गीत–गजलमा जम्दै प्रभा

शनिबार, १७ असोज, २०८३
प्रिन्ट संस्करण

पछिल्लो समय गीत र गजल लेखनमा अलग्गै पहिचान बनाउँदै गरेकी स्रष्टा हुन्, प्रभा बर्तौला । उनका सिर्जनामा प्रेम र पीडा मात्र होइन, समाज, संस्कृति, प्रकृति, भूगोल र मानवीय जीवनका अनेक अनुभूति भेटिन्छन् । उनका लागि लेखन केवल रहर वा पेसा होइन, जीवनलाई बुझ्ने र अभिव्यक्त गर्ने माध्यम हो ।

‘रुख ठुलो हुनुमा जराको महत्व हुन्छ’ भन्ने बर्तौलाको आफ्नै जीवनदर्शन छ । उनी आफूलाई पनि बलियो जरा भएको रुखजस्तै बनाउन चाहन्छिन् । ‘मलाई पनि जरा हुन मन लाग्छ । जब रुख सुक्छ अनि मात्र जराको अवस्था कस्तो रहेछ भन्ने थाहा हुन्छ । जरा बलियो भयो भने मात्रै रुख झाँगिन्छ । भित्री आवरणले बाहिरी आवरणलाई बचाइराख्छ । त्यसैले मलाई जरा हुन मन लाग्छ,’ उनी भन्छिन् ।

एक दशकअघिदेखि गजललेखनमा सक्रिय बर्तौलाको सिर्जनात्मक यात्रा अहिले संगीतसम्म विस्तार भएको छ । उनी अहिले संगीत विषयमा विद्यावारिधि गर्दै छिन् । नेपालमा संगीत क्षेत्रमा महिलाको उपस्थिति अझै अपेक्षाकृत कम रहेको उनको बुझाइ छ । त्यसैले यो क्षेत्रमा आफ्नो स्थान बनाउन उनलाई सहज भने भएन । आर्थिक अभावदेखि पारिवारिक उपेक्षासम्मका अनेक चुनौती पार गर्दै उनी निरन्तर अघि बढिरहेकी छिन् ।

प्रभाले ‘एन्जिला’, ‘मोहर’लगायतका चलचित्रमा गीत लेखेकी छिन् । ‘मोहर’का लागि उनले ‘सपना हो कि विपना’ बोलको गीत लेखेकी छिन् । उनका थुप्रै गीतमा गायक थानेश्वर गौतमको स्वर सुनिन्छ । पहिलो गजल रेकर्ड गराउँदा आर्थिक अवस्था सहज थिएन । तर, अभावले उनको सिर्जनालाई रोक्न सकेन । ‘त्यो वेला मसँग पैसा थिएन । मेरो कान्छा काका विनय बर्तौलाले २० हजार रुपैयाँ दिनुभएको थियो,’ उनी विगत सम्झिन्छिन् । त्यही सहयोगबाट सुरु भएको रेकर्डिङको यात्रा बिस्तारै अघि बढ्दै गयो । काम गर्दै, सिक्दै र आफ्ना सिर्जना रेकर्ड गराउँदै उनी संगीतको क्षेत्रमा स्थापित हुने प्रयासमा लागिरहिन् ।

‘हिमाल हल्लाउन सक्छु’ गीतले पनि उनलाई चर्चामा ल्यायो । त्यसैगरी, ‘छुट्नलाई पो रहेछ क्यारे, सानु तिम्रो मेरो यति धेरै माया बसेको’ बोलको गीतले उनको परिचय अझ फराकिलो बनायो ।

आफ्नो सिर्जनात्मक क्षमताप्रति प्रभा निकै आत्मविश्वासी छिन् । ‘मलाई कुनै विषयमा लेख्न दिइयो भने २० मिनेटमै एउटा गीत वा गजल तयार गर्न सक्छु,’ उनी भन्छिन् ।

आमाको सपना 
बर्तौलाकी आमाको चाहना छोरी नर्स बनोस् भन्ने थियो । तर, छोरीको मन भने संगीत र सिर्जनातर्फ तानियो । सुरुमा आफू संगीतमा लाग्दा आमालाई दुःख लागेको उनी बताउँछिन् । आमाको सपना र आफ्नो रुचिबिचको दूरीले उनलाई केही समय अन्योलमा पनि पारेको थियो । तर, उनले अन्ततः आफ्नै मनको बाटो रोजिन् । आज प्रभासँग आमा खुसी छिन् । सिर्जनालाई व्यावसायिक बनाउन सकियो भने लेखेरै पनि बाँच्न सकिने प्रभाको अनुभव छ । तर, नेपाली समाजमा लेखनलाई अझै गम्भीर पेसाका रूपमा नलिएको उनको गुनासो छ । ‘लेखनलाई सोखको रूपमा लिइन्छ । पेसा बनाएर भन्दा सोखमा लेख्नेहरू धेरै छन् । तर, राम्रो लेख्नेहरूसँग पैसा हुँदैन र पैसा हुनेहरूले बजार कब्जा गरेका छन्,’ उनी भन्छिन् ।

