केही छोटा कविता

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

 विडम्बना
जो रहनुपर्ने थियो
ऊ गयो
जो जानुपर्ने थियो
ऊ रह्यो ।

 पश्चात्ताप
जीवनको पूर्वाद्र्धमा 
सपना देखेर रमाउनेहरू
उत्तराद्र्धमा आइपुग्दा ब्युँझन्छन्
र
मिथ्यामा बितेको 
समय सम्झेर पछुताउँछन् ।

 यथार्थ र दृष्टिकोण
यथार्थमा जीवन त एउटै नै हो
दृष्टिकोण मात्र फरक हुन्छन्
यथार्थ बुझ्नलाई कठिन हुन्छ
त्यसैले
दृष्टिकोणलाई नै यथार्थ ठान्छन्
र 
भ्रममा पर्छन् ।

 पुनरागमन
धारणाबाट अलग्गिएर 
जब सोच
दर्शनमा प्रवेश गर्छ
भावना निरपेक्ष बनिदिन्छ 
र
मान्छे यथार्थमा फर्कन्छ ।

 मूल्यांकन
यस धरतीमा 
आउनेहरू
केही समय
बस्छन्
र 
जान्छन् ।
जानेहरूको मूल्यांकन त
रहनेहरूले गर्छन् 
उत्कृष्ट योगदान हुनेहरू
बाँचिरहन्छन्
अन्यथा,
भौतिक देहसँगै बिलय हुन्छन् ।

–पकनाजोल,काठमाडौं ।

सुझावित समाचार