वडा तहसम्मै कांग्रेस विवादको प्रभाव

बाबु गगनतिर, छोरा देउवा समूहका वडा सभापति

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण

घर एउटै । पार्टी पनि एउटै । तर, राजनीतिक समूह भने फरक । उदयपुरको कटारी नगरपालिका– ३ मा कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीले रोचक राजनीतिक संयोग जन्माएको छ । एउटै घरका बाबु–छोरा नै कांग्रेसका फरक धारबाट वडा सभापति बनेका छन् ।

६६ वर्षीय बैजनाथ अधिकारी गगन थापा नेतृत्वको पक्षबाट वडा सभापति बनेका छन् भने उनका ४२ वर्षीय छोरा जिरालाल अधिकारी शेरबहादुर देउवा समूहबाट वडा सभापति चयन भएका छन् । एउटै परिवारमा दुई पुस्ता कांग्रेसको राजनीतिमा सक्रिय छन् । तर, पार्टीभित्र नेतृत्व र समूह रोज्ने सवालमा बाबु–छोराको बाटो फरक छ ।

स्थानीय कांग्रेस कार्यकर्ताले उनीहरूको राजनीतिक अवस्थालाई सहज भाषामा ‘बाबु गगनतिर, छोरा देउवातिर’ भनेर व्याख्या गर्न थालेका छन् । राजनीतिक प्रतिस्पर्धाका कारण बाबु–छोराबिच व्यक्तिगत सम्बन्धमा भने कुनै असर नपरेको उनीहरू बताउँछन् । बैजनाथ कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय छन् । उनी भन्छन्, ‘मेरो रोजाइको कांग्रेस र आधिकारी कांग्रेस गगन समूहकै हो । त्यही भएर म यतै लागेको छु, छोरो देउवा समूहमा छ ।’

उमेरले ६६ वर्ष पुगे पनि बैजनाथ वडा संगठनको नेतृत्वमा सक्रिय छन् । यसपटक उनी गगन थापा नेतृत्वको पक्षबाट वडा सभापति बनेका हुन् । उनका छोरा जिरालाल भने ४२ वर्षका छन् । बाबुको राजनीतिक पुस्ताभन्दा करिब २४ वर्ष कान्छा जिरालाल देउवा समूहबाट वडा सभापति बनेका छन् । यसरी एउटै घरबाट कांग्रेसका दुई फरक समूहको वडा नेतृत्व सम्हाल्ने अवस्था बनेको हो । उनी भन्छन्, ‘मेरो रोजाइको कांग्रेस गगन होइन, देउवा हो ।’

कांग्रेसको केन्द्रको आन्तरिक राजनीतिमा समूहगत प्रतिस्पर्धा सामान्य विषय भए पनि परिवारभित्रै फरक समूहको नेतृत्वमा पुग्ने अवस्था भने कमै देखिन्छ । बाबुका लागि राजनीतिक अनुभव र लामो संगठनात्मक यात्राको निरन्तरता छ ।

छोराका लागि नयाँ पुस्ताको सक्रियता र आफ्नै राजनीतिक पहिचान निर्माण गर्ने अवसर भनेका छन् । तर, दुवैको संगठनात्मक गन्तव्य भने एउटै पार्टीभित्र छ । कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियासँगै केन्द्रमा देखिएको समूहगत प्रतिस्पर्धा जिल्ला, पालिका हुँदै वडा तहसम्म पुगेको छ । 

सुझावित समाचार