शंकरको शतकमा पुलिसको सानदार जित

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

ओपनर शंकर रानाको शतकीय इनिङ्सको सहयोगमा नेपाल पुलिस क्लबले बिहीबार प्रधानमन्त्री (पिएम) एकदिवसीय कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशमाथि सात विकेटको सानदार जित निकालेको छ । मूलपानी मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६५ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा पुलिसले ४४ ओभरमा तीन विकेटको नोक्सानीमा २७१ रन जोड्दै सानदार जित हात पारेको हो । 

जितसँगै पुलिस ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले तीनमध्ये दुई खेल जितेको । त्रिभुवन आर्मीको पनि ४ अंक छ । तर, रनरेटमा पछि पर्दा आर्मी दोस्रो स्थानमा रह्यो । बागमती २ अंकसहित छैटौँ स्थानमा छ । पुलिसले बागमतीलाई सहज पाखा लगाउने क्रममा ओपनिङको उत्कृष्ट साथ पायो । ओपनर दिनेश खरेल र शंकरले पहिलो विकेटका लागि २४.५ ओभरमा १५९ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार खडा गरेका थिए । 

सुवास खत्रीको ओभरमा दिनेश उत्तरम मगरबाट स्टम्पिङ भए । उनले ७५ बलमा आठ चौका र तीन छक्का प्रहार गरी ७० रनको योगदान दिए । इनिङ्सको ४२.६ ओभरमा शतकीय इनिङ्स खेलेका शंकर आउट भए । उनले १२८ बलमा ११६ रन बनाउन १३ चौका र चार छक्का प्रहार गरेका थिए । उनले ११६ बलमा शतक लगाएका थिए । पुलिसले तेस्रो विकेटका लागि ८० बलमा ७८ रन जोडेको थियो । पुलिसको जितमा कप्तान आरिफ शेखले ४७ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४३ रनको नटआउट इनिङ्स खेले । यसैगरी, बागमतीले पुलिसलाई २४ अतिरिक्त रन दिएको थियो । जसमा १९ वाइड रह्यो । 

दुई अर्धशतक
पहिलो ब्याटिङ गरेको बागमतीका लागि दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । मध्यक्रमका ईशान पाण्डे र पवन थापाले अर्धशतक लगाउँदा बागमतीले पुलिसलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । ईशानले ८० बलमा ६ चौका र तीन छक्का प्रहार गरी ७० रन जोडे । पवनले १०१ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ७९ रन जोडेका थिए । यी दुवैले चौथो विकेटका लागि १२४ रनको साझेदारी गर्दै टोलीलाई ७१–३ बाट १९५–४ को बलियो स्थितिमा पुर्याए । 

आर्मीको सहज जित
आर्मीले मूलपानी मैदानमा गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको गण्डकीले ४९.४ ओभरमा सबै विकेटको गुमाएर २०९ रन जोडेको थियो । प्रत्युत्तरमा आर्मीले ३४ ओभरमा तीन विकेटको क्षतिमा २१० रन जोड्दै २ अंक बटुल्यो । आर्मीको जिजमा कुशल मल्लले अलराउन्ड खेल देखाए । उनले ब्याटिङमा ४२ बलमा ४३ रन तथा बलिङमा १८ रन दिएर दुई विकेट हात पारेका थिए । आर्मीका लागि ओपनर तृतराज दासले ५१ बलमा आठ चौका र एक छक्का प्रहार गरी ५१ रन बनाए । कप्तान विनोद भण्डारीले ५७ बल सामना गरी सात चौका र दुई छक्का प्रहार गरी ५८ रन जोडे । 

See More On

सुझावित समाचार