प्रभाको विचारमा एउटा गीत सफल हुन गीतकार, संगीतकार र गायक–गायिकाको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । शब्द राम्रो भएर मात्र गीत सफल नहुने उनको बुझाइ छ । भन्छिन्, ‘संगीत, सुर र शब्द तीनै पक्षको बराबर भूमिका हुन्छ । भिडियो पनि महत्वपूर्ण छ ।’

समाजसँग जोडिनुपर्छ सिर्जना
प्रभाका लागि गीत केवल मनोरञ्जनको माध्यम होइन । गीत संगीत समाज र जीवनलाई बुझाउने तथा परिवर्तनको सन्देश दिने माध्यम पनि हो । त्यसैले उनका सिर्जनामा समाज, संस्कृति, प्रकृत्ति, भूगोल र मानवीय अनुभूतिका विषयले स्थान पाउँछन् । उनका अनुसार गीत–संगीतले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न पनि संगीतको ठुलो भूमिका हुन्छ ।

जागरण र सशक्तीकरणका लागि गीत, नाटक र कथाजस्ता सिर्जनात्मक माध्यम प्रभावकारी हुने प्रभाको विश्वास छ । विशेषगरी, बालबालिकालाई सिकाउन र बुझाउन संगीत अझ प्रभावकारी माध्यम बन्न सक्ने उनी बताउँछिन् ।

प्रभाले सुरुमा धेरै नपढी आफ्ना अनुभूति र भावनाका आधारमा लेखिन् । तर, साहित्य र संगीतसम्बन्धी अध्ययन बढ्दै गएपछि सिर्जनाको गहिराइ र वास्तविकता बुझ्न थालेको उनी बताउँछिन् । मानिसको मनोविज्ञानदेखि प्रेम, सम्बन्ध, सामाजिक अवस्था र मानवीय संवेदनासम्म उनका सिर्जनाका विषय बन्ने गरेका छन् । हालसम्म उनका तीन दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । आगामी दिनमा अझ फरक विषय र शैलीमा काम गर्ने उनको योजना छ ।

प्रभालाई फरक–फरक भाषामा गीत लेख्ने रहर छ । उनका लागि भाषा मात्र सिर्जनाको सीमा होइन, भाव, अनुभूति र सिर्जनात्मकता नै महत्वपूर्ण हुन् । उनी मौलिकतालाई आफ्नो लेखनको मुख्य आधार मान्छिन् । अरूको शैली पच्छ्याउनुभन्दा आफ्नै शैली निर्माण गर्नुपर्ने उनको मान्यता छ । ‘आफ्नो मौलिकता आफैँले निर्माण गर्नुपर्छ । आफू आफैँजस्तो बन्नुपर्छ, अरूजस्तो होइन,’ उनी भन्छिन् ।

प्रभाका लागि सिर्जना आफ्नै माटो, समाज र अनुभूतिबाट जन्मिनुपर्छ । अरूको क्षमता र नियममा आफूलाई बाँधेर होइन, आफ्नै बाटो पहिल्याएर सिर्जना गर्नुपर्छ भन्ने उनको विश्वास छ ।

नेपाली लोकगीत र दोहोरीमा आएको परिवर्तनलाई पनि प्रभाले नजिकबाट नियालेकी छिन् । समयसँगै शब्द र प्रस्तुति बदलिन सक्छन्, तर लोकगीतको मौलिक स्वरूप हराउनुहुँदैन भन्नेमा दृढ छिन् उनी । आधुनिकताको नाममा मौलिकता र मर्यादा गुमाउन नहुनेमा उनी सचेत छिन् । 

प्रभाका लागि सिर्जनाको संख्याभन्दा गुणस्तर महत्वपूर्ण छ । धेरै गीत रेकर्ड हुँदैमा संगीतको स्तर राम्रो हुन्छ भन्ने छैन । त्यसैले सर्जकले संख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।

बालअधिकार र सामाजिक चेतनाका विषयमा पनि सिर्जना गर्ने उनको रुचि छ । समाजमा देखिएका घटना, बालबालिकाका समस्या, संस्कृति, प्रकृति र मानवीय संवेदनालाई गीत–संगीतमार्फत उठाउन सकिने उनको विश्वास छ ।

गीत–गजलको क्षेत्रमा सक्रिय प्रभाको यात्रा अझै जारी छ । अभाव, चुनौती र संघर्षका बिच पनि उनले आफ्नो रचनाकर्मलाई निरन्तरता दिइरहेकी छिन् । उनको लक्ष्य अरूजस्तो बन्नु होइन, आफ्नै शैलीमा चिनिनु हो ।

सुझावित समाचार