सीमान्त जीवनको जीवन्त प्रेमकाव्य

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

रेशम विरही 
उज्यालोको प्रेमगीत । यो कुनै गीत होइन र कुनै जैविक प्रेम पनि होइन । गीत हो, तर भौतिक रूपमा संगीतबद्ध कर्णप्रिय गीत होइन । प्रेम हो, तर मानवीय संवेदनाको अन्तरंग प्रेम हो ।

यो भर्खर बजारमा आएको एउटा कवितासंग्रह हो । कवितारचनामा आ–आफ्नै मौलिक ढाँचा, शैली र बिम्बहरू हुन्छन् । प्रस्तुत कवितासंग्रह पनि नितान्त फरक ढाँचा र शैलीको सघन विचारसंवेद्य कविता कृति हो । यसका रचनाकार कवि तथा समालोचक पुरुषोत्तम सुवेदी हुन् । यस कवितासंग्रहमा उनी आफ्नै विशिष्ट शैलीमा गहनतापूर्वक अभिव्यक्त भएका छन् । उनी समालोचक पनि भएकाले उनका काव्यिक विचारको धार पनि सामाजिक विषमताविरुद्ध आलोचनात्मक चेतसहित अत्यन्त मर्मस्पर्शी किसिमले अर्चापिएको हतियारजस्तै धारिला छन् ।

‘उज्यालोको प्रेमगीत’ शीर्षकमा चार खण्डमा विभक्त ५८ वटा कविता समावेश गरिएको यस कवितासंग्रहको वैचारिक विशिष्टता भनेको प्रगतिशील रचनाशिल्पका आधारमा मानवीय संवेदना र अग्रगामी विश्वदृष्टिकोण रहेको देखिन्छ । सांस्कृतिक आन्दोलनमा प्रगतिशील–प्रगतिवादी काव्यरचनामा देखिने वैचारिक स्पष्टताको नाममा प्रयोग भएका जुलुसको भाषाबाट उनका कविताहरू पृथक् देखिन्छन् । पुरुषोत्तम सुवेदीका कविताहरू आफैँमा प्रगतिशीलताको वैचारिक रूपले पुष्ट र परिपक्व देखिन्छन् । साहित्यमा खास गरी कविता विधामा कला भनेको समाजको कलात्मक विन्यास तथा बिम्बात्मक अभिव्यक्ति हो । कतिपय प्रगतिवादी समालोचकले यसप्रकारको काव्यचरित्रलाई यथार्थबाट साहित्यलाई अलग्याउने र जनतालाई नैतिक र वैचारिक चेतनाबाट अलग्याउने कोसिसको रूपमा परिभाषित गर्दछन् । खासमा भन्ने हो भने, कलात्मक काव्यात्मकतासँगै सडकको शैलीगत विविधता र वैचारिक एकरुपता नै अग्रगामी चिन्तनविधि हो । यस मानेमा पनि कवि सुवेदीका कविताहरू सचेत देखिन्छन् ।

विचारको नाममा शुष्कता र प्रभावको नाममा चर्का शब्दावलीबाट मुक्त उनका कविताहरूमा नवीन बिम्ब र चोटिला प्रतीकहरूको कुशल संयोजन पाइन्छ । संसारको उत्कृष्ट संरचना भनेको मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध हो । त्यसैले मानवहित र मानवीय संवेदनाले ओतप्रोत रचना भनेको आफ्नो समय र समाजको परिस्थिति ठिकसँग चित्रित गर्नु हो । यही वास्तविकताको सैद्धान्तिक भूमिमा टेकेर उत्कृष्ट साहित्यको रचना गर्नु शक्तिशाली कविको पहिलो सर्त हुनुपर्छ । हाम्रो समाज अहिलेको युगमा पनि दासयुगको जस्तो मानवताको वर्खिलापका कतिपय कुरूप संस्कृतिबाट अझै मुक्त हुन सकिरहेको छैन । यसले मानव सभ्यता र अग्रगमनको दिशा अवरुद्ध गरिरहेको छ । त्यसैले त्यस्ता कुरुपताप्रति निषेधात्मक चेतनाले परिपुष्ट कविता वा विविध साहित्य रचनामा कविहरूको कलादृष्टि पुग्नुपर्दछ । यसर्थ, पनि कवि पुरुषोत्तम सुवेदीका कविताहरू सजग र सचेत रूपमा रचना गरिएका छन् ।

खबरदार !
बाघसँग होसियार
मान्छे खाने
संस्कृतिसँग होसियार
(बाघः पृष्ठ–१०१)

