पूर्वीय भाषिक, दार्शनिक, चिकित्सकीय तथा आख्यान परम्परामा लैंगिक विविधतालाई केवल पुरुष र महिलाका दुईवटा स्थिर बाकसमा सीमित गरेर मात्र बुझिएको थिएन भन्ने संकेतहरू भेटिन्छन् । विशेषतः दक्षिण एसियाली परम्परामा जन्मँदा स्त्रीलिंगी शरीर भएका तर हुर्कंदै जाँदा परम्परागत स्त्रीत्वभन्दा फरक शारीरिक, स्वभावगत, मनोवैज्ञानिक, सामाजिक वा लैंगिक अभिव्यक्ति देखाउने व्यक्तिका लागि विभिन्न शब्द, अवधारणा र कथा पाइन्छन् ।
यहाँ एउटा महत्वपूर्ण सावधानी आवश्यक छ । विपुरुषिका, नस्त्री, किन्नारी, शिखण्डी वा अन्य प्राचीन शब्द र पात्रलाई आधुनिक ‘लेस्बियन’, ‘ट्रान्सम्यान’, ‘ननबाइनरी’ वा ‘ट्रान्सजेन्डर’का ठ्याक्कै पर्याय मान्नु उचित हुँदैन । एउटै शब्दको अर्थ काल, ग्रन्थ, भाषा, सम्प्रदाय र सामाजिक सन्दर्भअनुसार फरक हुन सक्छ । तर, यी अवधारणा र आख्यानले एउटा महत्वपूर्ण ऐतिहासिक तथ्यतर्फ संकेत गर्छन्, स्त्री जन्मेका व्यक्तिभित्र पनि प्रकृति, शरीर, यौनिकता, स्वभाव, भूमिका र अभिव्यक्तिको विविधता प्राचीन समाजले देखेको थियो ।
विपुरुषिका : स्त्री जन्म, पुरुषतर्फ विकसित हुने प्रकृति
विपुरुषिकाजस्ता शब्दलाई केही शास्त्रीय तथा भाषिक सन्दर्भमा स्त्री जन्म भएका तर पुरुषसदृश वा परम्परागत स्त्रीत्वभन्दा फरक प्रकृति, व्यवहार वा विशेषता भएका व्यक्तिको वर्णनसँग जोडेर अध्ययन गरिएको पाइन्छ । यहाँ ‘पुरुषसदृश’ भन्नाले स्त्री जन्मेका व्यक्तिको शरीरमा समयसँगै विकसित हुने पुरुषसदृश विभिन्न लिंग, अर्थात् चिह्न, लक्षण, स्वरूप, स्वभाव र अभिव्यक्तिलाई पनि व्यापक अर्थमा हेर्न सकिन्छ । यस दृष्टिले विपुरुषिका एउटा रोचक अवधारणा हो । यसले जन्मको प्रारम्भिक शारीरिक चिह्न र वयस्क हुँदै जाँदा प्रकट हुने व्यक्तिको सम्पूर्ण लैंगिक स्वरूप बहुसंख्यक महिलाको भन्दा फरक हुन सक्ने सम्भावनातर्फ संकेत गर्छ ।
तर, यसलाई आधुनिक ‘ट्रान्सम्यान’ वा ‘लेस्बियन’को प्राचीन नाम भनेर घोषणा गर्नु उचित हुँदैन । यसको महत्व यसमा छ कि पुरानो भाषाले पनि स्त्री जन्मेका व्यक्तिको प्रकृति एउटै प्रकारको हुन्छ भन्ने अनिवार्य मान्यता राखेको थिएन ।
नपुंसक, नस्त्री, किन्नर र किन्नारी : लैंगिक विविधताका पुराना भाषिक संकेत
