पश्चिम बंगाल विधान सभा चुनावमा ९१ प्रतिशतले हाले मत

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

बिहीबार भारतका दुई राज्य पश्चिम बंगाल र तमिलनाडूमा विधान सभा निर्वाचन भयो । पश्चिम बंगालका विधान सभा चुनावमा प्रायः सधैँ उच्च मतदाता सहभागिता देखिने यी दुवै राज्यमा यसपटक रेकर्डस्तरमा मतदान भयो । पश्चिम बंगालको पहिलो चरणको मतदान सन् १९४७ मा भारत स्वतन्त्र भएपछिकै सबैभन्दा उच्च देखियो ।

बिहीबार साँझ ७ बजेसम्म पहिलो चरणको निर्वाचनमा सहभागी हुन योग्य ३.६ करोड दर्ता भएका मतदातामध्ये ९१.३५ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले बतायो । उता बिहीबार नै निर्वाचन भएको तमिलनाडूमा खसेको मतबारे भारतको निर्वाचन आयोगले मतदान सकिएपछि जारी गरेको तथ्यांकअनुसार तमिलनाडूमा ८४.६ प्रतिशत मतदान भयो ।

यो सन् १९५२ पछि राज्यको विधान सभा चुनावमा अहिलेसम्मकै उच्च मतदान हो । यसअघिको रेकर्ड सन् २०११ मा कायम भएको थियो, जतिखेर ७८.२९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

बिहीबार पहिलो चरणमा पश्चिम बंगालको २९४ विधान सभा निर्वाचन क्षेत्रमध्ये १५२ मा मतदान भएको थियो भने तमिलनाडू विधान सभाका सबै २३४ सदस्यका लागि निर्वाचन भयो । अब पश्चिम बंगालमा अप्रिल २९ मा दोस्रो चरणको मतदान हुनेछ र दुवै स्थानको नतिजा ४ मे २०२६ मा घोषणा गरिनेछ ।  

विगतदेखि नै बंगालको विधान सभा चुनावमा मतदाताको सहभागिता भारतका अन्य राज्यको तुलनामा उच्च देखिन्छ । यसका पछाडि बलियो पार्टी अभियान, जनसांख्यिकी, सामुदायिक गतिशीलता र मतदानमा महिलाको बढ्दो सहभागिता (पुरुष मतदानकै हाराहारी वा अझ बढी) जस्ता विषय रहन्थे ।

यसपटक उल्लेखनीय कुरा चुनावअघि निर्वाचन आयोगको मतदाता सूचीमा बसाइँसराइ गरेका वा दिवंगत भएकालगायत धेरै नाम हटाउने अभियान चलाएको थियो । विशेष गहन संशोधन अर्थात् स्पेसन इन्टेन्सिभ रिभिज नाममा गरिएको यो अभ्यासमा धेरै नहट्नुपर्ने मानिसको नामसमेत हटेको भनेर विवाद पनि भएको थियो । यस अभियानमा पश्चिम बंगालबाट करिब ९१ लाख मतदाता र तमिलनाडूमा ७४ लाख नाम मतदाता सूचीबाट हटाइएको थियो । 

सुझावित समाचार