काठमाडौं/ यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण गरिएको छ। शनिबार एक समारोहबिच त्रिविका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन्।
समारोहका प्रमुख अतिथि प्राडा अवस्थीले जोशीमा सिर्जनात्मक प्रतिभा रहेको उल्लेख गर्दै भने, ‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ। जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ। उहाँमा इच्छा शक्ति छ। लोकपरिवेशमूलक निपूणता छ। लेखनमा आलंकारिता छ।’
यसैगरी, समीक्षक अधिकारीले ‘बैसाखी’मा भुइँमान्छेको इतिहास संग्रहित कथा रहेको बताउँदै नारीवादी मनोविज्ञानलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताइन्। पुस्तकका सम्पादक भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग लेख्न सफल भएको भन्दै कृतिकारलाई बधाई दिए।
कृतिकार जोशीले आफूले ‘बैसाखी’मार्फत सबै कुरा बताइसकेकाले अब पाठकका सुझावलाई नै अमूल्य निधि मानेर अगाडि बढ्ने बताए। ‘आमाले दुई दशकअघि भारतमा रहेका पितालाई चिट्ठी लेख्न भन्नुहुन्थ्यो। चिट्ठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो। म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ।’
शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ५९५ रुपैयाँ रहेको छ।