सर्लाही/ सर्लाहीको बागमती क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका– ४, बरमबाबा सामुदायिक वननजिकै स्थानीयको परबर खेतमा आइतबार बिहान वयस्क जंगली हात्ती मृत फेला परेको हो । बिहान खेतमा परबर टिप्न पुगेका स्थानीयले बिच खेतमा हात्ती मरेको फेला पारेका थिए ।
मध्यराति हात्ती कराएको आवाज सुनेको ठाउँमा मरेको अवस्थामा हात्ती फेला परेको बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाले बताए । सर्लाहीको बागमती क्षेत्रमा हरेक वर्ष धान, मकै खेतीको सिजनमा चितवन र पर्सा निकुञ्जबाट जंगली हात्तीको बथान आउने गरेको छ । ‘गत राति पनि त्यही होला भन्ने लाग्यो,’ उनले भने, ‘राति जाने कुरा पनि भएन हात्ती आएको ठाउँमा, बिहान त हात्ती मरिरहेको रहेछ ।’ स्थानीयले प्रहरी प्रशासन र वन कार्यालयलाई हात्ती मरेको विषयमा जानकारी गराएको उनले बताए ।
सबडिभिजन वन कार्यालय मुर्तियाका प्रमुख सुवास योगीले अन्दाजी ३० देखि ३५ वर्षको वयस्क पोथी हात्ती मरेको फेला परेको बताए । यकिन कारण नखुले पनि विषाक्त खानाका कारण हात्ती मरेको हुन सक्ने उनको आशंका छ । ‘के कति कारणले हात्ती मरेको हो, यकिन हुन त परीक्षण नै हुनुपर्छ,’ उनले भने, ‘घटनास्थलको प्रकृति र बाहिरी अवस्था हेर्दा हात्तीले विषाक्त खानेकुरा खाएजस्तो देखिन्छ ।’ हात्ती मरेको स्थानआसपासमा खेत माडी मैदान गरेको, अन्धाधुन्ध हिँडेको देखिएको छ ।
पीडामा छटपटिएर हात्ती खेतमा रन्थनिएर दगुरेको स्थानीयको अनुमान छ । मुचुल्काको प्रक्रिया पूरा गरेपछि हात्तीको सद्गत गरिने सबडिभिजन मुर्तियाका प्रमुख योगीले बताए ।