सुरुङको अन्धकार भित्र
निसासिएको छु म
लेदो, ढुंगा र बालुवा पन्छाउन नसक्दा
अध्याँरो चिर्न सकिएको छैन सुरुङको
मसँगै पुरिएका छन्
कैयौँ सहकर्मीहरू
र पुरिएका छन् हाम्रा सपनाहरू ।
मेघै नगर्जी
वर्षातै नभई
बगे बस्ती र सहरहरू
ढले मन्दिर र दरबारहरू
डुबे पाठशाला र अस्पतालहरू
रोइरह्यो मानवता
बगे मानवताका अवशेषहरू ।
देश बग्यो
बिश्व बग्यो
सँग–सँगै बग्यो मान्छेको दम्भ र आडम्बर
मृत्यु जित्न सकेन मान्छेले
म मृत्यु कुरिरहेछु
सरकार असफलताको सिँढी चढेकै हो त ?
हाम्रो उद्धार र पुनर्स्थापना गर्न नसकी ।
बाढीले मान्छे मात्रै बगाएन
बगायो सभ्यता र मानवता
सायद कोही बाँकी छैन अब
अन्तिम मान्छे म मात्रै हुन सक्छु
बाढीको प्रत्यक्षदर्शी
म पनि मरेँ भने
कसले लेख्ला भोटेकोशीको ताण्डवको इतिहास ?
मर्नेहरू मरिसके
सायद घाइते र अपांग रोइरहेछन्
बगर बनाइको बस्ती नियाल्दै
आफन्त गुमाएको पीडा बिर्सन नसकी
अन्योल भविष्य बोकेर
जिजीविषा सुम्सुम्याउँदै
बाँचेका होलान् सपना सबै गुमाएर ।
कोही जीवित भए
आउनुपर्ने हो मेरो उद्धारमा
लाग्छ कोही जीवित छैन
निर्जन भएको छ बस्ती
भोक र तिर्खा असह्य हुँदा पनि
म संघर्ष गरिरहेछु
रोमाञ्चित जीवन जिउन ।
त्रिशूली सुस्ताएकी होला
लासका बिस्कुन हेर्दै
टिमुरेबेँसी स्तब्ध होला
मानवताको त्रासदीपूर्ण मुत्यु देखेर
बेत्रावती प्रश्न गर्ली
जीवनको बिलय कहाँ लुकेको हुन्छ भनेर
म विक्षिप्त बनिरहेको छु
र आफैँलाई सोधिरहेछु
मेरो जीवन यात्रा कसरी टुंगिएला ?
म अनुत्तरित प्रश्नको जवाफ मागिरहेछु
खै कसले देला जवाफ ?
आकाश
धरती
या मानव ?