रानीकोटमा ‘फुकुवा’ अन्तर्संवाद कार्यक्रम सम्पन्न

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

साहित्यकार बिएन जोशीको नियात्रा कृति ‘फुकुवा’माथि भक्तपुरको रानीकोटमा अन्तर्संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निबन्धकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव रोशन शेरचनले जोशीका नियात्रा रोमाञ्चक र विस्मयकारी रहेको बताए। उनले जोशी विनापूर्वयोजना घरबाट निस्कने घुमक्कड लेखक भएको उल्लेख गर्दै यात्राका क्रममा परिवेशले नै यात्रालाई लय दिने गरेको बताए।

समीक्षक राजकुमार बानियाँले ‘फुकुवा’मा यात्रा र अनुभूतिको प्रतिध्वनि पाइने बताए। अन्य नेपाली लेखक नपुगेका स्थानमा पुगेर देश, परिवेश र दृश्यको चित्ताकर्षक वर्णन गर्नु जोशीको नियात्राकारिताको प्रमुख विशेषता रहेको उनको भनाइ थियो। कवि तथा समीक्षक सविता गौतम दाहालले जोशीका नियात्रामा यात्राको रोमाञ्चकतासँगै भाषिक लालित्य प्रचुर रहेको बताइन्। पुस्तकमा सामान्य ज्ञानका विषयमा समेत पर्याप्त जानकारी रहेकाले स्कुल तथा कलेजका पाठ्यपुस्तकमा समेत समावेश गर्न सकिने उनको धारणा थियो।

प्राज्ञ दीपक सापकोटाले लेखकले आफूले भोगेका घटना र अनुभूतिलाई आधिकारिक ढंगले नियात्रामा प्रस्तुत गरेको बताए। उनका अनुसार कृतिले भावी पुस्तालाई तत्कालीन समयको सामाजिक तथा परिवेशगत इतिहास बुझ्नसमेत सहयोग गर्नेछ। कवि रमी प्रियाले ‘ब्राइटनको वैभव’ नियात्रा पढ्दा आफू १५ वर्षअघि उक्त सहरमा जाँदा देखे–भोगेका विषयहरू स्मरण भएको बताइन्। उनले कृतिको भाषा र शैली अत्यन्तै परिष्कृत रहेको उल्लेख गरिन्।

नियात्राकार जोशीले ‘फुकुवा’मा देश–विदेशका यात्रा र त्यहाँका परिवेशलाई आफूले सकेसम्म कलात्मक तथा इमानदारीपूर्वक पाठकसमक्ष प्रस्तुत गरेको बताए। कार्यक्रममा साहित्यकार शैलेन्द्र अधिकारी, रूपक अलंकार, पुष्पराज पौडेललगायतले कृतिबारे धारणा राखेका थिए। शिखा बुक्सले प्रकाशन गरेको ‘फुकुवा’मा देश–विदेशका २० वटा नियात्रा समेटिएका छन्। जोशीका यसअघि संस्मरण ‘श्रमाटन’ र उपन्यास ‘मोडर्न बेली’ प्रकाशित भइसकेका छन्।

सुझावित समाचार