सरकारी ठेक्काह्याकिङमा नौ ठेकेदार पक्राउ

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण

सरकारको अनलाइन बोलपत्र प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका थप नौ निर्माण व्यवसायी पक्राउ परेका छन् । लामो अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई शनिबार पक्राउ गरेको हो । 

गत चैतमा सिआइबीले यस प्रकरणमा ठेकेदार र ह्याकरलाई पक्राउ गरी २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । दोस्रो चरणको अनुसन्धानमा थप ठेकेदार पक्राउ परेका हुन् । अनलाइन ठेक्का प्रणालीमा ह्याकिङ गर्ने केहीलाई पक्राउ गरी अनुसन्धान भइरहेको सिआइबीका प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीले बताए ।

सिआइबीले उनीमाथि थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाएको छ । प्रहरीले गत वैशाखमा पूर्वमन्त्रीसमेत रहेका कालिका निर्माण निर्माण सेवाका विक्रम पाण्डेसहित आशिष निर्माण सेवाका ऋषिकेश गौली, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आइकोन प्रालिका स्वदेश पोखरेल, चपुर निर्माण सेवाका अमृत बोहरा, भिसान कन्ट्रक्सनका टंककुमार श्रेष्ठ, सिभांश निर्माण सेवाका अनिल श्रेष्ठलाई पक्राउ गरेको थियो । 

त्यस्तै, गीताञ्जली कन्ट्रक्सनका जीवनकुमार दास, कटुवाल कन्ट्रक्सनका सागर कटवाल, थुम्का निर्माण सेवाका सञ्जय भट्ट, इन्जिनियर भाष्करराज अर्याल, भरत धामी र सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर मुद्दा दायर भएको गरेको थियो ।

जसमध्ये कम्प्युटर अपरेटर देउजा जेल चलान भएका थिए । त्यसवेला केबिके कन्ट्रक्सनका राहुलजंग कार्की, रमिता इन्फ्रास्ट्रक्चरका इन्द्रबहादुर बोहरा, एमके कन्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, नन्दी कन्ट्रक्सनका कृष्णकुमार खत्री, आशिष निर्माण सेवाका कर्मचारी ज्योति सुवेदी, चपुर निर्माण सेवाका सरोज दाहाल तथा राइजिङ पिक कन्ट्रक्सनका सञ्चालक सुजन अधिकारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । प्रारम्भिक छानबिनमा करिब दुई हजार ठेक्का यसरी ह्याकिङ गरेर हत्याइएको खुलेको थियो । 

सुझावित समाचार