३७ वर्षपछि पुनर्जन्म पाएको एउटा पुस्तकालय

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

साढे तीन दशकपछि ललितपुरको ऐतिहासिक ‘शारदा पुस्तकालय’ पुनः सञ्चालनमा आएको छ । लामो समय बन्द अवस्थामा रहेको पुस्तकालय पुनर्जीवित भएसँगै अध्ययन, अनुसन्धान र पठन संस्कृतिमा नयाँ उत्साह थपिने भएको छ । ललितपुर महानगरपालिकाको भवनमा सञ्चालनमा आएको पुस्तकालयमा हाल विभिन्न विधाका करिब ६ हजार पुस्तक संकलन गरिएको छ । दर्शनशास्त्र तथा मनोविज्ञान, धर्म, सामाजिक विज्ञान, भाषा, विज्ञान तथा प्रविधि, कला तथा मनोरञ्जन, साहित्य, इतिहास तथा भूगोल, कम्प्युटर विज्ञानलगायत विधाका पुस्तक यहाँ उपलब्ध छन् ।

२०४६ सालको जनआन्दोलनका क्रममा आगजनी भएपछि पुस्तकालय बन्द भएको थियो । ००३ सालमा कम्युनिस्ट नेता तुलसीलाल अमात्य, वाङ्मय पुरुष सत्यमोहन जोशीलगायतको प्रयासमा स्थापित यो पुस्तकालयमा बिहान नौदेखि साँझ पाँच बजेसम्मका लागि खुला भएको हो । शारदा पुस्तकालयको पुनः सञ्चालनले लामो समयदेखि हराएको एउटा ऐतिहासिक संस्था मात्र फर्काएको छैन, बदलिँदो प्रविधि र घट्दो पठन संस्कृतिबिच पुस्तकालयको भूमिकामाथि नयाँ बहस पनि सुरु गराएको छ । 

बाल्यकालसँग जोडिएको पुस्तकालय
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका लागि शारदा पुस्तकालयसँग व्यक्तिगत स्मृति पनि जोडिएको छ । ‘मलाई जानकारी हुँदासम्म ललितपुर नगर पञ्चायतको भुइँतल्लामा पुस्तकालय थियो । म त्यहाँ फुर्सद हुनेबित्तिकै जान्थेँ । स्कुल अगाडि भएकाले फुर्सदको समयमा धेरैजसो पुस्तकालयमै जाने गर्थें,’ उनी भन्छन् । ०४६ सालको आन्दोलनका क्रममा भुइँतल्लामा रहेको पुस्तकालयमा पनि आक्रमण भयो । त्यसक्रममा पुस्तक तथा अभिलेखहरू जलेर नष्ट भए । ‘त्यतिवेला पुस्तकालयको नाम मात्र बाँकी रह्यो । मेरो बाल्यकालको धेरै समय बितेको त्यो पुस्तकालयलाई कुनै न कुनै दिन पुनः स्थापना गर्नुपर्छ भन्ने मानसिकता बनाएको थिएँ,’ उनी भन्छन् । 

आफू मेयर भएपछि वाङ्मय पुरुष जोशीले शारदा पुस्तकालय पुनः स्थापना गर्न आग्रह गरेको महर्जनले बताए । ‘म मेयर भएपछि सत्यमोहन सरले भन्नुभएको थियो ल, चिरिबाबु, यो काम अरूले गर्दैनन्, तिमीले नै गर । शारदा पुस्तकालय पुनः स्थापना गर । त्यसका लागि मसँग भएको संकलन सबै लैजाऊ,’ महर्जन स्मरण गर्छन् ।

पहिलो कार्यकालमै पुस्तकालय पुनः स्थापना गर्ने सोच भए पनि उपयुक्त ठाउँ अभावका कारण केही समय लागेको महर्जन बताउँछन् । उनका अनुसार मिर सुब्बा नारायणप्रसाद श्रेष्ठले पनि आफूसँग भएको धेरै पुस्तक उपलब्ध गराएका छन् । ‘उहाँको पुस्तकको एकतिहाइ पनि ल्याउन सकेका छैनौँ,’ उनी भन्छन् । 

हाल चौथो तल्लामा रहेको पुस्तकालयमा पुग्न सर्वसाधारणलाई समस्या नहोस् भनेर आवश्यक व्यवस्था गरिएको छ । पुस्तकालयको दक्षिणतर्फको कौसीमा क्यानोपी (छाना) निर्माण भइरहेको छ । त्यसपछि जाडोमा घाम ताप्दै र गर्मीमा शीतल वातावरणमा बसेर पढ्न सकिने उनले बताए । ‘अहिलेको ठाउँ पर्याप्त छैन । यसका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ । यही भवनको अर्को कुनै तलामा विस्तार गर्नुपर्ने हुन सक्छ,’ उनी भन्छन् ।

पुस्तकालयमा इ–पुस्तकालयको अवधारणालाई पनि अघि बढाइँदै छ । त्यसका लागि दशवटा कम्प्युटर राखिएको छ । ती कम्प्युटरबाट त्रिवि केन्द्रीय पुस्तकालयमा उपलब्ध सामग्री तथा सूचनामा पहुँच पुर्याउने योजना महानगरपालिकाको छ । ‘त्यहाँको पुस्तकालयमा जति सूचना उपलब्ध हुन्छन्, यहाँबाट त्यसमा पहुँच हुने व्यवस्था गर्दै छौँ । त्यो पहुँच अथाह हुनेछ,’ महर्जनले भने । 

