धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति गगन थापाले दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’
काठमाडौँको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा सभापति थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए।
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण प्रस्ताव अघि सारेका छन्।
प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढेको स्वीकार गरिएको छ। अब नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित पार्टीलाई अघि बढाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ।
गगनलाई रविको सुझाव– पार्टीमा बसेर सधैँ हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिँदा राम्रो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब फकाउनुभन्दा छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवाको नाम उल्लेख नगरी लामिछानेले भने, ‘पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ कहिले काहीँ।’
पहिला मैले क्रमभंग गर्थें, अहिले गगनजीले क्रमभंग गर्नुभयोः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगता गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई बधाई दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पहिला–पहिला म क्रमभंग गर्थे, अहिले गगनजीले गर्नुभयो।’ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी थापाको भएको उनको भनाइ थियो।
अहिले सरकार स्वेच्छाचारितातर्फ सरकार अघि बढेको उनले आरोप लगाउँदै त्यसलाई सच्याउन सबै मिलेर अघि बढ्नुपर्ने बताए।
‘म्युजिकल चेयरजस्तो बनेको राजनीतिले सबै दल र नेता गलत हुन् भन्ने सन्देश गयो’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चेयर’जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता खराब छन् भन्ने सन्देश गएको र त्यसकै परिणामस्वरूप २३ र २४ भदौ आएको उनको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटक-पटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए।
संसदभित्र पनि खुलामञ्च चाहिएको छः गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिलेको संसद् खुला नभएको भन्दै संसदभित्र खुलामञ्च चाहिएको बताए। अहिलेको संसद् नियन्त्रित देखिँदै गएको भन्दै उनले यस्तो बताएका हुन्।
पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘संसदभित्र खुलामञ्च चाहिएको छ। अहिलेको संसद् खुला छैन, बन्द छ।’ प्रधानमन्त्रीका कारण संसद् बन्द भएको उनको भनाइ छ।
स्वास्थ्य बिमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बिमा बोर्डले आगामी ०८३ पुस १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ।
बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
बोर्डद्वारा जारी प्रेस नोटअनुसार अब स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सम्पूर्ण परिवारले इ–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्रको प्रयोगबाट बिमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउने बोर्डको अपेक्षा छ।
शुक्लाफाँटा ८ मा सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण अनिवार्य
शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले सरकारी सेवा लिनका लागि आधारभूत तह उत्तीर्ण अनिवार्य गरेको छ। वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाका लागि सेवाग्राहीले कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको हो।
वडा कार्यालयले जारी गरेको सूचनामा ०६१ वैशाख १ देखि हालसम्म जन्मिएका, आधारभूत तह उत्तीर्ण नगरी विद्यालय छाडेका तथा अभिभावकलाई पुनः विद्यालय पठाउन पटक–पटक अनुरोध गर्दा पनि विद्यालय नगएका बालबालिकाको विषयमा थप कडा व्यवस्था अघि सारिएको उल्लेख छ।
ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ
बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई पक्राउ गरेको हो।
घटना गत ३ असोजको हो। पीडित युवती नेपाली मूलकी विदेशी नागरिक हुन्।
प्रहरी स्रोतका अनुसार ठमेलको एक रेस्टुरेन्टमा राति अबेरसम्म युवक–युवती बसेका थिए। दुवैजना करिब तीन बजे ठमेलको ज्याठास्थित एक होटेलमा गएको देखिन्छ। युवक बिहान ६ बजे निस्किएकामा युवती भने दिउँसो मात्र निस्किएकी थिइन्। सोही बिहान आफूमाथि बलात्कार भएको युवतीको जाहेरी छ।
एक सातामै अलैँचीको मूल्य ८ हजारले बढ्यो
जिल्लामा अलैँचीको मूल्य एक सातामै प्रतिमन (४० केजी) ८ हजार रुपैयाँले बढेको छ। गत हप्ता प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य आइतबार बढेर ८८ हजार पुगेको हो।
अलैँची व्यवसायी कमल बरालले आइतबार ताप्लेजुङमा प्रतिमन ८८ हजारमा कारोबार भएको बताए। मूल्य बढ्दै गएपछि किसानहरूमा अझै उत्साह थपिएको छ। मूल्यसँगै किसानलाई अलैँची घर भित्र्याउने चटारो बढी पनि बढेको छ। ताप्लेजुङ बेँसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म अलैँची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्।