पछिल्लो समय विश्व परिवेशमा एउटा अभियान चलेको छ, ‘टेक केयर अफ योरसेल्फ’ । तर, एकपछि अर्को चोटबाट तंग्रिएकी कविता चित्रकार परोपकारमा पनि संलग्न छिन् । सानैदेखि आफ्ना इच्छा, आकांक्षा र सपनालाई परिवार र अरूको हितभन्दा पछाडि राख्ने कविताले आफ्नै लागि समय निकाल्न पाइनन् ।
आफ्नी आमा र दिदी क्यान्सरबाट निधन हुँदा साक्षी बनेकी कविता आफैँलाई पछि माथिल्लो चरणको स्तन क्यान्सर डायग्नोसिस हुँदा नराम्ररी भयभीत बनायो । सुरुमा उनी निकै डराइन् । तर, हिम्मत हारिनन् । येनकेन उपचार प्रक्रियामा लागिन् । उपचारपछि पनि उनको मानसिक स्फुर्तिमा आशातीत सुधार आएन । यसैवेला उनकी हितैषीले एउटा उपाय निकालिन्, साइकल चलाउन सिकाएर त्यसमा मन भुलाउने र मानसिक रूपमा व्यस्त बनाउने ।
तर, बाह्य संसार कहाँ सजिलो छ र ? केमोथेरापी लिइरहेकी कवितालाई भवितव्य केही भए अपजस आउँला भन्ने डरले गुरुले साइकल सिकाउन चाहेनन् । तर, कविता वा उनकी हितैषीले हार मानेनन् । यस्तैमा मच्छाकाजी, सुमनजी उद्धारकर्ताका रूपमा प्रकट भए । जसले गर्दा छोटो समयमा नै कविताजीले साइकल चलाउन सिकिन् ।
बिस्तारै कवितालाई साइक्लिङको रस बस्यो । समयक्रममा यस्तरी रस बस्यो कि क्यान्सर र यसको उपचारको डर सामसुम हुने गरी साइक्लिङ टुरमा सहभागी हुन थालिन् । अहिले उनी साइकल समुदायमा सबैले चिन्ने भएकी छिन् । धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । कविता भन्छिन्, ‘साइकल चलाउन थालेपछि छुट्टै ऊर्जा र फुर्ती जाग्छ । पहिलेजस्तो निराश हुने फुर्सद नै छैन ।’ अचेल उनी साइकल यात्रा गरिरहन्छिन् ।
केही समयअघिसम्म कोठामा एक्लै बसेर मृत्युको दिन गन्दै बस्ने कविताको जीवन १८० डिग्रीले मोडिएसँगै रमाइलो गर्दै, हाँसखेल गर्दै जीवन बिताउने योजनामा छिन् । अब त आफ्नो हेरचाह पनि गर्न थालेकी छिन् । साथै, सन् २०२६ जनवरी १ देखि क्यान्सर प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले मध्यपहाडी लोकमार्गमा साइकल यात्रामा निस्किँदै छिन् ।
हर्क लामालाई आफ्नी हजुरआमाको सधैँ हँसिलो अनुहार सम्झना आउँछ । हजुरआमाको सम्झना आएलगत्तै हर्क आफ्नो साइकलतिर हेर्छन् र मनमै गुन्छन्– साइकलको रङ र हजुरआमाले लगाउने गर्नुभएको मालाको रङ त उस्तै रहेछ । यिनै हर्क पनि साइकलमै एक महिना लामो मध्यपहाडी लोकमार्ग छिचोल्न लाग्दै छन् । यात्राको बलमा संकलित हुने रकम (कोष) बाट आगामी दिनमा धेरै क्यान्सर प्रभावितलाई निको हुने आशा र जीवनप्रतिको भरोसा पलाउने हर्क सुनाउँछन् ।
यी दुवैले १७ पुसमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पूर्वको चिवाभञ्ज्याङबाट आफ्नो यात्रा सुरु गर्नेछन् । यो १८०० किमि लामो चुनौतीपूर्ण यात्रा अभियान हर्क र साइकल कल्चर कम्युनिटीका साथै यो हामी सबै मानवताको साझा अभियान हो । यसबाट संकलन हुने रकम अर्बुद रोगबाट प्रभावित एवं सम्भावित मृत्युको मुखबाट बचाउन प्रयासरत तर आर्थिक रूपमा कमजोर क्यान्सर प्रभावितका लागि समर्पित गरिनेछ ।