफ्नो लेखनीमार्फत गण्डकी प्रदेशका ऐतिहासिकस्थल तथा गुफा अवलोकन गरी तिनबारे पनि प्रकाश पार्ने प्रयास गरेका छन् । गण्डकी प्रदेश ऐतिहासिकस्थल तथा गुफाहरू भएको प्रदेश हो । यस प्रदेशमा अझै पनि विविध विषय क्षेत्रका ऐतिहासिक विषयहरू उत्खनन हुन बाँकी छन् । यस्तो अवस्थामा देखापरेको प्रस्तुत कृतिले गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित इतिहाससम्बद्ध केही विषयलाई उजागर गरेको छ । गण्डकी प्रदेशका यात्रा गर्दा लेखकले गण्डकी प्रदेशस्थित गलकोट, पुम्दीकोट, भिरकोट, सिर्सेकोट, सराङकोटलगायतका ठाउँमा पुगेर ती कोटमा स्थित ऐतिहासिक तथ्यलाई हेरेर तिनका बारेमा प्रकाश पारेका छन् । यसरी अध्ययन गर्दै जाँदा यस कृतिले गण्डकी प्रदेशमा जीवित इतिहास तथा गुफाहरूको अध्ययन तथा अवलोकन गर्ने व्यक्तिहरूलाई बाटो देखाउँछ ।
पर्यटकलाई आकर्षित गर्ने स्थलहरूको उल्लेख पनि यस कृतिमा भएको पाइन्छ । विभिन्न प्रकारका कुण्ड, ताल, झरना, खोला तथा नदीहरूले सुसज्जित गण्डकी प्रदेशमा यस्ता पर्यटकीयस्थलको व्यापक अध्ययन भइसकेको छैन । यस्तो अवस्थामा धर्मेन्द्र विह्वलले गण्डकी प्रदेशका विभिन्न ठाउँको यात्रा गर्दा भुरुङको तातोपानी कुण्ड, सिँगाको तातोपानी कुण्ड तथा मत्स्यकुण्डमा पुगेर तिनले प्रदान गर्ने आनन्द लिएका छन् । कास्कीका फेवाताल, बेगनासताल, रूपाताल, मैदीताल, दीपाङताल, खास्टेताल, न्युरेनीताल, तिलिचोताल, गंगापूर्णताल, काओसोतीको टरुवाताल, पोखरीताल, ब्लु लेक (सिङ्दे ताल), ग्रिन लेक (सब्जे ताल)हरूको दृश्य हेरेर भावुक भएका छन् । रुप्सेको झर्ना, बुङ झरना, अक्टोपस झरना, पातले छाँगो, आँधीखोला, ज्वानखोला, रहुनदी, कालीगण्डकीलगायतका झर्ना, छाँगा, खोला–नदीलाई हेरेर प्रफुल्ल भएका छन् ।
गण्डकी प्रदेशमा फरक–फरक आकृति अनि नामका हिमालहरू छन् । त्यसभन्दा तल पहाडी भूभाग र लेकहरू छन् भने तीभन्दा पनि तल तराई भूभाग पाइन्छ । त्यस्ता प्राकृतिक सौन्दर्यमध्ये धर्मेन्द्र विह्वलले वर्णन गरेका छन् । यस प्रदेशमा खोलिएका घरबास (होमस्टे)मा लोकसंगीतको आस्वादन गर्न पाइने कुराको बोध गरी लेखकले गण्डकी प्रदेशका विभिन्न ठाउँको भ्रमण गर्दा सिर्सेकोट होमस्टे, सिरुबारी होमस्टेलगायतका घरवासमा वास बस्दा कौरा, सोरठी, दोहोरी, भजन सुनेर लेखक विह्वल खुसीले पुलकित भएका छन् । नवलपुरको अमलटारी होमस्टेमा वास बसेर थारू नृत्य, झुमरा नृत्य, लाठी नृत्यको आनन्द लिँदै त्यो आनन्दमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
समयको गतिसँगै गण्डकी प्रदेशका विभिन्न ठाउँमा नयाँ विकासले पाइला टेकेको पाइन्छ । लेखकले यस्ता विकासको चर्चा पनि कृतिमा गर्ने प्रयत्न गरेका छन् ।
विश्रान्ति
‘गण्डकीका शालग्राम’ कृतिमा गण्डकी प्रदेशभित्रका विविध स्थान, प्रकृति, समाज, संस्कृति, शिक्षा, आधुनिक विकासलाई उजागर गरिएको छ । कालीगण्डकीमा पाइने शालग्रामले नेपालको हिमाल, पहाड तथा तराईलाई जोड्नुका साथै मिथिला संस्कृतिसित पनि साइनो बढाइदिएको कुरालाई प्रकाश पारिएको छ । प्रस्तुत कृतिमा गण्डकी प्रदेशको सामाजिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक शैक्षिक, आधुनिक विकास आदि पक्षलाई उजागर गरेका कारण उक्त विषयसम्बद्ध अध्येताका निम्ति यो कृति उपयोगी हुने देखिएको छ । मुक्तिनाथदेखि त्रिवेणीधामसम्मको धार्मिक पर्यटनलाई उजागर गरिएको छ । त्यसैले पर्यटनसित सम्बद्ध व्यक्तिहरूका लागि पनि यो कृति पठनीय बन्न पुगेको छ ।
प्रस्तुत कृति गण्डकी प्रदेशका दृश्यवर्णनमा मात्र सीमित नभई विविध विषयलाई चिनाउन पनि सक्षम छ । गण्डकी सभ्यता र संस्कृतिलाई उजागर गरेको छ । एउटा संस्कृति र अर्को संस्कृतिलाई तुलना गर्ने बाटो निर्माण गरेको छ । यहाँका विकासका सम्भावनालाई औँल्याएको छ । त्यसैले प्रस्तुत कृति सबैका निम्ति पठनीय बन्न पुगेको छ ।
(लेखक डा. न्यौपाने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् ।)