उनको काव्यकृतिले सामाजिक यथार्थलाई टपक्क टिपेर काव्यिक प्रतिबिम्बनमा कुशलतापूर्वक उनेको सहज अनुभूति हुन्छ । अत्यन्त अमूर्त र कठिन शब्दावलीको सट्टा सरल एवं सम्प्रेष्य शब्द र लयात्मक काव्यिक वाक्य बनोटले उनका प्रत्येक कविताहरू भावविधान र गेयताले कमजोर लाग्दैनन् । यस अतिरिक्त ‘उज्यालोको प्रेमगीत’ कवितासंग्रहमा पुरुषोत्तम सुवेदी समाजको आलोच्य भावमा मुखर भएका छन् । कविताको अन्तर्ध्वनिमा मूलतः जीवनजगत्का यावत चरित्र, स्वस्थ र नैतिकवान् समाज निर्माण तथा उत्पीडन र शोषणप्रति व्यंग्य विनोदी बिम्बहरूको कुशल संयोजन आवश्यक पर्दछ । प्रस्तुत कविताकृतिले यही सामाजिक यथार्थलाई समातेर कलासाहित्यको सिर्जनात्मक प्रतिबिम्बन गरेको छ । यसबाट कवि सुवेदीका कविताहरूमा संवेदी र बौद्धिक संज्ञानको बाक्ला बाछिटा देखिन्छन् । उनको काव्यिक ढपमा समयबोध, द्वन्द्वात्मक विज्ञानको संश्लिष्ट चेतना तथा कला र रूपको सघन संरचना पनि भएको पाइन्छ । मानव समाजमा कला र साहित्य मनोरञ्जन मात्र होइन, समुन्नत विचारधाराको संवाहक पनि हो भन्ने कुरामा श्रष्टाहरू स्पष्ट हुन जरुरी छ । यसमा विचारधारात्मक विषयवस्तुको छनोटमा रचनाकार आत्मगत रूपमा होइन, वस्तुगत रूपमा समाजको बृहत् हिततर्फ उन्मुख हुनुपर्छ ।

द्विविधा र अराजकताग्रस्त
 र हस्तक्षेप गर्दै आएको
 अपरिभाषित
 एउटा कालो समयविरुद्ध
 के ल्याउन सकिएला
 उज्यालोको आँधीबेहरी ?
(उज्यालोको प्रेमगीत)

 
कविहरू सिर्जनात्मक हस्तक्षेप र आक्रमणमा कलात्मकरूपमा आक्रामक नै हुनुपर्छ । द्विविधा, संशय र आत्मविश्वासरहित भावले भ्रम सिर्जना गर्दछ । यदाकदा आफ्नो सिर्जना भाषिक शैलीले पनि यस्तो अस्पष्टता देखाउन सक्छ । कवि सुवेदीका कविताका कुनै–कुनै बिम्बविधानमा देखिएको संशय उनको मौलिक ढाँचाको सकारात्मक रूप हुन सक्छ । वरिष्ठ कवि विमल निभाको उनीप्रतिको संश्लेषित टिप्पणीले पनि यस्तै संकेत गर्दछ । ‘पुरुषोत्तम सुवेदीको कविताको ढप र ढँाँचाको आफ्नैखाले मौलिकता रहेको छ । ... वस्तुतः कवि पुरुषोत्तम सुवेदीको कविताको अन्तर्य एउटा ठोस वैचारिकताले निर्मित छ ।’

यसरी कवि सुवेदीको गद्य प्रकाशन ‘उज्यालोको प्रेमगीत’ कवितासंग्रह सीमान्त जीवनप्रतिको जीवन्त प्रेमकाव्यका रूपमा पाठकको हातमा पुगेको छ । उनका रचनाहरूको कलात्मक आर्द्रता भनेको जीवनबोधी सौन्दर्यचिन्तन तथा श्रमप्रतिको सम्मान र मूल्यप्रति सचेतनापूर्वक अभिव्यक्त हुनु नै हो । झन्डै पाँच दशकदेखि कवितासाधनामा लागेका कवि सुवेदी नेपाली साहित्यको माहोलमा सुपरिचित साहित्यकारका रूपमा स्थापित छन् । सीमान्कृत वर्गका सामीप्य र सम्बन्धमा रहेर त्यहीँको रागात्मक सौन्दर्यलाई आफ्नो रचनाको कच्चा सामग्री बनाउने सुवेदीको प्रस्तुत कविताहरूले उनलाई यथार्थवादी प्रगतिशील कविका रूपमा थप परिचित गराएको छ ।

हरेक ढुंगामा मगमगाउँछ
मानवश्रमको गरिमा
तर, कुँदिएको छैन कतै पनि
कलाकारको नाम र गरिमाको गाथा
(ग्रेटवाल)

‘संक्रमणको साहित्य र समकालीनता’ (२०६६) नामको समालोचनासंग्रह प्रकाशित गरेर आफ्नो समालोचकीय कुशलता प्रस्तुत गरिसकेका कवि सुवेदीका कविताकृतिका रूपमा अन्य तीन पुस्तक प्रकाशित भइसकेका छन् । आतंक गन्ध (२०४८), एक्लो विजेता (२०५४) र सपनाको सट्टा बजार (२०७५) आदि प्रकाशित छन् । उनका यसअघिका कविताहरूमा जुन बलशाली स्वर र लय देखिन्थ्यो प्रस्तुत कवितासंग्रहमा त्यसभन्दा अझ परिष्कृत र परिपाकपूर्ण रहेको छ ।

उनी अहिलेको साहित्यिक बजारमा चर्चा र सेलिव्रेसनको ‘सिरिविन्दु’मा पनि पुगेका छैनन् र गाँठोपारे ‘ज्ञ’ सम्म झरेका पनि छैनन् । उनी आफ्नै मौलिक धरातलमा बलियोसँग टेकेर काव्यरचना गरिरहेका कवि र अग्रगामी वैचारिक धारका समालोचक पनि हुन् । उनी कृति र सुकीर्तिको मध्यमौलोमा उभिएको देखिन्छन् ।

अन्तमा कवि पुरुषोत्तम सुवेदीको प्रस्तुत कविताकृति एक सघन विचारसहितको नवीन काव्यकृतिको रूपमा आएको छ । यो पाठकको रोजाइको संग्रहणीय कृतिका रूपमा रहोस् हार्दिक शुभकामना ।

सुझावित समाचार