इतिहासमा आज

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

सन् १८१५ : इन्डोनेसियाको माउन्ट ट्याम्बोरामा विश्वमा रेकर्ड राख्न थालेपछिकै सबैभन्दा ठुलो ज्वालामुखी विस्फोट भयो । झन्डै एक लाखको ज्यान लिएको त्यस ज्वाला विस्फोटपछि आकाशमा जम्मा भएको विशाल खरानीले सूर्यको किरण छेक्दा विश्वभर चिसो बढेको थियो ।

सन् १७१० : बौद्धिक सम्पत्तिमाथि संरक्षण प्रदान गर्ने विश्वको पहिलो सर्वाधिकारसम्बन्धी कानुन ‘स्ट्याचुट अफ एन’ बेलायतमा जारी भयो ।

सन् १८६१ : अमेरिकाको चर्चित विश्वविद्यालय ‘म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’ यसै दिन गठन भएको थियो ।

सन् १९१२ : टाइटानिक जहाजले यसै दिन साउथएम्पटनबाट आफ्नो पहिलो र अन्तिम यात्रा सुरु गर्यो ।

सन् १९१५ : नर्वेले ‘कास्टबरगियन बाल कानुन’ पारित गर्दै विश्वमा पहिलोपटक विवाहेत्तर सम्बन्धबाट जन्मिएका बालबालिकाको सुरक्षा प्रदान गर्यो ।

सन् १९४६ : दोस्रो विश्वयुद्धपछि मित्रशक्तिको कब्जामा रहेको जापानमा पहिलो संसदीय निर्वाचन भयो ।

सन् १९७२ : अमेरिका, सोभियत संघ र सत्तरी देश सम्मिलित ‘जैविक हतियारसम्बन्धी सम्मेलन’ले जैविक तथा विशाक्त हतियारको विकास, निर्माण र भण्डारणमा प्रतिबन्ध लगाउने सन्धि तयार पार्यो ।

सन् १९८८ : नर्दन आयरल्यान्ड सम्बन्धमा आइरिस सरकार र ब्रिटिस सरकारबिच ‘गुड फ्राइडे सम्झौता’मा (बेलफास्ट सम्झौता पनि भनिने) हस्ताक्षर भयो ।

सन् १९९६ : अस्ट्रेलियाको ब्यारो आइल्यान्डमा आएको हुरीको गति ४०८ किमि मापन भयो, जुन हालसम्म रेकर्ड भएको सबैभन्दा तीव्र गतिको हुरी हो ।

सन् २०१९ : ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर सार्वजनिक भयो । ‘इभेन्ट होराइजन टेलिस्कप (इएचटी)’ सहकार्यले सार्वजनिक गरेको तस्बिर एम–८७ तारापुञ्चको केन्द्रमा रहेको कालो छिद्रको थियो, जसको पिण्ड हाम्रो सूर्यभन्दा ६.५ अर्ब ठुलो भएको बताइएको छ ।

सन् २०२२ : संसद्मा विश्वासको मत पाउन नसकेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदबाट हटाइए । 

सुझावित समाचार