सडक स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

बागलुङको निसीखोला गाउँपालिका– ३, बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । घटनामा एक मजदुर गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु.१क ३४४६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेको थियो । ढिस्कोमा पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको हो ।

दुवैजनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो । घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका– ५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि बुर्तीबाङ अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार