बंगलादेशका नयाँ प्रधानमन्त्रीको रूपमा रहमानको शपथ

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

सन् २०२४ को जुलाई–अगस्टमा उठेको विद्यार्थी नेतृत्वको विद्रोहपछि बंगलादेशमा भएको पहिलो मतदानमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले बहुमत हासिल गरेको केही दिनपछि यसका नेता तारिक रहमानले नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । ‘म कानुनअनुरूप देशको प्रधानमन्त्री पदमा रहेर गर्नुपर्ने कर्तव्य इमानदारीपूर्वक पूरा गर्नेछु,’ मंगलबार राजधानी ढाकामा संसद् भवनबाहिर आयोजित टेलिभिजन समारोहमा राष्ट्रपति मोहम्मद साहबुद्दिनसामु तारिकले शपथ लिए ।

तारिकले प्रधानमन्त्रीको शपथ लिनुअघि नवनिर्वाचित सांसदहरूले शपथ लिएका थिए । उनीहरूलाई देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले शपथ गराएका थिए । शपथग्रहण समारोहमा पाकिस्तानी विदेशमन्त्री, भारतका सभामुखसहित विदेशी प्रतिष्ठित व्यक्ति उपस्थित थिए ।

मंगलबार नै तारिकको मन्त्रिपरिषद्मा रहने अधिकांश सदस्यले पनि शपथ लिने कार्यक्रम थियो । कडा सुरक्षाका बाबजुद सयौँ मानिस दिनभरि संसद् भवनबाहिरको मैदानमा भेला भएर त्यहाँको कार्यक्रमको अवलोकन गरेका थिए । फेब्रुअरी १२ मा भएको चुनावमा बिएनपीले दुईतिहाइभन्दा बढी मत प्राप्त गरेको छ । पार्टी र यसका सहयोगी दलले कम्तीमा २१२ सिट जितेका थिए । 

संसद्का ३५० सिटमध्ये २९९ सिटमा प्रत्यक्ष निर्वाचन भएकोमा प्रमुख प्रतिद्वन्द्वी दल जमात–ए–इस्लामी र यसका सहयोगी दलले ७७ सिट जिते । हसिनाको अबामी लिगलाई भने यसपटक चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

विद्यार्थी आन्दोलनमाथिको दमनका कारण हसिना र उनको पार्टीविरुद्ध अघिल्लो सरकारले प्रतिबन्ध लगाएको थियो । हसिना पदच्युत भएपछि १८ महिनासम्म देशको नेतृत्व नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले गरेका थिए । 

सुझावित समाचार