अन्तर्राष्ट्रिय मानक पुस्तक नम्बरलगायत माध्यमबाट पुस्तक तथा त्यससम्बन्धी विवरण डिजिटल रूपमा खोज्न सकिने भएकाले पुस्तकालयको स्रोतलाई त्यसैअनुसार व्यवस्थापन गर्न सकिन्छ । उनी भन्छन्, ‘पुस्तकको अन्तर्राष्ट्रिय मानक पुस्तक नम्बर हुन्छ । त्यो खोज्नेबित्तिकै पुस्तक पत्ता लगाउन सकिन्छ ।’

सहरको पहिचान पुस्तकालय
०३७ सालताका नै महर्जनको टोलीले पुल्चोकमा पुस्तकालय स्थापना गरेका थिए । त्यो पुस्तकालय हेर्न धेरै मानिस आउँथे । पुस्तकालय भएको त्यो टोलको सान नै फरक थियो । महर्जनका अनुसार पुस्तकालय पुस्तक राख्ने ठाउँ मात्र होइन, सहरको बौद्धिक र सांस्कृतिक पहिचानसँग जोडिएको संस्था पनि हो । ‘धेरै मानिस पुस्तकालय हेर्न आउँथे । त्यसैले, पुस्तकालय आँखा खोल्ने माध्यम हो,’ उनी भन्छन् । विश्वका विभिन्न सहरमा सिटी पुस्तकालय हुने उल्लेख गर्दै महर्जनले सहरको आकार र आवश्यकताअनुसार पुस्तकालयको विकास हुनुपर्ने बताउँछन् । ‘हामीले शारदा पुस्तकालयलाई सिटी पुस्तकालयका रूपमा विकास गर्ने सोच राखेका छौँ । राम्रो सहरका लागि चाहिने सूचकमध्ये पुस्तकालय पनि एउटा हो,’ उनी भन्छन् ।

प्रविधिको विकाससँगै हातहातमा डिजिटल पुस्तकालय पुगेको छ । मोबाइलबाटै पुस्तक तथा सूचना पढ्न सकिने भएकाले भौतिक पुस्तकालयमा आउने पाठकको संख्या घट्न सक्ने चुनौती पनि छ । तर, भौतिक पुस्तक पढ्नुको छुट्टै अनुभव हुने महर्जनको बुझाइ छ । ‘अचेल पठन संस्कृति कम हुँदै गएको छ । हातहातमा पुस्तकालय उपलब्ध भएका छन् । त्यसैले, पुस्तकालयसम्म आउनेको संख्या केही कम हुने हो कि भन्नेछ,’ उनी भन्छन्, ‘कतिपय मानिसलाई भौतिक रूपमा पुस्तक पढ्दा जुन स्वाद आउँछ, डिजिटल माध्यमबाट त्यति स्वाद आउँदैन ।’ 

पुस्तकालय विज्ञ भोलाकुमार श्रेष्ठ पुस्तकालय पुनर्स्थापना हुनु सकारात्मक भएको भन्दै यसलाई जीवन्त बनाउनुपर्नेमा जोड दिन्छन् । ‘आधुनिक र एआईको यो युगमा पुस्तकालयलाई जीवन्त बनाउन छुट्टै भवन, बालबालिका तथा वृद्धवृद्धाका लागि छुट्टाछुट्टै शाखा र अन्तरपुस्ता जोड्न ‘कथा वाचन’जस्ता कार्यक्रम आवश्यक छन्,’ उनी भन्छन् । उनका अनुसार पुस्तकालय पुनः सञ्चालनमा आउनु सकारात्मक भए पनि यसको पहुँच र दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । मोबाइल तथा डिजिटल माध्यमबाट सहजै पुस्तक पढ्न सकिने अहिलेको समयमा पनि पुस्तकालयको महत्व घटेको नभई झन् बढेको उनको बुझाइ छ । ‘अहिले मोबाइलमै किताब पढ्न पाइए पनि पुस्तकालयको महत्व घटेको छैन, बरु झन् बढेको छ । युरोपका धेरै ठाउँमा बालबालिकाका लागि कम्प्युटर शिक्षा नियन्त्रण/ब्यान्ड गरिएका उदाहरण छन्, जसले भौतिक पठन संस्कृतिको महत्व दर्साउँछ,’ उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाले पनि सिटी पुस्तकालयमा चासो देखाएको छ । पुस्तकालय स्थापनाका लागि महानगर अन्तिम चरणमा पुगेको छ । पुस्तकालय खोल्न चासो दिनु आफैँमा सकारात्मक कुरा हो । जनप्रतिनिधिले पुस्तकालयको आवश्यकता महसुस गर्नु भनेको समाजमा ज्ञान र पठन संस्कृतिको महत्वलाई स्वीकार गर्नु पनि हो । तर, पुस्तकालय खोलेर मात्र नहुने उनको तर्क छ । उनी भन्छन्, ‘पुस्तकालयलाई कसरी जीवन्त बनाउने ?, पाठक कसरी आकर्षित गर्ने ?, दक्ष जनशक्ति कसरी व्यवस्थापन गर्ने ? र, नयाँ पुस्तालाई पुस्तकालयसँग कसरी जोड्ने ? भन्नेमा पनि ध्यान दिनुपर्छ । पुस्तकालयलाई एउटा कोठामा पुस्तक राख्ने ठाउँका रूपमा होइन, समुदायको ज्ञान, संवाद र सिर्जनाको केन्द्रका रूपमा विकास गर्नुपर्छ ।’
 

सुझावित समाचार