काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण गरिएको छ।
मंगलबार आयोजित लोकार्पण समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कृति लोकार्पण गरेका हुन्। कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।
‘कलेजी प्रेम’मा लेखक भट्टराईले प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावनालाई अभिव्यक्त गरेका छन्।
लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित कृति नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए।
लोकार्पण समारोहमा दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा कृतिबारे आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।
प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए। उनले देशप्रतिको नागरिक दायित्वमा जोड दिए ।