पूर्वीय भाषिक परम्परामा पुरुष र महिलालाई मात्र आधार मानेर मानव लैंगिक विविधतालाई बुझ्नेभन्दा पनि पुरुष या महिला भनेर स्पष्ट रूपमा परिभाषित गर्न नसकिने वा ती सामान्य सीमाभन्दा फरक प्रकृति भएका व्यक्तिलाई जनाउने विभिन्न शब्द भेटिन्छन् । यस्ता शब्दलाई आजको ट्रान्सजेन्डर वा अन्य आधुनिक पहिचानसँग सीधा बराबरी गर्नु उचित हुँदैन । तर, तिनले पुराना समाजमा लैंगिक विविधतालाई कसरी भाषामा अभिव्यक्त गरिन्थ्यो भन्ने महत्वपूर्ण संकेत दिन्छन् ।
नपुंसक : ‘पुरुष होइन’ भन्ने भाषिक संकेत
नपुंसक शब्दलाई यसको संरचनात्मक अर्थमा पुंसपुरुषसँग सम्बन्धित नभएको भन्ने दिशामा बुझ्न सकिन्छ । यसले परम्परागत पुरुषत्वको सीमाभन्दा बाहिर पर्ने अवस्था वा प्रकृतिलाई संकेत गर्ने विभिन्न प्रयोग पाएको देखिन्छ ।
यसलाई केवल आधुनिक अर्थको ‘पुरुष होइन’ भन्ने स्थिर पहिचानमा सीमित गर्नु पनि उचित हुँदैन । यसको प्रयोग शरीर, लैंगिक प्रकृति, यौनिक क्षमता वा सामाजिक वर्गीकरणसँग सम्बन्धित विभिन्न सन्दर्भमा भएको पाइन्छ ।
नस्त्री : ‘स्त्री होइन’ भन्ने भाषिक संकेत
त्यसैगरी, नस्त्रीलाई शाब्दिक रूपमा ‘स्त्री होइन’ भन्ने दिशामा बुझ्न सकिन्छ । यसको अर्थ पनि आधुनिक कानुनी वा पहिचानको श्रेणीसँग सीधा मिलाउनुहुँदैन ।
यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ, ‘स्त्री’ भन्नाले वास्तवमा के बुझिन्थ्यो ? केवल जन्मको शारीरिक चिह्न ? शरीरको विकास ? स्वभाव ? लैंगिक प्रकृति ? सामाजिक भूमिका ? वा यी सबैको कुनै संयुक्त स्वरूप ? यस्ता शब्दले देखाउँछन् कि प्राचीन भाषिक परम्पराले पुरुष र स्त्रीका सामान्य सीमाभन्दा बाहिर देखिने मानवीय अवस्थालाई वर्णन गर्न आफ्नै शब्दावली विकास गरेको हुन सक्छ ।
किन्नर र किन्नारी : ‘पुरुष वा स्त्रीजस्तो होइन ?’ भन्ने संकेत
किन्नर र किन्नारी शब्दहरू पनि यस सन्दर्भमा रोचक छन् । शब्द संरचनाको दृष्टिले किन्नरलाई ‘कस्तो र कुन नर ?’ वा ‘नर हो र ?’ भन्ने प्रश्नात्मक अर्थतर्फ, र किन्नारीलाई त्यस्तै गरी ‘नारी हो र ?’ भन्ने प्रश्नात्मक अर्थतर्फ पढ्न सकिन्छ ।
तर, यी शब्दहरूको ऐतिहासिक अर्थ एउटै र स्थिर थिएन । विभिन्न संस्कृत, बौद्ध, हिन्दु तथा क्षेत्रीय परम्परामा किन्नर र किन्नारीका धार्मिक, पौराणिक र सांस्कृतिक अर्थ पनि छन् । त्यसैले, तिनलाई आजको ट्रान्सजेन्डरको सीधा पर्याय भन्नु ऐतिहासिक रूपमा सावधानीहीन हुन्छ ।
तर, भाषिक दृष्टिले यी शब्दले एउटा रोचक सम्भावना भने देखाउँछन्, जब कुनै व्यक्तिलाई प्रचलित ‘नर’ वा ‘नारी’को सामान्य ढाँचाले पूर्ण रूपमा समेट्न सकेन, भाषाले त्यसलाई प्रश्न गर्ने वा फरक रूपमा चिनाउने शब्द पनि निर्माण गर्न सक्थ्यो ।
यी शब्दलाई कसरी बुझ्ने ?
