भारत र अन्य देशलाई रुसी तेल खरिदमा अवरोध गरेको भन्दै मस्कोले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पलाई ‘आर्थिक प्रभुत्व प्राप्त गर्न’ शुल्क, प्रतिबन्ध र प्रत्यक्ष प्रतिबन्धजस्ता कदम चालेको आरोप लगाए ।
टिभी ब्रिक्ससँग कुरा गर्दै विदेशमन्त्रीले गत वर्ष ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको अलास्का वार्ताका क्रममा मस्कोले युक्रेनमा अमेरिकी प्रस्ताव स्वीकार गरेको दाबी गरे । अमेरिकी सर्त स्वीकार गरे पनि वासिंटनले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाएको छ र अन्य राष्ट्रलाई रुसी ऊर्जा खरिद गर्न रोक लगाउन खोजेको छ ।
‘अमेरिका हामीलाई युक्रेन समस्या समाधान गरिनुपर्छ भन्छ । हामीले अमेरिकी प्रस्ताव स्वीकार गर्यौं । अमेरिकी अडान हाम्रा लागि महŒवपूर्ण थियो । उनीहरूको प्रस्ताव स्वीकार गरेर हामीले युक्रेनी मुद्दा समाधान गर्ने र पारस्परिक लाभमा अगाडि बढ्ने देखिन्छ,’ उनको भनाइ उद्धृत गर्दै रुसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।
‘अहिलेसम्म, वास्तविकता एकदमै विपरीत छ । नयाँ प्रतिबन्ध लगाइएका छन्, र खुला समुद्रमा ट्यांकरविरुद्ध ‘युद्ध’ छेडिएको छ, जुन समुद्रको कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको उल्लंघन हो । पश्चिमा देशले भारत र हाम्रा अन्य साझेदारलाई सस्तो, किफायती रुसी ऊर्जा स्रोत (युरोपमा लामो समयदेखि प्रतिबन्ध लगाइएको छ) किन्नबाट प्रतिबन्ध लगाउन खोजिरहेका छन् र बढी मूल्यमा अमेरिकी एलएनजी (तरल प्राकृतिक ग्यास) किन्न बाध्य पारिरहेका छन्,’ पुटिनका सहयोगीले भने ।