आन्दोलनको तयारीमा जुट्न ओलीको निर्देशन

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण

एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि आन्दोलनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा उनले त्यस्तो निर्देशन दिएका हुन् ।

‘लोकतन्त्र र संविधान, राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षको दुईवटा मोर्चा सदन र सडकको मोर्चाहरू छन् । सडकको मोर्चा पार्टीहरूले तयारी गर्छन्, हामीले सदनको मोर्चाबाट संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि भूमिका खेल्ने गरी आन्दोलनको तयारी गर्नेबारे बैठकमा छलफल भएको छ, त्यसअनुसार जुट्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ बैठकपछि प्रमुख सचेतक ऐन महरले भने । 

बैठकमा ओलीले प्रशिक्षणमूलक निर्देशनात्मक मन्तव्य दिएका थिए । अहिलेको सरकार फासीवादी, स्वेच्छाचारी र तानासाही बाटोमा उद्यत भएको भन्दै ओलीले त्यसलाई रोक्ने अबको एक मात्र बाटो आन्दोलन भएकाले दसैँ–तिहारपछि आन्दोलनको तयारीमा जुट्नुपर्ने आवश्यकता औँल्याएका थिए । अहिलेको सरकार लोकतन्त्रको रक्षा र जनताको जनजीविकाको सवाललाई सुदृढ गर्ने सन्दर्भमा चुकेको मात्र नभएर जनताको आवाज मुखरित हुने थलो संसद्लाई पनि मिनिमाइज्ड गर्दै अगाडि बढेकाले पनि आन्दोलन आवश्यक रहेको ओलीको भनाइ थियो । 

‘एमालेजस्ता लोकतन्त्रका लागि लामो समय बलिदान दिएका लोकतान्त्रिक शक्तिहरू आज संघीय संसद्मा प्रतिपक्षमा सानो संख्यामा हुने, तर भर्खरै उदाएको दल संविधान निर्माणमा कुनै भूमिका नरहेकाहरू झन्डै दुईतिहाइ संख्यामा उपस्थित भएर सरकार बनाउने हैसियतमा हुँदा त्यो सरकारले लोकतन्त्र र संविधानको मर्म र भावना पक्रन नसकेको, लोकतन्त्रका स्थायी संस्थालाई निरन्तर प्रहार गरिरहेको, जनताको मौलिक हक कुण्ठित गरेको विषयमा बैठकमा पर्याप्त छलफल भयो,’ महरले भने, ‘संसद्को अधिवेशनले पनि सरकारलाई सदनप्रति, जनताप्रति उत्तरदायी बनाउन सकेन, सरकारको छाया पर्यो ।

विभिन्न हिसाबले संसद्लाई सरकारले कठपुतली बनाउन खोजेको विषयमा समीक्षा भयो ।’ संसद्मा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीको भनाइ थियो ।

सुझावित समाचार