यसरी नपुंसक, नस्त्री, किन्नर र किन्नारीलाई एउटै आधुनिक श्रेणीका नामका रूपमा लिनुभन्दा तिनले फरक–फरक ऐतिहासिक सन्दर्भमा पुरुषत्व, स्त्रीत्व र लैंगिक प्रकृतिको सामान्य सीमाभन्दा बाहिरका अवस्थालाई भाषामा कसरी व्यक्त गरिन्थ्यो भन्ने अध्ययन गर्न मद्दत गर्छन् । यसको अर्थ प्राचीन समाजमा आजकै ट्रान्सजेन्डर अवधारणा थियो भन्ने होइन । बरु यसले एउटा महत्वपूर्ण तथ्यतर्फ संकेत गर्छ, मानव लैंगिक विविधताको अनुभव आधुनिक पश्चिमी शब्दावली आउनुभन्दा धेरै अगाडिदेखि विभिन्न पूर्वीय भाषा, संस्कृति र परम्परामा आफ्नै शब्द र अवधारणामार्फत अभिव्यक्त हुँदै आएको हुन सक्छ । यस व्यापक अर्थमा, नपुंसक, नस्त्री, किन्नर, किन्नारीलगायत यस्ता विविध भाषिक तथा सांस्कृतिक अवधारणालाई पूर्वीय परम्परामा तृतीय–प्रकृतिको व्यापक छातामुनि बुझ्न सकिन्छ ।
लेस्बियन अनुभव र स्त्रीबाट विकसित तृतीय प्रकृतिको भिन्नता
यहाँ एउटा महत्वपूर्ण भिन्नता स्पष्ट गर्न आवश्यक छ । आधुनिक भाषामा महिलाप्रति महिलाको प्रेम वा यौनिक आकर्षणलाई लेस्बियन भनिन्छ । तर, स्त्री जन्मेकी व्यक्तिमा पुरुषसदृश शरीर, व्यवहार, पहिरन वा स्वभाव देखिनु मात्र लेस्बियन हुनुको प्रमाण होइन । त्यसैगरी, महिलाप्रति आकर्षण राख्ने प्रत्येक लेस्बियन महिला तृतीया प्रकृतिको व्यक्ति हुँदैनन् ।
त्यसैले, पूर्वीय शब्दावलीको अध्ययन गर्दा कम्तीमा तीनवटा प्रश्न छुट्याउनुपर्छ—
व्यक्ति कसप्रति आकर्षित हुन्छ ? — यौनिक अभिमुखताको प्रश्न ।
व्यक्तिको शरीर वा प्रकृति कस्तो छ ? — जैविक तथा लैंगिक पहिचान विविधताको प्रश्न ।
व्यक्तिले आफूलाई कसरी अभिव्यक्त गर्छ ? — लैंगिक अभिव्यक्तिको प्रश्न ।
उदाहरणका लागि, कुनै स्त्री जन्मेकी व्यक्तिले महिलाप्रति आकर्षण राख्न सक्छिन्, तर आफ्नो स्त्री पहिचानमा कुनै असहजता नहुन सक्छ । अर्की व्यक्तिमा पुरुषसदृश शारीरिक वा व्यावहारिक विशेषता हुन सक्छ । तेस्री व्यक्तिले आफूलाई स्त्रीभन्दा फरक लैंगिक प्रकृतिका रूपमा अनुभव गर्न सक्छिन् । यी सबै अनुभवलाई एउटै शब्दमा समेट्नु मानव विविधतालाई पुनः अर्को बाकसमा बन्द गर्नु हो ।
(पन्तको आइतबार सार्वजनिक हुने पुस्तक ‘लिंगदेखि मानव–प्रकृतिसम्म’बाट)