गण्डकी प्रदेशमा रहेका सातमध्ये चार विमानस्थल प्रयोगविहीन छन्। कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पुरानो विमानस्थल तथा मुस्ताङस्थित जोमसोम विमानस्थल मात्र सञ्चालनमा छन्। बागलुङमा बलेवा र ढोरपाटन, मनाङको हुम्डे र गोरखाको पालुङटार विमानस्थल बन्द छन्। पर्यटकलाई लक्षित गरी निर्माण गरिए पनि सञ्चालनमा आउन सकेका छैनन्।
बागलुङका दुवै विमानस्थल बन्द रहेका वेला क्यानले मध्यपहाडी लोकमार्ग र गोरुसिंगे, सालझन्डी ढोरपाटन मार्गको संगमस्थल अर्नाकोटमा ट्विनअटर विमान आउजाउ गर्न सक्ने विमानस्थल निर्माणका लागि डिपिआर तयार गरेको छ। डिपिआरअनुसार विमानस्थलको लागत दुई अर्ब छ।
पालुङटार नगरपालिका– १० मा रहेको पालुङटार विमानस्थल हाल गौचरन तथा खेलमैदान बनेको छ। १७ वर्षसम्म सञ्चालनमा आएको विमानस्थल ०३५ देखि बन्द छ। १८५ रोपनीमा फैलिएको विमानस्थल हाल सडक निर्माणको क्रममा र केही व्यक्तिले अतिक्रमण गर्दा साँघुरिन पुगेको छ। विगतमा गोरखा, तनहुँ र लमजुङमा खाद्यान्न तथा आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्न पालुङटार विमानस्थल प्रयोग हुन्थ्यो। तर, पृथ्वी राजमार्ग खुलेर गोरखा, तनहुँ र लमजुङमा सवारीसाधन पुगेपछि यो विमानस्थल बन्द हुन पुगेको थियो। पछिल्लोपटक धावनमार्ग स्तरोन्नति गर्न ०७७ मा तीन करोड १७ लाख ५० हजार बजेट विनियोजन भए पनि फ्रिज भएको थियो।
त्यस्तै, मनाङको ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थल ०७६ देखि बन्द छ। आव ०६९/७० मा नौ करोडमा ६ सय मिटरको धावनमार्गलाई नौ सय मिटर बनाएर कालोपत्र गरिएको थियो। त्यसको ६ वर्षपछि २७ भदौ ०७६ मा समिट एयरले परीक्षण उडान गरे पनि त्यसपछि विमानस्थल बन्द छ। यो विमानस्थल विशेष गरी मनाङ हुँदै तिलिचो ताल, थोराङपास र मुस्ताङको जोमसोम हुँदै पोखरा फर्कने पर्यटकले बढी प्रयोग गर्ने गरेका थिए। विमानस्थलको स्तरोन्नति गर्नुअघि नेपाल वायुसेवा निगमले सातामा दुईपटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भर्दै आएको थियो।
बागलुङका बलेवा र ढोरपाटन विमानस्थल पनि बन्द छन्। बागलुङ नगरपालिका– १४, नारायणस्थानस्थित बलेवा विमानस्थल ०४८ मै बन्द भएको थियो। नागरिक उड्डयन प्राधिकरण र बागलुङ नगरपालिकाको संयुक्त ११ करोड लगानीमा सात सय मिटर धावनमार्ग कालोपत्र, एक हजार एक सय मिटर मैदान ग्राभेल, तारबार, टर्मिनल भवन मर्मत गरेर नियमित गरिएको थियो। तर, बागलुङ नगरपालिकाले कुल सिट क्षमतामध्ये खाली भएको सिटको शुल्क तिर्ने गरी ९ चैत ०७४ देखि विमानस्थल सञ्चालनमा ल्याएको थियो। त्यतिखेर नेपाल र ताराका विमानले सातामा दुई दिन उडान गर्थे। चार महिना नगरपालिकाले उडान गर्दा खाली सिटको २० लाख रकम तिरेको थियो। त्यसपछि उडान ठप्प भएको छ। पोखरा–बागलुङ राजमार्ग खुल्दा त्यसको असर विमानस्थल सञ्चालनमा परेको देखिन्छ।
ढोरपाटन विमानस्थल दुई दशकदेखि बन्द छ। पाँच सय ६१ रोपनीमा फैलिएको विमानस्थल हाल गौचरणमा परिणत भएको छ। आरक्षमा सिकारका लागि जाने सिकारी हेलिकोप्टरमार्फत ढोरपाटन जाने गरेका छन्। विमानस्थलको सुरक्षाका लागि तारबार लगाइए पनि जीर्ण छ।